नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेबाट प्रचण्ड सरकारमा उपप्रधान मन्त्रीसहित आठ जना मन्त्री थिए । गत पुस १० को सहमतिअनुसार सरकारमा सामेल भएका दलहरूले सरकार छाडेपछि प्रधानमन्त्री प्रचण्डले अब १६ मन्त्रालयको जिम्मेवारी लिनुपर्ने भएको छ । हालै राष्ट्रपति उम्मेदवारमा नेपाली कांग्रेसलाई सहयोग गर्ने आठ दलबीच सहमति बनेको थियो । गत पुस १० मा प्रचण्ड प्रधानमन्त्री नियुक्त हुँदा राष्ट्रपति एमालेलाई दिने समझदारी बनेको थियो । तर प्रचण्ड उक्त सहमतिबाट पछि हटेको भन्दै एमालेले सरकार छाडेको छ । राष्ट्रपति चुनावका लागि बनेको गठबन्धनमा रहेका दललाई समेटेर अब प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने अवस्था बनेको छ ।
गत पुस २६ गते प्रचण्डलाई विश्वासको मत दिएकामध्ये एमाले र राप्रपाले सरकार छाडेका छन् । अब एक महिनाभित्र प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । उनले विश्वासको मत लिएर वा नलिइकन नै सरकारमा कांग्रेसलगायत दललाई समावेश गर्नेछन् । प्रधानमन्त्रीको सचिवालयले संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले छिट्टै विश्वासको मत लिने जनाएको छ ।
यसरी मुलुकमा राजनीतिक अस्थिरताका कारण के हुन् त ? सरकारले जनअपेक्षा सम्बोधन र अधिकारको संरक्षण गर्न नसक्नु, गरिबी र बेरोजगारी बढ्नु, प्रतिस्पर्धी राजनीतिक दलबीच द्वन्द्व बन्दै जानु, मतदाताको अनादर तथा करदाताको योगदानको अवमूल्यन गर्नुलाई राजनीतिक अस्थिरताको कारण मान्न सकिन्छ ।
राष्ट्र प्रमुख र सरकार प्रमुख कर्तव्य अधिकारको व्यवस्थापनमा कमजोर हुनु, सरकारमा रहेकाले नै प्रचलित कानुन विपरीत काम गर्नु, संवैधानिक द्वन्द्वको अवस्थाका कारण लोकतान्त्रिक मूल्य र मान्यतामा ह्रास आउँदै जानु, अत्यधिक सत्तालिप्सा र सार्वजनिक जिम्मेवारीमा रहेकाहरू गलत आचरणमा अभ्यस्त हुनु राजनीतिक अस्थिरताका कारण प्रमुख कारण मानिन्छन् ।
बहुदलीय राजनीतिक प्रणालीमा रहेका दलहरूको सङ्ख्या, राजनीतिज्ञले विकास गरेका राजनीतिक संस्कारका आधारमा पनि सरकारको कामकारबाही र राजनीतिक स्थिरता निर्भर रहन्छ । राजनीतिक दल थोरै सङ्ख्यामा रहेका देशमा तुलनात्मक रूपमा स्थिरता देखिन्छ । स्थिरतासँग राजनीतिक प्रणालीको साइनो रहेको हुन्छ । हाम्रै छिमेकी मुलुक भारत पनि राजनीतिक अस्थिरता भएको मुलुकमा पर्छ । कोभिड–१९ को नियन्त्रणमा सरकार गम्भीर हुन नसकेको भन्दै उत्तरी भारतका आठ राज्यमा सरकारविरुद्ध कडा प्रदर्शन भयो ।
नेपाल धेरै लामो समयदेखि राजनीतिकलगायत सबै प्रकारका अस्थिरताबाट प्रभावित देश हो । विगतमा नेकपाको सरकारले दुई तिहाइ नजिकको बहुमत प्राप्त गरी बनाएको सरकारबाट राजनीतिक स्थिरता कायम भई देश समृद्धिको दिशामा बढ्ने अपेक्षा नागरिकहरूले गरेका थिए । तर सत्तारूढ दलभित्रको द्वन्द्वका कारण देशमा धेरै लामो समयपश्चात् देखिएको बलियो सरकार कमजोर र निष्प्रभावी साबित भयो ।
मुलुकको समुदाय, जातजाति, वर्ग, क्षेत्र, संस्कृति, धर्म आदिका आधारमा देखिएको पृथक्तालाई निराकरण गर्दै आपसी सौहार्दता कायम गर्नसक्ने गरी नेतृत्व प्रस्तुत हुँदा देशको समृद्धि र राजनीतिक स्थिरता दुवै सम्भव भएका उदाहरण विभिन्न देशमा पाइएका छन् ।
सभ्य सुशिक्षित र सुसंस्कृत समाजले अशिक्षित देशका नागरिकको तुलनामा राष्ट्रिय उत्थानमा योगदान गर्दै राजनीतिक स्थिरता कायम गर्न सफल भएका छन् । राजनीतिक पद्धति र सरकारप्रति नागरिकले विश्वास गर्न नसक्दा व्यक्तिवादी सोचको विकास हुन्छ । यसैले सामूहिक भावना विकास गरी राष्ट्र निर्माणका लागि राजनीतिक स्थिरता पूर्वसर्त हो ।
आगामी दिनमा सरकार, निजी क्षेत्र, नागरिक समाज र सार्वभौम जनता लोकतन्त्रलाई संस्थागत गर्ने बाटो देखाउनु अपरिहार्य भएको देखिन्छ । यहाँ लोकप्रियवाद र लोकतान्त्रिक पद्धतिमा सङ्कटमापन गर्न लोकप्रिय हुन खोज्नेले धर्म, संस्कार, संस्कृति र बसाइँसराइमा उठाएका आन्दोलनलाई गम्भीरतापूर्वक लिइनुपर्छ ।
नेपाली जनताको चाहना र देशको आवश्यकता हो राजनीतिक स्थिरता । यसले नै आर्थिक उन्नयन, दिगो विकास र अमनचैनको ढोका खोल्छ । तर त्यो चाहना अधुरै रहँदै आएको छ । मुलुकलाई राजनीतिक अस्थिरताले छोडेको छैन । फलतः विकास, समृद्धि र परिवर्तनको दिशामा मुलुक अगाडि बढ्न सकेको छैन । प्रजातन्त्र हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछिका दुई आमचुनावमा आइपुग्दा त्यसको अनुभूति आमजनमा हुन सकेको छैन । बहुदलीय राजनीतिक प्रणालीमा रहेका दलहरूको सङ्ख्या, राजनीतिज्ञले विकास गरेका राजनीतिक संस्कारका आधारमा पनि सरकारको कामकारबाही र राजनीतिक स्थिरता निर्भर रहन्छ । राजनीतिक दल थोरै सङ्ख्यामा रहेका देशमा तुलनात्मक रूपमा स्थिरता देखिन्छ ।
आधुनिक विश्वमा अत्यधिक प्रतिस्पर्धा, सबल राज्य संयन्त्र, सक्षम कूटनीति, प्रभावकारी नीति निर्माण, सुदृढ अर्थतन्त्र बनाउनु सबै देशका लागि चुनौती हुन् । राजनीतिक अस्थिरताले यी सबै पक्षमा अस्तव्यस्तता सिर्जना गर्छ । आर्थिक र राजनीतिक अस्तव्यस्तता भएको देशसँग साझेदारी गर्न अन्य देश अनिच्छुक हुन्छन् । फ्रान्स र इटालीमा देखिएको राजनीतिक सङ्कट पनि अस्थिरताका उपज हो । राजनीतिक अस्थिरता सबै प्रकारका अस्तव्यस्तताको जननी हो । त्यसैले यसको निराकरण गर्दै समृद्ध नेपाल निर्माणको दिशामा अगाडि बढ्न सबै राजनीतिक शक्ति राष्ट्रिय स्वार्थमा एक हुन जरुरी छ ।
नेपालमा किन विकास हुन सकेन भन्ने सार्वजनिक बहसमा सबैभन्दा बाक्लो गरी आउने प्रश्न हो । यसको उत्तर पनि लगभग एउटै आउने गर्छ । त्यो हो राजनीतिक अस्थिरता अर्थात् बारम्बार सरकार परिवर्तन नै नेपालको अविकासको जड मानिँदै आएको छ । सरकारको स्थायित्वले विकासलाई तीव्रता दिन सक्छ । सरकार बारम्बार परिवर्तन भयो भने विकास नै नहुने वा राजनीतिक अस्थिरता नै विकासको पछौटेपनाको एक मात्र कारक हो त ? यसको गहन अध्ययन विश्लेषण गर्नुपर्ने आवश्यकता देखिन्छ ।
राजनीतिक अस्थिरतालाई देखाएर कतै हामी हाम्रो जिम्मेवारीबाट च्यूत त हुँदै छैनौँ ? राजनीतिक अस्थिरताका बीच विकासलाई के–कसरी निरन्तरता दिन सकिन्छ भन्ने बहसको विषय नहुनु आफैँमा विडम्बना हो । एउटै दलको सरकार बन्ने सम्भावनाको न्यूनताबीच भारतमा जस्तो गठबन्धनको स्थिरता हाम्रो लागि अनुकरणीय हुन सक्छ । दूरदर्शी नेता र नीतिको विकास राजनीतिक दलले गर्न सक्नुपर्छ । यसका लागि दलको आन्तरिक लोकतन्त्र सबल हुनु जरुरी छ । जब जनसङ्ख्या अत्यधिक बढ्छ । यसले स्रोतको अभाव निम्त्याउँछ, राजनीतिक अस्थिरता निम्त्याउँछ युद्ध र अनिकाल उत्पन्न हुन्छ ।
नेपालको राजनीतिक अस्थिरताका पछाडि केही कारण छन् । पहिलो त अस्थिर आन्तरिक राजनीतिक संरचना हो । नेपाली नेताहरूले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न नसकेर विभिन्न प्रणालीको प्रयोग गरिरहेका छन् । ३० वर्षअघि नेपाल शान्तिप्रिय राष्ट्र थियो र नेपालमा सबैले आफूलाई नेपाली भनेर चिनाउने गरेका थिए । जनता देशभक्त हुनु जरुरी छ । यस्तो लाग्छ, सबैले राष्ट्रियताभन्दा पनि आफ्नो जातीय पहिचान गर्न खोजिरहेका छन् । कोही क्षेत्री र कोही लिम्बू, कोही बाहुन र कोही यो वा त्यो र सबै फरक छन् तर मानिसहरू पहिले नेपाली हो भन्ने कुराको वास्ता गर्दैनन् । हाम्रो सहस्राब्दी वर्ष पुरानो हिन्दु–बौद्ध सम्पदा जोगाउन र नेपाली भेषभूषा संस्कृति, रहनसहन र भाषालाई जोगाउन मिलेर काम गर्नुको सट्टा विदेशी भाषा, विदेशी धर्म, विदेशी संस्कृति, विदेशी जीवनशैली, विदेशी चलचित्र हेर्न, गाउनमा जनता खुसी छन् । यहाँ पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ, न्यातापोला आदि स्मारकहरू छन्, जुन हाम्रा पुर्खाले एक हजार वर्ष पहिले बनाएका थिए । तिनीहरूले यो गर्न किन सक्षम भए किनभने उनीहरू देशभक्त थिए, उनीहरू एकजुट भए । सबैभन्दा महìवपूर्ण कुरा उनीहरूले आफूलाई नेपाली ठान्थे । अहिले अवस्था भिन्नजस्तो देखिएको छ ।
ठेकेदार र साना व्यवसाय मालिकहरू सिधा पार्टीको आर्थिक स्रोतसँग जोडिएका छन् । राजनीतिक दलले शक्तिको दुरुपयोग गर्छ र शक्ति र आर्थिक स्रोतहरू टिकाउनसमेत समर्थन गर्छ । राजनीतिक स्थिरताबाटै राष्ट्रको पहिचान बन्नुका साथै समाजको एकीकरण र राष्ट्रिय एकता सम्भव हुन्छ । यस्तो समाजले विकास र प्रशासकीय आधारशिलाको निर्माण गर्दै राज्यको समग्र विकास गर्छ । राजनीतिक स्थिरताबाट राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रको उच्च स्तरको प्रगति सम्भव हुन्छ ।
लेखक अर्थ राजनीति विषयमा कलम चलाउनुुहुन्छ ।