कविराज घिमिरे
हिले, मङ्सिर ९ गते । पछिल्लो समय पहाडी क्षेत्रका अधिकांश घरेलु उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै उद्यमीहरुले उत्पादनलाई सहज बजारको व्यवस्था गरिदिन आग्रह गरेका छन् ।
दशौं उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले यहाँको सिधुवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उद्यमीले यस्तो गुनासो गरेका हुन् । बजार सहज भए उद्यमीलाई अनुदान आवश्यक नपर्ने सिधुवाका उद्यमी अम्बर घिमिरेको भनाइ छ ।
आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्दा, प्रविधि तथा बजारको पहुँचबाट टाढा हुँदा यस्तो समस्या आएको उनीहरुको गुनासो छ । ढाका कपडा उद्यमी रबिजा लिम्बूले केही वर्ष अघिसम्म ढाका कपडा राम्रोसँग बिक्री हुँदै आए पनि अहिले बिक्री हुन छाडेको गुनासो गर्नुभयो ।
लागत महँगो पर्ने भएकाले सस्तोमा बिक्री गर्न नसकिएकाले पेसाबाटै विस्थापित हुनुपर्ने अवस्था आएको उहाँको गुनासो छ । त्यस्तै, दुग्ध उद्यमी पनि पेसाबाट पलायन हुनुपर्ने अवस्था आएको उद्यमाी काशीराज निरौलाको गुनासो छ । दुग्धजन्य उत्पादनको मूल्यका कारण उत्पादन गोदाममै थन्किएको उहाँको भनाइ छ ।
त्यस्तै, कृषिजन्य उद्यमीको समेत अवस्था उस्तै रहेको गुनासो उमद्यीको छ । दिगो बजारको व्यवस्थापन नभएसम्म उद्यमी जहिल्यै समस्यामा पर्ने भन्दै दिगो बजारको व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । एक वर्ष तरकारीको मूल्य राम्रो पाउने तर अर्को वर्ष मूल्य नपाउँदा बारीमै तरकारी बाली कुहाउने अवस्था रहेको सिधुवाका कृषक मेघराज खड्काको गुनासो छ ।
कार्यक्रममा जिल्लास्थित विभिन्न कार्यलयका प्रतिनिधि जिल्ला समन्वय प्रमुख तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिसँगै विभिन्न क्षेत्रका उद्यमीको सहभागिता थियो ।