• १५ असार २०८१, शनिबार

आर्मी र मच्छिन्द्र सेमिफाइनलमा

blog

बल खोस्ने प्रयास गर्दै आर्मी र एनआरटीका खेलाडी ।

काठमाडौं, फागुन १२ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र फुटबल क्लब राजधानीमा जारी केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा शुक्रबार भएको पहिलो खेलमा आर्मीले न्युरोड टिम (एनआरटी) लाई टाईब्रेकरमा ५–४ गोलले हरायो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको टाईब्रेकरबाट लिइएको हो । पेनाल्टी टाईब्रेकरमा आर्मीका जगजित श्रेष्ठ, टेकबहादुर बुढाथोकी, विकास खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले गोल गर्नुभयो ।

एनआरटीका स्टेफेन जुनियर एनगुमबोउसको पेनाल्टी प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले विफल पार्नुभएको थियो । एनआरटीका जिन एनिसेन्ट एमबौमी, लालनुन्जामा कोल्ने, निकोलस सेर्जी सङ र विक्रम धिमालले गोल गर्न सक्नुभयो ।

निर्धारित समयमा एनआरटीका लागि लालनुन्जामा कोल्नेले ३२औं मिनेटमा गोल गर्नुभएको थियो । तर, ५३ औं मिनेटमा एनआरटीका कप्तान विक्रम धिमालले आत्मघाती गोल गरेपछि आर्मी खेलमा फर्किएको थियो ।

अर्को खेलमा मछिन्द्रले चर्च ब्वाइज युनाईटेडलाई २–१ गोलले हरायो । मछिन्द्रलाई जित दिलाउन कप्तान सुजल श्रेष्ठ र रञ्जित धिमालले गोल गर्नुभयो । चर्च ब्वाईजले आर्मीबाट आत्मघाती गोल उपहार पाएको थियो । 

मच्छिन्द्रले १६ औं मिनेटमा सुजलको फ्रिकिक गोलमा अग्रता लिएको थियो । ४०औं मिनेटमा रञ्जितले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाउनुभयो । दोस्रो हाफमा काउन्टर रणनीति अपनाएको चर्च ब्वाईजले ६५औं मिनेटमा उपहार गोलबाट अन्तर घटाउने अवसर पायो ।

मछिन्द्रका छिरिङ गुरुङ किलियर गर्न खोजेको बल आफ्नै पोस्टमा गोल भएको थियो । शनिबार आयोजक ओली फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।