बितेको वर्ष सन् २०२२ मा महासागरीय तापमान मानव इतिहासमै सबैभन्दा उच्च बिन्दुमा पुगेको ‘एडभान्सेस इन एटमोस्फेरिक साइन्सेस’ नामक जर्नलमा प्रकाशित एक अनुसन्धान प्रतिवेदनले देखाएको छ । उक्त प्रतिवेदनका अनुसार हरितगृह ग्यासका कारण सिर्जित अतिरिक्त तापमध्ये महासागर तथा समुद्रहरूले ९० प्रतिशत ताप शोषण गर्ने हुनाले त्यसरी अवशोषित तापका कारण महासागरीय तापक्रम निरन्तर बढिरहेको छ । समुद्रमा बढेको तातोपनले विशाल तथा दीर्घकालीन प्रकृतिका सामुद्रिक तापजन्य ज्वारभाटा सिर्जना हुने गरेको त्यसबाट सामुद्रिक पर्यावरणमा विनाशकारी असर निम्तिरहेको निष्कर्ष शोधकर्ताहरूको छ ।
त्यसैगरी विश्व मौसम सङ्गठनका अनुसार सन् १८८० देखि विश्वको तापक्रमको वैज्ञानिक रेकर्ड राख्न सुरु गरेयता गत वर्ष सन् २०२२ इतिहासकै छैटौँ तातो वर्ष बनेको छ । बीसौँ शताब्दीको औसत तापक्रमभन्दा सन् २०२२ को औसत तापक्रम ०.८६ डिग्री सेल्सियस बढी रह्यो । बीसौँ शताब्दीको औसत तापक्रमभन्दा पछिल्लो ४६ वर्षको औसत वार्षिक तापमान निरन्तर उच्च छ भने इतिहासका सबैभन्दा तातो १० वटा वर्षमध्ये नौवटा त पछिल्ला नौ वर्ष नै रहेका छन् । तथ्याङ्कअनुसार पछिल्लो १४३ वर्षमा उत्तरी गोलार्धको तापक्रम १.१ डिग्री र दक्षिणी गोलार्धको तापक्रम ०.६१ डिग्री सेल्सियसले बढेको छ । त्यस्तै औद्योगिक क्रान्तिपूर्वको समयको तुलनामा हालको विश्वको औसत तापमान १.२ डिग्री सेल्सियसले बढेको छ ।
अमेरिकाको स्नो एन्ड आइस डाटा सेन्टरको रिपोर्टअनुसार गत फेब्रुअरी १३ तारिखमा एकै दिनमा अन्टार्कटिकाको १९ लाख १० हजार वर्गकिलोमिटर क्षेत्रफलको बरफ पग्लियो । यसअघि सन् २०२१ को फेब्रुअरी २५ मा एकै दिनमा १९ लाख २० हजार वर्गकिलोमिटर बरफ पग्लिएको थियो । अन्टार्कटिकाको हिमगलन लगातार दोस्रो वर्ष पनि उच्च रहेको र यो गर्मीयाममा अन्टार्कटिकामा इतिहासकै धेरै परिमाणमा हिमगलन हुने अनुमान गरिएको छ । विश्व उष्णीकरणका कारण ध्रुवीय क्षेत्रको हिउँको मात्रा इतिहासकै सबैभन्दा कम बिन्दुको नजिक पुगेको र उत्तरी ध्रुवीय हिउँ हरेक दस वर्षमा १३ प्रतिशतका दरले घटिरहेको तथ्याङ्कले देखाउँछ ।
हालै विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारअनुसार नेपालमा विगत १७ वर्षयताका ११ वटा हिउँदमा हिउँदे झरी परेन । हिउँदमा फाट्टफुट्ट पानी मात्रै पर्ने र सुक्खा खडेरी हुने क्रम बढिरहेको छ । यो वर्ष उच्च हिमाली क्षेत्रमा हिमपातसमेत निकै कम भएकाले हिमाली क्षेत्रको कृषि उत्पादन, जनजीवन तथा पर्यावरणमा गम्भीर असर पर्ने देखिएको छ भने हिमपातको न्यूनताले नदीप्रवाह घट्दा तल्लो तटीय क्षेत्रका बासिन्दामा पनि त्यसको प्रभाव पर्नेछ । हिउँदे खडेरीका कारण समग्र हिउँदे बालीको उत्पादन घट्ने, पानीका मूल सुक्ने, पानीका स्रोत फोहोर भई पानीको गुणस्तर घट्ने, सिमसार सुक्खा बन्ने, डढेलोजन्य प्रकोपमा वृद्धि हुने र वर्षायामसँगै पहिरो तथा भूक्षयका भयानक घटना बढ्ने स्वतःसिद्ध छ । नेपालमा पछिल्ला वर्षमा देखिइरहेको हिउँदे अल्पवृष्टिका साथै निश्चित समय तथा स्थानमा हुने बेमौसमी वर्षा तथा विनाशकारी अतिवृष्टि, खण्डवृष्टि, मनसुनमा भइरहेको परिवर्तन र वर्षाचक्रको असन्तुलनजस्ता मौसमी प्रतिकूलताहरू आर्थिक तथा पर्यावरणीय क्षतिका कारक बनिरहेका छन् ।
माथि उल्लिखित अन्तर्राष्ट्रिय तथा मुलुकभित्रैको सन्दर्भहरू विश्व उष्णीकरण तथा जलवायु परिवर्तन सिर्जित परिघटना हुन् । समकालीन विश्वको सबैभन्दा ज्वलन्त विषयका रूपमा रहेको जलवायु परिवर्तन दुनियाँकै साझा चासो र चिन्ताको विषय बनेको छ । राष्ट्रसङ्घ महासचिव एन्टोनिया गुटेर्रेसका अनुसार जलवायु आपत्काल यस्तो दौड हो; जसमा विजेता हुन सक्ने सम्भावना हुँदाहुँदै पनि हामी पराजित हुँदै छौँ । वास्तवमा जलवायु परिवर्तनको विनाशकारी असरबाट विश्वको कुनै पनि कुना अछुतो छैन । बढ्दो उष्णीकरणले पर्यावरणीय क्षयीकरण, प्राकृतिक विपत्, मौसमी प्रतिकूलता तथा विषमता, खाद्य तथा जल असुरक्षा, आर्थिक अवरोध, द्वन्द्व तथा आतङ्कवादलाई बढावा दिइरहेको ठहर संयुक्त राष्ट्रसङ्घको छ । विश्वको उष्णीकरण इतिहासकै चरम बिन्दुमा रहँदा चढ्दै गएको तापमानको पारोका कारण मौसमी ढाँचा परिवर्तन हुनुका साथै प्रकृतिको सामान्य सन्तुलन बिग्रँदै गएको छ ।
वास्तवमा हरित गृह ग्यासहरू वायुमण्डलको तल्लो तहमा थुप्रिँदै गएपछि तापको विकिरण जमिनबाट परावर्तन भएर वायुमण्डलसम्म पुग्न नपाउने अवस्थाले पृथ्वी तथा पृथ्वीको तल्लो वायुको तापक्रम बढ्ने प्रक्रिया नै सामान्य अर्थमा हरित गृह प्रभाव हो । उद्योग, कलकारखाना तथा सवारी साधनलगायतका माध्यमबाट निस्कने कार्बनडाइअक्साइड, नाइट्रोजन अक्साइड, मिथेनजस्ता ग्यास हरित गृह ग्यासका रूपामा छन् । क्योटो प्रोटोकलले कार्बनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड, हाइड्रोफ्लोरोकार्बन, परफ्लोरोकार्बन र सल्फर हेक्साफ्लोराइडजस्ता छवटा ग्यासलाई मुख्य हरितगृह ग्यासका रूपमा परिभाषित गरेको छ ।
यिनै ग्यास वायुमण्डलमा थुप्रिएका कारण सिर्जित हरित गृह प्रभावले पृथ्वीको तापक्रम बढ्दै गएको छ । यसैलाई विश्व उष्णीकरण (ग्लोबल वार्मिङ) भनिन्छ । उष्णीकरणले जलवायुको विद्यमान ढाँचामा अस्वाभाविक परिवर्तन ल्याइदिएको छ, त्यसैलाई जलवायु परिवर्तन भनिन्छ । दीर्घकालमा हुने वर्षा, तापक्रम, वायु, आर्द्रता र वायुमण्डलीय चापमा हुने अनपेक्षित तथा प्रतिकूल परिवर्तन नै जलवायु परिवर्तन हो । मौसम भनेको निश्चित ठाउँमा छोटो अवधिसम्मको वायुमण्डलीय अवस्था हो भने मौसमको २५ देखि ३० वर्षसम्मको औसत अवस्था नै जलवायु हो ।
कोइला, पेट्रोलियम तथा ग्यासजस्ता जीवाश्म इन्धनको दहनले जलवायु परिवर्तनमा सर्वाधिक योगदान गरेको छ; जसले विश्वमा हुने कुल हरितगृह ग्यास उत्सर्जनको ७५ प्रतिशत तथा कार्बन उत्सर्जनको ९० प्रतिशत हिस्सा ओगटेको हुन्छ । ऊर्जा उत्पादन, औद्योगिक क्षेत्र तथा यातायात क्षेत्रमा खपत हुने जीवाश्म इन्धनबाट उत्सर्जन हुने हरितगृह ग्यास तथा प्रदूषकहरूले पृथ्वीको तातो बढाउन तथा दूषित पार्न प्रमुख भूमिका निर्वाह गरेका छन् । त्यस्तै वन विनाश तथा खाद्य उत्पादन प्रक्रिया पनि हरितगृह ग्यास उत्सर्जनका अहम् स्रोत हुन् ।
मानवीय क्रियाकलापका कारण बर्सेनि अर्बौं टन हतिरगृह ग्यास उत्सर्जन भई वायुमण्डलमा थपिइरहेको छ । अहिलेको हरितगृह ग्यासको उत्सर्जन दरलाई घटाउन नसकेमा सन् २१०० सम्ममा विश्वको तापक्रम ३ डिग्री सेल्सियससम्मले बढ्न सक्ने विश्व मौसम सङ्गठनको रिपोर्टले देखाउँछ । जलवायु परिवर्तन तथा उष्णीकरणका लागि विश्वमा प्राकृतिक विपत्को दर तथा सघनतामा वृद्धि भएको र ९० प्रतिशत प्राकृतिक विपत् मौसम तथा जलवायु सम्बद्ध रहेको देखिएको छ ।
जलवायुजन्य विपत्का कारण विश्वको अर्थतन्त्रमा वार्षिक पाँच खर्ब २० अर्ब डलर क्षति पुग्नुका साथै साढे दुई करोडभन्दा माथि गरिबीको रेखामुनि धकेलिने गरेको रिपोर्ट छ । जलवायु परिवर्तनले भूमि, पानी तथा खानाजस्ता स्रोतको प्राप्तिका लागि होडबाजी र सङ्घर्षमा वृद्धि गराउँदा आर्थिक सामाजिक तनाव र आमविस्थापनलाई समेत बढावा दिएको छ । जलवायु परिवर्तनका कारण बढेको खडेरीले अफ्रिका र दक्षिण अमेरिकामा प्रत्यक्ष रूपमा राजनीतिक अस्थिरता र हिंसालाई प्रोत्साहन गरेको अध्ययनले देखाएको छ ।
जलवायु परिवर्तनका नकारात्मक असरबाट नेपालसमेत अछुतो छैन । देशको तापक्रम बर्सेनि ०.०६ डिग्रीले बढिरहेको छ भने हिमाली क्षेत्रमा तापक्रम वृद्धिको दर अझै बढी देखिएको छ । नेपालले विश्वको कुल हरितगृह ग्यासको करिब ०.०२७ प्रतिशत मात्र हिस्सा ओगट्छ । नेपालको अहिलेको कार्बन उत्सर्जनलाई चार हजार गुणा बढाउँदा पनि विश्वको कुल उत्सर्जनको एक प्रतिशत पनि पुग्दैन । भूमिका यति न्यून भए पनि जलवायु परिवर्तनबाट उत्पन्न जोखिमका हिसाबले नेपाल विश्वकै अग्रणी जोखिमपूर्ण राष्ट्रका रूपमा रहेको छ । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा हिमगलन बढ्दा हिमनदी खुम्चिँदै जाने र हिमताल विस्फोटको खतरा बढ्दै गएको छ ।
मनसुनको समय, दर तथा प्रकृतिमै फरकपन आएको तथा तापक्रमको वृद्धिले गर्दा रोगको महामारीका साथै कृषि उत्पादनमा समेत नकारात्मक प्रभाव परेको छ । विभिन्न खाले प्राकृतिक प्रकोपमा समेत वृद्धि भएको अवस्था छ । वार्षिक वर्षा चक्रमा हेरफेर, खडेरी, अतिवृष्टि तथा अनावृष्टि र खण्डवृष्टि अनि मनसुनको समय र अवधिमा परिवर्तनको कारक तìव पनि जलवायु परिवर्तन नै हो । जलवायु परिवर्तनका कारण बढेको जलोत्पन्न प्रकोपले कृषि तथा खाद्यान्न, जलस्रोत, वनजङ्गल तथा जैविक विविधता, स्वास्थ्य, पर्यटन तथा पूर्वाधारमा प्रतिकूल प्रभाव पारेको छ ।
राष्ट्रसङ्घ महासचिवका अनुसार हाम्रो अति संवेदनशील पृथ्वीको पर्यावरण कमजोर धागोमा अडिइरहेको छ र हामीले जलवायु महाविपत्को ढोका ढक्ढकाइरहेका छौँ । जलवायु आपत्कालको यो समयमा निकट भविष्यको महासङ्कट टार्नका लागि विश्व समुदाय सन् २०५० सम्ममा शून्य उत्सर्जनको तहमा पुग्नै पर्दछ । तथापि विश्वका वैज्ञानिकहरू के कुरामा सहमत छन् भने अहिले हरितगृह ग्यासको उत्सर्जन शून्यमै झारे पनि अबका केही वर्षसम्म उष्णीकरणको क्रम रोकिने छैन । किनकि वायुमण्डलमा हरितगृह ग्यासको यति ठूलो मात्रा जम्मा भइसकेको छ कि त्यो नष्ट हुन र थिग्रिन दशकौँ लाग्नेवाला छ । त्यसैले जलवायु परिवर्तनलाई पूर्ण रूपमा रोक्न असम्भव भए पनि यसका असरलाई न्यूनीकरण गर्ने तथा जलवायु परिवर्तनका नकारात्मक असरसँग जुध्नका लागि तयारी गर्ने वा अनुकूलनका उपाय अपनाउनु नै अहिलेको विकल्प हो ।
एकातर्फ हरित गृह ग्यासको उत्सर्जनलाई नै घटाएर जलवायु परिवर्तनको दर तथा यसको असर कम गर्नुपर्नेछ । हरितगृह ग्यास उत्सर्जन कटौतीका लागि वायु, सौर्य, भूतापिय, जलविद्युत् तथा आणविक ऊर्जाजस्ता न्यून कार्बन ऊर्जा स्रोतको प्रयोग गर्न सकिन्छ । सहरमा हरित क्षेत्रको वृद्धि गर्ने, भवनलाई ऊर्जामैत्री बनाउने, विद्युतीय सवारीसाधनको प्रयोग गर्ने, फोहोरमैलाको समुचित व्यवस्थापन गर्ने कार्यले पनि हरितगृह ग्यास उत्सर्जन कटौतीमा सहयोग पु¥याउँछ । त्यस्तै प्राकृतिक रूपमा कार्बन शोषण गर्ने वनजङ्गलको संरक्षण र बढावाका साथै सामुद्रिक पर्यावरणको सुरक्षा पनि महìवपूर्ण हुन्छ ।
जसरी मानवीय प्रयोगका प्रविधिहरू नै जलवायु परिवर्तनका कारक हुन्, त्यसैगरी नयाँ तथा प्रभावकारी प्रविधिहरू नै हरितगृह ग्यासको उत्सर्जन घटाएर स्वच्छ विश्व सिर्जना गर्ने माध्यम हुन सक्छन् । हरित तथा स्वच्छ ऊर्जा प्रविधिको प्रयोग जलवायु परिवर्तन न्यूनीकरणका लागि सबैभन्दा प्रभावकारी उपाय हो । त्यस्तै जलवायु परिवर्तनको समस्या न्यूनीकरणका लागि प्रकृतिमा आधारित विधि पनि उपयोगी हुन्छन्; जसमा वातावरणमैत्री कृषि पद्धति, भूक्षयको नियन्त्रण, क्षयीकृत भूमिको पुनस्र्थापना तथा संरक्षणका साथै खाद्य शृङ्खला वा खाद्य व्यवहारलाई वातावरणमैत्री वा ग्रिनिङ गर्ने कुरा पर्दछन् ।
विश्वमा हरेक वर्ष एक अर्ब टन खानेकुरा खेर जाने र यसले विश्वको हरितगृह ग्यास उत्सर्जनको करिब १० प्रतिशत हिस्सा ओगट्ने गरेको सन्दर्भमा खानेकुरा फ्याँक्ने हाम्रो बानीमा पनि सुधार आउनु आवश्यक छ । अर्कोतर्फ जलवायु परिवर्तनका नकारात्मक असर देखिइसकेको र भविष्यमा पनि देखिने पक्कापक्की भएको अवस्थामा त्यस्ता असरबाट बँच्ने तथा मानवीय र वातावरणीय क्षति कम गर्नेतर्फ पूर्वतयारी तथा क्षमता विकास गर्नुपर्नेछ, जसलाई अनुकूलन भनिन्छ । यसले जलवायु परिवर्तनले सिर्जना गर्ने कतिपय सकारात्मक असर (जस्तै– कतिपय क्षेत्रमा बानीनालीको उब्जनी बढ्ने, चिसो ठाउँमा समेत वर्षमा धेरै महिनासम्म बाली उब्जाउन सकिने)बाट फाइदा उठाउने कुरालाई पनि बुझाउँछ ।
जलवायु परिवर्तनका असर धान्न सक्ने भौतिक पूर्वाधार निर्माण, जलवायुजन्य विपत्को जोखिम न्यूनीकरण तथा पूर्वचेतावनी प्रणालीको स्थापना, जलवायु अनुकूलित बाली तथा कृषि पद्धतिको विकास, पर्यावरण संरक्षण र पुनस्र्थापना तथा जलस्रोतको संरक्षणजस्ता अनुकूलनका कार्यलाई प्राथमिकता दिनुपर्दछ । जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका लागि विश्वव्यापी स्तरमा ठूलो लगानीको आवश्यक पर्ने भएकाले ठूला तथा धनी उत्सर्जक मुलुकले हरितगृह ग्यासको उत्सर्जनमा कटौती गरेर मात्र पुग्दैन । न्यूनीकरण तथा अनुकूलनका लागि आवश्यक पर्ने लगानीको आवश्यकता पूर्ति गर्न आफ्नो भूमिकाअनुसारको आर्थिक योगदान गर्नु अत्यावश्यक छ ।
लेखक पर्यावरण विज्ञानका शोधार्थी हुनुहुन्छ ।