• १३ साउन २०८१, आइतबार

‘गजल धेरै संवेदनशील र गहन विधा हो’

blog

काठमाडौँ, फागुन ११ गते । विगत दुई दशकदेखि निरन्तर नेपाली गीत–सङ्गीतमा लागेर बेग्लै पहिचान बनाउन सफल गायक तथा सङ्गीतकार राजकुमार सुन्दासलाई साङ्गीतिक क्षेत्रमा गायक राज सागर भनेर चिनिन्छ । 

रञ्जना क्यासेट कम्पनीको लगानी र बजार व्यवस्थापन रहेको ‘यो मायाको रूपै हँसिलो’ भन्ने गीति एल्बममा स्वर तथा सङ्गीत दिएर आफ्नो व्यावसायिक साङ्गीतिक यात्रा सुरु गर्नुभएका उहाँले सयभन्दा बढी गजल गाइसक्नुभएको छ । गजल लेखनबाट गायनसम्म आउँदाका समस्या नियाल्दा सर्वप्रथम त गजलकारको लेखनमा भाव पक्ष अति कमजोर हुने गरेको उहाँको तर्क छ । त्यसपछि सङ्गीतकारलाई गजल सङ्गीतको बारेमा कुनै पनि ज्ञान नहुनु र अन्त्यमा गायनमा आउँदा गायक–गायिका प्रविधिमा निर्भर हुनु वा बुझ्ने गरी भन्दा स्वर अभ्यासमा चुक्नु नै उत्कृष्ट गजल बन्न नसक्नुको मुख्य कमजोरी भएको उहाँ बताउनुहुन्छ । गजल गायन दर्शकमाझ प्रत्यक्ष रूपमा प्रस्तुत गरिने विधा भएकाले त्यस्ता कार्यक्रम आयोजना हुन नसक्नु पनि अहिलेको गजल गायनको समस्या हो । 

विशेषतः गजल विधामा आफूलाई सशक्त रूपमा उभ्याउन सक्ने बलियो साङ्गीतिक क्षमता बोक्नुभएका उहाँ गायक र सङ्गीतकार दुवै हुनुहुन्छ । सानैबाट रेडियोमा नातिकाजी, नारायणगोपाल, गोपाल योञ्जन, तारादेवीलगायतका अग्रजको आवाज पछ्याउँदै अघि बढ्नुभएका राजले वरिष्ठ सङ्गीतकार दीपक जङ्गम र बेनी रावतसँग सङ्गीत प्रशिक्षण लिनुभएको हो । 

वि.सं. २०६३ मा रेडियो नेपालबाट स्वर परीक्षा पास गर्नुभएका उहाँले शास्त्रीय सङ्गीतका गुरु विष्णु आचार्यसँग ध्रुपद गायनको प्रशिक्षण लिनुभएको हो । जति बेला राज सागर साङ्गीतिक क्षेत्रमा प्रवेश गर्नुभयो, त्यो समय लोकदोहोरी र एल्बमको समय थियो । औपचारिक रूपमा साङ्गीतिक क्षेत्रमा लोकगीतबाट प्रवेश गर्नुभएका उहाँले २०६८ सालमा गायिका सत्यकला राईसँग सहकार्य गर्नुभयो । सत्यकलाको ‘ढढिया थापिदेऊ न साइँला’ गीत अत्यधिक सफल भयो । गीतका रचनाकार तथा सङ्गीतकार राज सागर हुनुहुन्थ्यो ।

आधुनिक, चलचित्र, पप, स्वदेश गानलगायतका सबै विधामा काम गर्नुभएका उहाँको सङ्गीत र स्वरमा गरी करिब एक सयको सङ्ख्यामा गीतहरू रेकर्ड भएका छन् । अञ्जु पन्त, स्वरूपराज आचार्य, मेलिना राईलगायतका गायक–गायिकासँग सहकार्य गर्नुभएका उहाँ युद्धग्रस्त देश युक्रेनका बालबालिकाको सहयोगार्थ, पत्रकार कुमार अच्छामी बचाऊँ अभियान, माइती नेपाल, शैक्षिक क्षेत्रलगायत सामाजिक कार्य र विभिन्न सङ्घसंस्थालाई आर्थिक सहयोगसमेत गर्दै आउनुभएको छ । 

उहाँले इमेज पब्लिक च्वाइस अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड, कालिका अवार्ड, सगरमाथा अवार्ड, छायाछवि म्युजिक अवार्डलगायत दर्जनौँ अवार्ड प्राप्त गरिसक्नुभएको छ । गीत–सङ्गीतको माध्यमबाट समाजमा समानता र सुसंस्कार स्थापना गर्ने जमर्को गरेका कारण हालै भारतीय दलित साहित्य एकेडेमीबाट डा. अम्बेडकर कलाश्री पुरस्कारबाट उहाँ सम्मानित हुनभएको थियो । सामाजिक सेवा र साहित्यसँग सम्बन्धित रही दलित एवं पिछडिएका वर्गको उत्थानका लागि उल्लेखनीय काम गरेबापत उहाँलाई यो अवार्ड प्रदान गरिएको थियो ।