• ९ मंसिर २०८१, आइतबार

सापेक्ष र निरपेक्षको बहस

blog

नेपाली समाजमा सापेक्षता र निरपेक्षताका विषयमा चर्को विवाद छ । सापेक्ष वा निरपेक्ष भन्दै जसरी मुद्दा उठाउने गरिएको छ, यो विषय आफैँमा गहन र विवादास्पद छ । सबैले बुझ्नुपर्ने भनेको राजनीतिक नाराका लागि निरपेक्षताको घोषणा गरिए पनि यसको ताìिवक अर्थ र मर्म फरक छ । निरपेक्ष भनिए पनि कुनै पनि कुरा सापेक्षताको अभ्यास र विशेषताबाट गौण हुँदैन । मानव समाजको आफ्नै नीति र रीति हुन्छ । त्यही नीतिको पालना गर्दै बनेको रीतिबाट थिति बसेको हुन्छ, जसले सबैलाई आआफ्नो धर्म र कर्ममा बाँधेर प्राकृतिक नियमअनुसार गर्नुपर्ने काम गर्न निरन्तर प्रेरित गरिरहेको हुन्छ । यिनै पक्षले मानिसदेखि सबै प्राणधारीलाई अनुशासनमा बाँधेको हुन्छ । आफ्नो जन्मसिद्ध सापेक्षताको अर्थ बोध गराइरहेको हुन्छ, सबैले आफ्नो धर्म निर्वाह गर्दै कर्म गरिरहेका हुन्छन् । 

कुनै पनि कुरालाई निरपेक्ष घोषणा गरिए पनि त्यहाँ सापेक्षताको सिद्धान्तले नै उसलाई निरपेक्ष रहेको छु भन्ने आभास दिलाएको हुन्छ । बाहिरबाट हेर्दा निरपेक्ष देखिए पनि प्राकृतिक र सृष्टि संरचनाको सिद्धान्ततः मानिस मात्र होइन, वनस्पति, ग्रह, नक्षत्र सबै सापेक्षवादको सिद्धान्तमा सक्रिय रहेकाले मानव समाज गतिशील हुन सजिलो भएको छ । यसलाई वैदिक शास्त्रहरूले मात्र होइन, भौतिक विज्ञानले पनि स्वीकारेको छ । पूर्वीय शास्त्रले निरपेक्षतालाई स्वीकार गरेको छैन । वर्तमान विश्वमा सापेक्षता र निरपेक्षतालाई केवल मानिसले पालन गर्ने धर्मसँग मात्र जोडेर राजनीतिक मुद्दा बनाइएको छ । यो व्यक्तिको जीवन र प्रकृतिसँग जोडिएको विषय हो । धर्म भनेको व्यक्तिको आफ्नो नीति, रीतिले कायम गरेको थितिलाई अगाडि बढाउने अभ्यास मात्र हो । वैदिक दर्शनको यही सिद्धान्त र मान्यतालाई आत्मसात् गर्दै भौतिक विज्ञानका महान् वैज्ञानिक आइन्सटाइनले ‘सापेक्षवाद सिद्धान्त’को प्रतिपादन गरे ।

हाम्रा पुराणहरूमा प्रकाशको गति मनको गतिपछिको सबैभन्दा तीव्र हुन्छ भनेर स्थापित गरिएको छ । यही स्वीकारोक्तिलाई आइन्सटाइनले सापेक्षताको सिद्धान्तका रूपमा विश्वभर स्थापित गरे । आइन्सटाइनले प्रकाशको गति बाहिरी आँखाले ठम्याउन नसक्ने भएकाले “सबैले एउटै गतिमा उज्यालो दिएको देख्छन्” भने । यसको अर्थ प्रकाश स्थिर छ भन्ने हुँदै होइन, मानिस प्रकाशको गति नदेखेर यो स्थिर छ भन्ने भ्रममा रहेका मात्रै हुन् । समाजका हरेक पक्ष गतिशील र परिवर्तनशील हुन्छन् तर समाज स्थिर रहेको देख्नेहरू पनि छन् । हरेक जीव, निर्जीव सबैको सापेक्षता छ । अर्को अर्थमा भन्नुपर्दा सबैको धर्म हुन्छ– प्रकृतिले दिएका गुण प्रकृतिमा रहेका सबैको हितमा प्रयोग गर्नु । अर्थात् पानीको धर्म, आगोको धर्म, हावाको धर्म, ढुङ्गा–माटोको धर्म । भौतिक, अभौतिक वस्तु वा पदार्थ सबैको जिम्मेवारी तोकिएको छ र त्यो नै सापेक्षता हो । 

जे देखिन्छ त्यो मात्र सापेक्षता हैन, त्यसभित्र रहेका गुण र विशेषताका साथ भरिएका अनेक रहस्यले त्यो वस्तु वा पदार्थको सापेक्षता पुष्टि हुन्छ । कुनै पनि कुरा निरपेक्ष रहन सक्दैन भन्ने भौतिक विज्ञान र अध्यात्म अर्थात् वैदिक संस्कृतिको निष्कर्ष हो । आगो, पानी, हावा, अन्न, माटो, सूर्य, चन्द्रमा सबै सापेक्ष हुन्छन् र उनीहरू कसै गरी पनि निरपेक्ष हुन सक्दैनन् भन्ने निष्कर्षलाई भौतिक विज्ञानले एक किसिमले परिभाषित गरेको छ भने वैदिक शास्त्रहरूले त्यसलाई अझै गहिरोसँग प्रस्ट्याएको छ । परापूर्वकालदेखि नै नेपाललगायत वैदिक सनातनी धर्म–संस्कृति भएको मुलुकमा सापेक्षतावादले जरा गाडेको हो । सापेक्षतावादलाई नैतिक परमतत्त्वसँग तुलना गर्दै धर्मच्युत हुनबाट रोक्ने प्रयास गरिएको छ । नैतिकता विश्वव्यापी सिद्धान्त अर्थात् प्रकृति र सृष्टि व्यवस्थामा महìवपूर्ण छ । यसको पालना नै धर्म हो भनिएको छ, धर्मसापेक्ष नै हुन्छ । धर्मले कहिल्यै विभेद गर्दैन, यसका लागि पनि नैतिकता नै मूल रूपमा खडा भएर आउँछ । 

हरेक व्यक्तिको सबभन्दा ठूलो शक्ति र धन भनेको नैतिकता हो । नैतिकता कुनै परमतत्ववादी मापदण्डमा आधारित छैन । यसको अपेक्षा नैतिकताको यथार्थता, परिस्थिति, संस्कृति र व्यक्ति स्वयंले भोगेका अनुभवमा आधारित हुन्छ । किनभने हरेक व्यक्तिको फरक फरक अनुभूति, भोगाइ र संस्कृति हुन्छ । सबैको एउटै उद्देश्य हुन्छ र त्यसको सापेक्षता मानवता नै हो । मानिस मुखले सापेक्ष वा निरपेक्ष जे पनि हुँ भन्न सक्छ तर ऊ कुनै पनि कुरामा निरपेक्ष रहनै सक्दैन, सृष्टिले, प्रकृतिले र धर्मले उसलाई त्यस्तो बन्नै दिँदैन । शरीरमा बल–धन रहँदासम्म निरपेक्ष छु भने पनि कालान्तरमा ऊ सापेक्षतामा आउनैपर्छ, आएकै छन् ।

जीवनभर भगवान् वा ईश्वर छैन भन्नेहरू मृत्युको नजिक पुग्दा आआफूले मान्ने धर्मअनुसार कोही ‘हे राम’, कोही ‘हे अल्लाह’ वा ‘माई गड’ भन्न बाध्य हुन्छन् । यही हो व्यक्तिको सापेक्षता र आइन्सटाइनको सापेक्षताको सिद्धान्तअघि नै पूर्वीय शास्त्रले वर्णन गरेको सापेक्षताको प्रभाव । ईश्वर छैन, धर्म छैन भन्ने हो भने मृत्युको निकट पुग्दा किन भगवान्को नाम लिने । यसको अर्थ व्यक्ति सापेक्ष नै छ भन्ने हो । मानिस मात्र किन कुनै पनि वस्तु वा पदार्थ निरपेक्ष रहन सक्दैन । सबैको आआफ्नो धर्म र जिम्मेवारी हुन्छ । धर्मको अर्थ जिम्मेवारी निर्वाह गर्नु, प्राणी, वनस्पति सबैको रक्षा गर्नु हो र यसैका लागि प्राण भएका, निष्प्राण सबैको धर्म किटिएको छ । अहिले मानिसबाहेक अरू सबैले आआफ्नो धर्म निर्वाह गरिरहेका छन् । उनीहरू आफ्नो सापेक्षतामा कर्म गरिरहेका छन्, जुन भौतिक दुनियाँलाई नै सबथोक ठान्नेहरूको आँखाले देख्न सक्दैन । सापेक्ष भनेको समेटिनु हो भने निरपेक्ष भनेको अलग हुनु हो । 

यो अर्थमा हेर्दा के मानिस मानिसबाट अलग हुनसक्छ ? मानिसले गर्नुपर्ने कर्मबाट अलग हुनसक्छ ? सक्दैन । मानिस मात्र हैन, कुनै पनि वस्तु वा पदार्थ निरपेक्ष हुँदैन र आआफ्नो गुणअनुसारको प्रभाव विस्तार गरिरहनु नै उसको सापेक्षता हो, धर्म हो । धर्म भनेको धारण र पोषण गर्ने क्षमता हो । सूर्यले ताप दिनु उसको धर्म हो, हामी सूर्यको त्यो प्राकृतिक धर्म निरपेक्ष होस् भन्ने कल्पना पनि गर्न सक्दैनौँ । सूर्यले सापेक्षता अस्वीकार गरे के होला ? सूर्यलाई हामी भगवान् मान्छौँ किनभने सूर्य सम्पूर्ण ऊर्जाको स्रोत हो । प्राणी मात्रलाई तपाउनु, न्यानो दिनु पृथ्वीबाट या समुद्रबाट जल शोषण गर्नु र हजारौँ गुणा बढाएर वर्षा गराउनु सूर्यको धर्म हो । 

पानीमा प्राणी मात्रलाई जीवन धारण गराउने गुण रहन्छ । पानी निरपेक्ष भयो भने के हुन्छ ? के हामी तिर्खाएर पानी पिउँदा तिर्खा मेट्ने नमेट्ने कुरासँग मतलब राख्दैनौँ भन्छौँ भने त्यो विचार कसरी युक्तिसङ्गत हुनसक्छ ? पानीको त्यो धर्मबारे हामी निरपेक्ष रहन सक्दैनौँ । त्यस्तै अन्नले पोषण दिन छोड्यो भने के होला ? अग्निको स्वाभाविक धर्म हो तताउनु । हामी त्यसको उपेक्षा गर्न सक्दैनौँ । अग्निको धर्मको सहयोगले भोजन बन्छ, ताप दिन्छ, ऊर्जा दिन्छ । त्यसैगरी वायुको धर्म हो– प्राणीको प्राण बनेर सबैको जीवन प्रदान गर्ने । यो धर्मबाट वायु अलग्गिँदैन । वायुको धर्मलाई हामीहरूले निरपेक्ष होस् भन्न सक्दैनौँ । आकाशको धर्म सबैलाई अवकाश या मौका दिने हुन्छ । हामी आकाशको यो धर्मको उपेक्षा गर्न सक्दैनौँ । अन्न, पानी, सूर्य, पृथ्वी, अग्नि, बाबु सबैबाट उनीहरूको अस्तित्वपूर्ण धर्मको अपेक्षा गर्छौं भने निरपेक्ष कहाँ रह्यो, कसरी भयो ?

अब प्रश्न आउँछ– अरूको सापेक्षतामा जीवन चलाउनुपर्ने हामी मानव स्वयं निरपेक्ष बस्न सक्छौँ ? पक्कै पनि सक्दैनौँ तर शास्त्रीय र वैज्ञानिक मान्यताको गलत व्याख्या गरेर सापेक्ष वा निरपेक्षलाई केवल राजनीतिक नाराका रूपमा मात्र अघि सारिँदा यसले द्वन्द्व मात्र सिर्जना गरेको छ । संसारमा सृष्टिका कुनै पनि कुरा उसको आफ्नो धर्मबाट निरपेक्ष छैन भने सबभन्दा चेतनशील मानिस कसरी निरपेक्ष हुनसक्छ र हरेकलाई सुसंस्कृति, अनुशासित नैतिकवान् बनाउने धर्म झन् निरपेक्ष हुने सवाल नै हुँदैन । 

हरेक व्यक्तिमा हुने क्षमता र त्यो क्षमताअनुसार उसले गर्ने पेसामा इमानदारीसँगै सामाजिक उत्तरदायित्व हुन्छ र त्यो उसको सापेक्षता हो । सृष्टि संरचनाका यावत् पक्षको आफ्नै धर्म र जिम्मेवारी छ । उनीहरू त्यसबाट निरपेक्ष नभई निरन्तर सक्रिय भइरहेजस्तै मानव पनि मानव हुनुको सापेक्षतामा अग्रसर हुनुपर्छ । जुनसुकै पेसा वा व्यवसाय निरपेक्ष हुन सक्दैन । व्यवसायको सापेक्षता मुनाफा वा सफल हुँदै जानु हो र व्यक्तिले त्यसैमा निरन्तर मेहनत गरिरहेको हुन्छ । कोही पनि व्यवसायी म धर्मनिरपेक्ष हुँ भनेर मेरो व्यवसाय असफल भए पनि फरक पर्दैन भनेर भन्दैन । व्यवसायीको धर्म व्यवसायमा नाफा कमाउनु हो, अरूलाई रोजगारी दिनु हो, मुलुकको अर्थतन्त्रमा टेवा दिनु हो भने त्यसबाट ऊ निरपेक्ष रहनै सक्दैन । जानेर वा नजानेर हरेक व्यक्तिले आफू मानव हुनुको सापेक्षता हरेक पक्षमा लागू गरिरहेको हुन्छ, त्यो उसको धर्म हो । अप्रत्यक्ष रूपमै उसले आफ्नो प्रगतिका साथ अरूको भलो गरिरहेको हुन्छ । यसलाई सापेक्षता भनिन्छ, यसैबाट सामाजिक नीति, रीति र थितिलाई अघि बढाइरहेको हुन्छ ।

लेखक सञ्चारकर्मी हुनुहुन्छ ।