• ९ मंसिर २०८१, आइतबार

आदर्श राष्ट्रपतिको अपेक्षा

blog

राष्ट्रपतिको निर्वाचन सम्मुखमा छ । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्तासमेत सकिएको छ । नेपाली काँग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)ले पार्टी नेता सुवासचन्द्र नेम्वाङको उम्मेदवार मनोनयन दर्ता गराएको छ । कुन दलबाट राष्ट्रपति हुने भन्ने कुरासमेतले राजनीतिक शक्तिबीच राम्रै रस्साकस्सी सिर्जना गरेको थियो । साना र ठूला सबै पार्टीभित्र आन्तरिक अनि अन्तरपार्टी छलफल लगातार चलेका थिए । यो केवल राष्ट्रपतिको मात्र निर्वाचन होइन, यसले बाँकी सत्ता समीकरण, सहजीकरण अनि आगामी राजनीतिक कोर्षलाई समेत नयाँ ढाँचा दिन्छ । 

तसर्थ नयाँ राष्ट्रपति को बन्ने भन्ने कुरा राष्ट्रभरि र बाहिरका सबैलाई चासोको विषय बन्नु स्वाभाविक हो । दलहरूबीच यी विषयका विविध आयाममा सघन विषयगत र यदाकदा विषयान्तर छलफलसमेत चलेकै थिए । अधिकांश दलका थुप्रै नेता गण यस पदका लागि आकाङ्क्षी रहँदा केही दल र त्यसका केही पदाधिकारीबाट भने दलीय राजनीतिभन्दा बाहिरको वृत्तबाट स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने भन्ने वकालत पनि हुँदै थियो । पत्रपत्रिका र समाचारमा दुई÷चार यस्ता नामहरूसमेत चर्चामा आए । न्यायाधीश समाजका अध्यक्षले समेत सार्वजनिक वक्तव्य दिनुपर्ने अवस्था आयो । राष्ट्रपति निर्वाचनकेन्द्रित बहसका अनेकन तरङ्ग र प्रवाहमध्ये राष्ट्रपति दलीय वा स्वतन्त्र बन्ने बहससमेत प्रधान बन्यो तर दलीय व्यक्ति नै राष्ट्रपति बन्नु विविध आधारमा स्वाभाविक देखिन्छ ।

स्वाभाविक आधार

हाम्रो संविधानअनुसार नै राष्ट्रपति राष्ट्रको प्रमुख र सर्वोच्च पद हो । संविधानको धारा ७५ मा देशको कार्यकारी अधिकार प्रधानमन्त्रीले नेतृत्व गरेको मन्त्रिपरिषद्मा रहने उल्लेख छ । तसर्थ राष्ट्रपति आलङ्कारिक र संवैधानिक मात्र रहेको मान्यता राखिन्छ । यद्यपि संविधानको धारा ६१ अनुसार राष्ट्रपतिलाई समेत केही अधिकार दिइएको छ । संविधानको रक्षा गर्नु मुख्य कर्तव्य मानिएको छ । यसरी हेर्दा स्वतन्त्र व्यक्ति हुनु÷नहुनुभन्दा पनि स्वतन्त्र भई बिनाकुनै दबाब र प्रभाव संविधानमा आधारित रहेर कार्यसम्पादन गर्नु अनि गर्न सक्ने सङ्कल्प राख्नुचाहिँ राष्ट्रपतिको वाञ्छनीय गुण मान्नुपर्छ । 

बहुदलीय प्रजातन्त्र अवलम्बन भएको देशमा दलमा आस्था नराख्ने मानिस पाउन असम्भव हुन्छ । मतदानलाई महादान पनि भनिन्छ । प्रजातन्त्रको सफलता र नागरिकमा राजनीतिप्रतिको आकर्षणको मापन गर्ने अनेकन सूचकाङ्कमध्ये मतदानमा सहभागिता पनि एक प्रमुख हो । मतदान गर्ने सबैमा सघन राजनीतिक चेत, आस्था र पक्षधरता स्वभावैले रहन्छ । राजनीतिक अभ्यासलाई नजिकबाट जानेको, प्रशस्त अनुभव गरेको, बुझेको मानिस नै राष्ट्रपतिका लागि शोभनीय हुन्छ । राष्ट्रपति राजनीतिक पदसोपान भएका कारणले पनि राजनीतिक व्यक्ति नै त्यहाँ विराजमान बन्नु ठीक हुन्छ । राष्ट्रपति हुन योग्य र निर्वाचित हुन सफल व्यक्तित्वको राजनीतिक योगदान, त्याग र निष्ठाको सम्मान पनि हुन्छ । अधिक स्वीकार्य र सर्वमान्य व्यक्तित्व खोज्ने अधिकतम प्रयासका आधारमा राजनीतिक भूमिका भएकै मानिस राष्ट्रपति बन्नु राम्रो हुन्छ । 

गैरदलीय व्यक्तिको बहस र अभ्यास दुवै संविधान र प्रजातन्त्रको समेत बर्खिलाप हुन्छ । छिमेकी देशहरू भारत, पाकिस्तान, बङ्गलादेशलगायतमा राष्ट्रपति राजनीतिको शीर्ष नेतृत्वबाट नचुनिए पनि राजनीतिक दलकै सक्रिय सदस्यबाट निर्वाचित भएका छन् । छिमेकी देशका एक विश्लेषकले त केही व्यक्तिको नाम नै तोकेर राष्ट्रपतिका लागि सिफारिस गरेका अनौपचारिक समाचार पनि आएका थिए । यद्यपि त्यो उनको व्यक्तिगत विचार हुन सक्छ तर सर्वमान्य, सर्वप्रिय राष्ट्रपति खोजाैँ भन्नुचाहिँ सबैका लागि हितकर नै हुन्छ । यद्यपि राष्ट्रपति सही वा खराब बन्न सक्छन् भन्ने बहस गर्नुचाहिँ बहसको धर्मलाई दुरुपयोग गर्नु हो । राष्ट्रपतिप्रति लक्षित यस्ता टीकाटिप्पणी गर्नुभन्दा वास्तवमा यो पर्दाभित्रको दोषचाहिँ कसको हो भनेर खोज्नु हितकर हुन्छ । 

दोष कसको ?

दलहरूले राम्रो राष्ट्रपति खोज्नुभन्दा आपूmलाई सुधार्नुचाहिँ आजको आवश्यकता हो । राष्ट्रपति एउटा व्यक्ति अथवा दल होइन संस्था हो, एकताको प्रतीक हो । यसको गरिमा र कद उच्च छ र सदैव रहनुपर्छ । विगतमा पनि यो वा त्यो बहानाबाजीमा कहिलेकाहीँ राष्ट्रपति संस्थालाई विवादमा तान्न खोजियो । जति ठाउँमा राष्ट्रपतिबाट कमीकमजोरी भयो अथवा शक्तिको असंवैधानिक प्रयोग भयो भनियो, ती सबै त यो वा त्यो दलको सिफारिस अथवा आग्रहमा नै भएको हो । राष्ट्रपति स्वयंले इच्छाएर केही हुँदैन । अदालतमा न्यायमूर्तिलाई आफ्नो मनमा लागेअनुसार पैmसला गर्ने अधिकार हँुदैन, स्वविवेक हुनसक्छ तर प्रयोग गर्न सकिँदैन । सम्मानित राष्ट्रपतिको संस्थासमेत समान औपचारिकतामा बाँधिएको हुन्छ ।

आलङ्कारिक राष्ट्रपति भनेको नै केही हानि वा नोक्सानी गर्न नसक्ने भन्ने अर्थ लाग्छ । जुन कुरा संविधानमा नै प्रस्ट छ, त्यसमा दलहरूले चिन्ता जाहेर गर्नु पर्दैन । बरु आपूmलाई कसरी सुधार्ने र राष्ट्रपतिलाई विवादमा ल्याउन सक्ने कामकारबाहीबाट आपूmहरू कसरी परिमार्जित हुने भन्ने चिन्तनचाहिँ आजको आवश्यकता हो । खेलमा खेलाडीले संयम, अनुशासित र नियमसङ्गत मात्र खेलेमा रेफ्रीले विवादित निर्णय लिनै पर्दैन । राष्ट्रपतिको संस्था त केवल रेफ्री मात्र हो । खेलमा नियमको सर्वमान्य अनि स्थापित मान्यताभन्दा आपूmखुसी व्याख्या गर्न थालियो भने रेफ्रीले एउटा निर्णय लिनैपर्छ । अनि विवाद त्यहीँबाट सुरु हुन्छ । 

यदि राजनीतिक दल तथा सरकारले अनावश्यक विवाद निर्माण गर्ने प्रकारका विषयवस्तु सिफारिस नगर्ने हो भने यो संस्था विवादमा तानिँदैन । कुनै पनि विषयमा सिफारिस गर्दा अथवा महìवपूर्ण निर्णय लिँदा अधिकतम राष्ट्रिय सहमतिका साथ मात्र गर्ने भए कसैले राष्ट्रपतिमाथि कटाक्ष गर्नै पर्दैन । कुनै त्यस्तै अप्ठ्यारो र संविधानमा स्पष्ट व्याख्या नभएको परिस्थिति आइलागेमा सम्मानित सर्वोच्च अदालतको राय सुझाव लिएर मात्र कुनै कदम लिने वा नलिने भन्नेमा सामान्य सहमति गरेमा राष्ट्रपतिमाथि असहजता निर्माण गर्नै पर्दैन । 

यदाकदा सामाजिक सञ्जाल, छापा वा अखबारमा आउने राष्ट्रपतिमाथिका आशा र अनुरोध व्यर्थ वन्दना मात्र हुन् । राष्ट्रपति कस्तो हुनुपर्छ भन्ने होइन, दलहरू र सरकारले राष्ट्रपतिलाई कसरी प्रस्तुत गराउने भन्नेचाहिँ मुख्य पक्ष हो । जसरी कक्षाका विद्यार्थी कस्ता हुन्छन् भन्ने कुरा त्यहाँका शिक्षकमा भर पर्ने हो, त्यस्तै राष्ट्रपतिको विषयमा त्यो भूमिका स्वयं दलहरूमा रहन्छ । सहकार्य र स्वीकार्यतामा राष्ट्रपतिको भूमिका खोज्न छाडेर आफ्नो सहजताका लागि राष्ट्रपतिको भूमिका खोजी गर्दाचाहिँ यस्ता बहसहरू जन्मन्छन् । यस्ता विवादित कुरालाई लेखक फिलिप कर्नीले आफ्नो पुस्तक ‘हेटेआर्की इन वल्र्ड पोलिटिक्स’मा सभ्य र संस्कारी राजनीतिको प्रधान बाधक मान्छन् ।

राजनीतिक असहजताको अवस्थामा समेत आपूmप्रति सद्भाव राखिदिने राष्ट्रपति खोज्ने प्रचलन नै समस्याको सुरुवात हो । अनि आपूm इतर समूहबाट राष्ट्रपति भएमा राजनीतिक असहजता बढ्छ भन्ने सम्झनु समस्याको उत्कर्ष हो । केही देशमा निर्वाचित राष्ट्रपतिहरूसमेत तानासाह शासकमा परिणत भएका इतिहास भने छन् । नेपोलियन बोनापार्ट, एडोल्फ हिटलर, सद्दाम हुसेनजस्ता पात्रहरूले राष्ट्रपति पदको गरिमालाई प्रश्नवाचक चिह्नमा नलगेका भने होइनन् तर त्यो सम्भावना कार्यकारी राष्ट्रपतिको सवालमा मात्र सम्भव देखिन्छ । तसर्थ राष्ट्रपतिबाट खतराको महसुस गर्नुपर्ने कुनै आधार हामीकहाँ छैन ।

आफ्नो घरको झ्याल फोहोर छ भने त्यसबाट हेर्दा अरूको घरको पर्खाल पनि फोहोर नै देखिन्छ । राष्ट्रपतिको खोजीमा दलहरूबाट मन्चन भएको भ्रम यति मात्र हो । अरूको पर्खाल पखाल्नभन्दा आफ्नो झ्याल पुछ्दा मात्र पर्खाल सफा देखिन्छ । सामान्यतया सृष्टि कहिल्यै खराब हँुदैन, खराब त केवल दृष्टिमा हुन्छ । तसर्थ दलहरूले राष्ट्रपतिमा होइन, सुधारको खोजी आफ्नो अभ्यास र आचरणमा गर्नुपर्छ । डेभिड रन्सिम्यानको पुस्तक ‘होयर पावर स्पस्टस्’को अवधारणालाई मनन गर्नुपर्छ । 

यदाकदा विदेशी विश्लेषक र राजदूतहरूले दलहरू अनि त्यसका पदाधिकारीसँग दौडाहा गरेको समाचार आउनु यद्यपि राम्रो थिएन । दलहरूले जब आफ्नो निर्णय क्षमताभन्दा अरूको अनावश्यक सल्लाह मनन गर्ने सोच निर्माण गर्छन्, तब अरूको हस्तक्षेप बढ्छ । यसले राष्ट्रपतिको निर्वाचन र छनोटमा दलहरूले निरीहता देखाउन सक्छन् । आशा गराैँ यस पटक दलहरूले सुधारिएको अभ्यास गर्नेछन् । राष्ट्रपतिलाई झन् सम्मानित, स्वीकार्य र शोभनीय बनाउनेछन् । त्यसको परावर्तन स्वयं राजनीतिक दलहरूमार्पmत नै हुनेछ ।

लेखक काठमाडौँ विश्वविद्यालयमा अध्यापक हुनुहुन्छ ।