जीवछ यादव
लहान, चैत २४ गते । लहान नगरपालिका वडा नम्बर १० का दलित विपन्न वस्तीमा सञ्चालन गरिएको दुई दिने वृहत्त स्वास्थ्य शिविरबाट स्थानीय दलित समुदाय लाभान्वित भएका छन्।
चैत २२ र २३ गते सम्पन्न स्वास्थ्य शिविरमा ३२५ जना विपन्न दलित समुदायले स्वास्थ्य सेवा लिएका छन् भन्दै इम्व्रास नेपाल फाउन्डेशनका चिकित्सक अमर राउतले जानकारी दिनुभयो। उहाँका अनुसार, अमेरिकामा कार्यरत राउत र अमेरिकी वरिष्ठ नर्स शिरी जिरेनको सहकार्यमा तीन वर्ष अघि फाउन्डेशन गठन गरिएको हो। यस फाउन्डेशनले नेपालका विभिन्न दुर्गम वस्तीमा प्रत्येक वर्ष स्वास्थ्य शिविर आयोजना गर्दै उपचार र औषधी वितरण गर्दै आएको छ।
यस वर्ष सिरहा, लहान, सिन्धुली, नुवाकोट लगायत सात स्थानमा यस्ता शिविर सञ्चालन हुने योजना रहेको छ। एउटा शिविरमा औषधी र अन्य व्यवस्थापनमा करिब सात लाख रुपियाँ खर्च भइरहेको छ।
लहान नगरपालिका वडा नम्बर १०, श्री जनता माध्यमिक विद्यालय, बैरिया गुदीगाउँमा आयोजित शिविरमा मधुमेह, रक्तचाप, कान र दाँतका रोग भएका महिला, पुरुष र बालबालिकाको उपचार गरिएको थियो। जाँचका क्रममा अधिकांश विरामी मधुमेह, रक्तचाप र दाँतका समस्याबाट प्रभावित रहेको चिकित्सक सुनिल सिंहले बताउनुभयो।
विपन्न सुकुम्वासी दलित समुदायको स्वास्थ्य सेवा प्रदान गर्ने योगदानको कदर गर्दै विद्यालयले फाउन्डेशनका चिकित्सकहरुलाई सम्मान गरेको विद्यालयका प्रधानाध्यापक देवनलाल ठाकुरले जानकारी दिनुभयो। उहाँले थप्नुभयो, “विद्यालयका विद्यार्थी र शिक्षकहरूको समेत उपचार गराइदिनुमा हामीलाई ठूलो राहत प्राप्त भयो।”
स्थानीय मुसहरु पासवालले भन्नुभयो, “निःशुल्क जाँच र औषधि पाउँदा हामी निकै खुसी भएका छौं। अमेरिकाका संस्थाले हाम्रो स्वास्थ्यमा चासो राख्नु राम्रो छ, तर यदि लहान नगरपालिका र स्वास्थ्य चौकीले पनि यस्ता निःशुल्क शिविर सञ्चालन गर्थे भने अझै राहत हुन्थ्यो।”