• १२ साउन २०८१, शनिबार

राष्ट्रपति निर्वाचन

जिते राष्ट्रपति, हारे सांसद कायमै

blog

राष्ट्रपतिका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ । फाइल तस्बिर

काठमाडौं, फागुन १६ गते। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको मंगलबार उम्मेदवारी फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। 

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले मंगलबार उम्मेदवारी फिर्ता लिने कार्यतालिका रहेको बताउनुभयो। शर्माले भन्नुभयो, “आज उम्मेदवारी फिर्ता लिने हो। फिर्ता लिए पनि नलिए पनि अन्तिम नामावली प्रकाशन गर्छौँ।” सो कार्यका लागि निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो ४ देखि ५ बजेसम्मको समय तय गरेको छ। 

राष्ट्रपति पदमा पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व सभामुख  एवम्  नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ। उम्मेदवारी उपर कुनै पनि उजुरी, दाबी, विरोध नपरेको  निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

कांग्रेस नेता पौडेल गत मङ्सिर ४ गते सम्पन्न भएको प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा तनहुँ–१ बाट निर्वाचित हुनुभएको थियो । पौडेलले २५ हजार ३७१ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत ल्याउनुभयो। 

यसैगरी, एमाले नेता नेम्वाङ इलाम–२ बाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा ३० हजार २० मतसहित विजयी हुनुभएको थियो। नेम्वाङका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत ल्याउनुभयो। 

राष्ट्रपति पदमा उम्मेदवार बन्नुभएका पौडेल र नेम्वाङमध्ये निर्वाचित एकजनाको क्षेत्रमा उपनिर्वाचन हुन्छ। राष्ट्रपति पदमा पराजित उम्मेदवारको सांसद पद भने यतावत् रहने छ। 

संविधानको भाग– छ मा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अन्तर्गत धारा ६२ मा राष्ट्रपति निर्वाचनको व्यवस्था छ । धारा ६२ को उपधारा ६ मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति यस धारा बमोजिम राष्ट्रपति निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था छ। 

निर्वाचन आयोगका सूचना अधिकारी एवम् सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भन्नुभयो, “अब नियुक्ति मनोनयनबाट  कुनै पदमा हुनुहुन्छ र उहाँ राष्ट्रपति हुनुभयो भने पहिलो पद स्वतः रिक्त हुन्छ। पराजित हुनुभयो भने उहाँको पद चाहिँ यथावत् नै रहन्छ।” राष्ट्रपतिका उम्मेदवार पौडेल र नेम्वाङ दुवै जना प्रतिनिधि सभा सदस्य रहेकाले निर्वाचित एक जनाको पद रिक्त हुनेछ भने एक जनाको पद यथावत् रहने छ । 

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन, २०७४ अनुसार ऐनको दफा २३ को उपदफा १ मा नाम फिर्ता लिने तोकिएको समय समाप्त भएपछि निर्वाचन अधिकृतले बाँकी रहेका उम्मेदवारको नामावली तयार गरेर एक प्रति तुरुन्त आफ्नो कार्यालयमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ। त्यसको एकप्रति निर्वाचन आयोगमा पठाउनुपर्ने छ। 

दफा २३ को उपदफा २ मा उपदफा १ बमोजिमको नामावलीमा उम्मेदवारको नाम नेपाली वर्णानुक्रम अनुसार क्रमशः लेखिनेछ । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।