• १३ असोज २०८१, आइतबार

स्वास्थ्य शिविरबाट साढे अठार सय सेवाग्राही लाभान्वित

blog

निःशुल्क स्वास्थ्य शिविरमा सहभागी चिकित्सकलगायत स्थानीय ।

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन १७ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमार्फत साढे अठार सय बढी सेवाग्राही लाभान्वित भएका छ । सिरिजङ्घा गाउँपालिकाको प्रशासकीय केन्द्र तेल्लोकमा आयोजित दुई दिने स्वास्थ्य शिविरमार्फत उक्त सङ्ख्यामा सेवाग्राही लाभान्वित भएका हुन्।

नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा सिरिजङ्घा गाउँपालिकाको आयोजनामा सोमबार र मङ्गलबार दुई दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । शिविरबाट कुल एकहजार ८६१ जनाले सेवा प्राप्त गरेको सिरिजङ्घा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सञ्जीव सिंहले जानकारी दिनुभयो । 

स्वास्थ्य शाखा प्रमुख सिंहका अनुसार स्वास्थ्य शिविरमार्फत सेवा प्राप्त गरेका कुल सङ्ख्यामध्ये एकहजार ५१ जना महिला र ८१० जना पुरुष रहेका छन् । शिविरमा सबैभन्दा बढी आँखासम्बन्धी समस्या भएका ४२७ जना सेवाग्राहीले सेवा लिएका सिंहले जानकारी दिनुभयो । यस्तै इन्टरल मेडिसिनतर्फ २६८, हाड जोर्नी तथा नशा रोगसम्बन्धी २३५, नाक, कान तथा घाँटीसम्बन्धी समस्या भएका ११३ जना बिरामीले सेवा लिएका छन्। 

यसैगरी शिविरबाट यौन तथा छालारोग, दन्तरोग, बालरोग, स्त्रीलगायतका रोगसम्बन्धी समस्या भएका बिरामी तथा सेवाग्राहीलाई उपचार साथै स्वास्थ्य परीक्षण सेवा प्रवाह गरिएको थियो । त्यस्तै ल्याब सेवा, भिडियो एक्स–रे सेवा, ईसीजी सेवा साथै चस्मा लगाउनुपर्ने आँखाका बिरामीलाई निःशुल्क चस्मासमेत वितरण गरिएको गाउँपालिकाले जनाएको छ । 

दुई दिने शिविरमा इन्टरनल मेडिसिनका डा. विकास सुर्खेती, स्त्रीरोग विशेषज्ञ डा. सिर्जा बमाल, बालरोग विशेषज्ञ डा. बओजर अमत, नाक, कान, घाँटी (टीएनटी) विशेषज्ञ डा. राजेश राय लगायत संलग्न रहनुभएको सिरिजङ्घा गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । 

शिविरबाट सिरिजङ्घा गाउँपालिकाका दुर्गम वडा वडा ६ मामाङ्खे, वडा ७ याम्फुदिनलगायत क्षेत्रका सर्वसाधारणले लाभ लिएका गाउँपालिका उपाध्यक्ष डा. चित्रकुमार माबो लिम्बूले बताउनुभयो। यता ताप्लेजुङजस्तो हिमाली जिल्लाको एक दुर्गम ठाउँमा आएर स्वास्थ्य शिविर आयोजना गर्ने अवसर प्रदान गरेकोमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलप्रति गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले आभार व्यक्त गर्नुभयो । शिविर प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा सञ्चालन गरिएको थियो।