महिनावारी/छाउ/रजस्वला/पर सर्ने नामले पुकारिने सङ्केत भनेको सृष्टि अर्थात् सृष्टिको फूल हो । यो फूल नफुलेसम्म सृष्टि सम्भव छैन । महिला सन्तान उत्पादन गर्न तयार हुनलाई यो फूल फुल्नै पर्छ ।प्रायः फूल भन्नाले दिमागमा रातो आकृति उत्पन्न हुन्छ । यो सृष्टिको फूलको रङ पनि रातै हुन्छ । निख्खर रातो । मायाको प्रतीक रातो गुलाबजस्तै । त्यो गुलाब चाहे ओइलियोस्, चाहे सुकोस् त्यो रातो नै रहन्छ । यो सृष्टिको फूल पनि त्यस्तै हो– मायाको प्रतीक, सृष्टिको प्रतीक, जननीको गौरव, चेलीको अस्मिता ।
बिरुवाको प्रजनन अङ्ग फूल हो । जब फूल फुल्छ अनि मात्रै फल लाग्ने पक्का हुन्छ । हुन त सबै फूलबाट फल ननिस्किन पनि सक्छ । अपवादमा कुनै कुनै फूल फुल्ने बिरुवा फल नलाग्ने नै हुन्छन् । त्यहाँ नितान्त आफ्नै कारण छन् । मानव जगत्मा पनि यो अपवाद लागू हुन्छ तर फूल फुल्नु भनेको नै फल लाग्नु निश्चित हो । आफ्नो मेहनतअनुसार फल मिठो, ठूलो, सानो, गुलियो या अमिलो जस्तो पनि हुन सक्छ । यो कुरा उसले पाउने मल, जल र स्याहार–सुसारले निश्चित गर्छ ।
मानव जगत्मा महिलालाई सृष्टिकर्ता मानिन्छ, जब महिलाबाट सन्तान जन्मिन्छ, त्यो नै सृष्टिको बिरुवाका रूपमा विकसित हुन्छ । सन्तान उत्पादन गर्न आमा चाहिन्छ । आमालाई सन्तान उत्पादन गर्न निश्चित समयको खाँचो हुन्छ । त्यो समय महिलाको खानपान, पालनपोषण, हेरचाह र स्वस्थ व्यवहारले ढिलो र चाँडो भन्ने कुराको निर्धारण गर्छ । यो कुरा बिरुवामा पनि लागू हुन्छ ।
हाम्रो समाजमा भने महिला छुई हुनुलाई अपवित्र मानिन्छ । छुई भएको बेलामा फल्ने बिरुवालाई छोए फल नलाग्ने, झर्ने, कीरा लाग्ने, कुहिने हुन्छ रे ! गाईबस्तुलाई छोए दूध नदिने, दूध सुक्ने, दुब्लाउने हुन्छ रे ! पुरुषलाई छोए दुब्लाउने र रोगी हुन्छ रे ! फेरि महिलालाई नै छोए केही नहुने रहेछ कि क्या हो ? केही भनेको सुनिँदैन तर पाका महिला पनि छुई भएका महिलालाई छुँदैनन् । भगवानरूपी मूर्ति छोए पाप लाग्छ, सराप लाग्छ रे ! मन्दिर जानु हँुदैन रे ! घरभित्र बस्नु हुन्न रे ! खानालाई छोए अपवित्र हुन्छ र खान मिल्दैन रे ! त्यो खाना खाए बिरामी हुन्छ रे !
यस्तो अपवित्रताको भुत हाम्रो दिमागमा अझै पनि सवार छँदै छ । यसकै कारण चेलीलाई महिनावारी हुँदा घरदेखि टाढाको असुरक्षित ठाउँमा सुत्न लगाउँछौँ । यही परम्परागत कुचलनलाई अङ्गीकार गर्दा÷गर्न लगाउँदा आफ्ना सन्तानलाई अकालमै मारेका पनि छौँ । कति चेलीमा अत्याचार भएको मुकदर्शक भएर सहँदै आएका छौँ । चेली बलात्कृत भएको पनि हामी सहँदै छौँ । जङ्गली जनावरको आहारा बनाएका छौँ । चिसोले कठ्याङ्ग्रिएर इहलीला प्राप्त गरेको पनि हामीले हेरेका छौँ । त्यै पनि हामी यस्ता घटनालाई लेखान्त वा भाग्यको खेल सम्झिन्छौँ । छाउलाई अपवित्र नै भन्छौँ र त्यही गर्न लगाउँछौँ । यो चलन नेपालको पूर्वी क्षेत्रमा भन्दा पश्चिमी क्षेत्रतिर अझै बढी कडा रूपमा रहेको पाउँछौँ ।
अहिले पनि सहरबजारतिरका घरमा छुई बार्ने चलन यथावत् नै छ । चार दिनसम्म भान्छा नजाने, खाना नबनाउने, पूजापाठ नगर्ने र मठ मन्दिर नजाने चलन छ । फरक यति हो कि त्यही घरको कुनै ठाउँमा सुत्न पाइन्छ । कुनै बोझपूर्ण काम गर्नु पर्दैन । यसले गर्दा सहरीया महिलालाई आरामको अनुभूति हुन्छ । सायद यसैलाई भनिने हो कि मर्यादित महिनावारी । पश्चिम नेपालका जिल्लामा छुई बार्ने तरिका अलि चर्कै खालको छ । मानिस, पशु, बोटबिरुवा, घरआँगन, मठमन्दिर, सागपातका बिरुवा, फलपूmलका बिरुवा कुनै कसैलाई पनि छुन पाइन्न तर यस्तो बेलामा घरबाहिरको कुट्ने, पिस्ने, घाँस, दाउराको काम भने मज्जाले गर्न मिल्छ । यहाँका महिला छुई भएको अवस्थामा समेत आराम गर्न पाउँदैनन् । झन् गह्रौँ र शरीरलाई भार पर्ने काम गर्नुपर्ने हुन्छ । यसले गर्दा महिलाको शरीर कमजोर हुँदै जान्छ । छुई भएको बेलामा गह्रौँ भारी बोक्यो र कडा काम ग¥यो भने महिलाको पाठेघरमा असर पर्छ र घर निस्किने सम्भावना पनि धेरै हुन्छ ।
यसमाथि हाम्रो समाजमा वंश चलाउन छोरा जन्माउनु पर्छ भन्ने मान्यता धेरै भएको हुनाले अलि धेरै नै बच्चा पाइदिनुपर्ने हुन्छ । छोरा नजन्मेसम्म अर्काे बच्चा पाइदिनु पर्छ या त अर्की स्वास्नी ल्याउनका लागि अनुमति दिनुपर्ने हुन्छ । एक त उमेरै नपुगी कलिलै उमेरमा हाम्रो समाजमा अभैm महिलाको बिहे हुने गरेको छ । त्यसमाथि जन्मान्तर नराखी लगालग धेरै बच्चा जन्माउँदा, गह्रौँ भारी उठाउँदा र बोक्दा पाठेघरमा समस्या देखिन सक्छ ।
यस्तै कुपोषित महिला, कब्जियत भएका महिला, बल प्रयोग गरेर साल निकालेका महिला, दमको रोगी भएका महिला, खोकी रहने महिलामा पनि पाठेघरको समस्या उत्पन्न हुन्छ । हाम्रो यहाँ त पाठेघर खस्नुलाई समस्याका रूपमा नलिई बच्चा जन्मेपछि हुने साधारण अवस्था मानिन्छ । जसले गर्दा समस्याको समाधान नभई झन् बल्झिने गरेको पाइन्छ । यसले महिलामा शारीरिक मात्रै नभई मानसिक र सामाजिक समस्या पनि बल्झाएको हुन्छ ।