• १८ भदौ २०८१, मङ्गलबार

शब्दचित्रमा बीमा संस्थान

blog

बीमाको क्षेत्रमा छुट्टै पहिचान बोकेको राष्ट्रिय बीमा संस्थान २०२४ साल पुस १ गते स्थापना भई सोही वर्षको फागुन ११ गते बीमा व्यवसाय सुरु गरी ५६औँ वर्षमा प्रवेश गरेको छ । देशभरि छरिएर रहेका ससानो रकमलाई बीमाको माध्यमबाट जोखिम बहन गरेर सङ्कलन गरी पुँजी निर्माणमा ठूलो योगदान पु-याउँदै आइरहेको छ ।

देशभरिमै जीवन बीमा गर्ने सरकारी स्वामित्वको एक मात्र राष्ट्रिय बीमा संस्थानमा नेपाल सरकारको २७.७८ प्रतिशत, नेपाल राष्ट्र बैङ्कको ५५.५५ प्रतिशत र नेपाल बैङ्कको १६.६७ प्रतिशत लगानी रहेको छ । बजारको माग, देशको आर्थिक अवस्था तथा जनताको आय स्तरलाई मध्यनजर गर्दै विभिन्न प्रकारका बीमा योजना बिक्री गर्दै आइरहेको बीमा संस्थान दाबी भुक्तानीका लागि अग्र पङ्क्तिमा रहेको छ । 

संस्थानका सबल पक्ष 

  •  सरकारी स्वामित्वमा रहेको एक मात्र जीवन बीमा संस्थान
  •  लोकसेवा आयोगद्वारा कर्मचारी भर्ना 
  •  बीमाको क्षेत्रमा गौरवमय इतिहास बोकेको 
  •  दक्ष कर्मचारी भएको 
  •  नेपालको अर्थतन्त्रमा सहयोग पु-याउँदै आएको 
  •  नेपाल सरकारअन्तर्गत पर्ने निजामती, शिक्षक, आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायतका राष्ट्रसेवक कर्मचारीको बीमा भएको  
  •  सहज रूपमा दाबी भुक्तानी गर्दै आइरहेको 
  •  नाफामूलकभन्दा सेवामूलक तर्फ केन्द्रित 
  •  न्यून बीमाशुल्क र उच्च बोनस दर 
  •  नेपालभरि सातवटै प्रदेशमा शाखा कार्यालय सञ्चालनमा रहेको । 

बीमाको क्षेत्रमा राष्ट्रिय बीमा संस्थानको भूमिका 

नेपालमा बीमाको सुरुवात गर्ने पहिलो संस्थान रहेको यस संस्थाअन्तर्गत देशको अर्थतन्त्र र जनतालाई मध्यनजर गर्दै बीमाका विभिन्न योजना बिक्री गर्दै आइरहेका छन् । प्रतिस्पर्धीको बजार र राजनीतिक अस्थिरताका कारण धेरै चुनौती सामना गर्दै बीमा संस्थानले नेपालको बीमा बजारमा एउटा अलग पहिचान बनाउन सफल भएको छ । 

व्यवस्थापकीय रूपमा दक्ष जनशक्ति रहेको संस्थानले सबै प्रक्रिया पूरा गरी विधिवत सञ्चालनमा रहेको छ । बीमा कम्पनी प्रायःजसो सहरकेन्द्रित भएकाले ग्रामीण भेगमा बीमा विस्तार बढाउन पर्ने स्थिति रहेको छ । राष्ट्रिय बीमा संस्थानले यसतर्फ ध्यान केन्द्रित गर्दै शाखा विस्तारमा अग्रसर रहेको छ । नेपालमा बीमाको पहुँच बिस्तारै बढ्दै गइरहेको छ ।

विगतका कमीकमजोरीको समीक्षा गर्दै आगामी दिनमा धेरै विषयमा सुधार गर्नुपर्ने चुनौती भए पनि राष्ट्रिय बीमा संस्थानका लागि अहिले पनि धेरै अवसर रहेका छन् । 

१. नेपालमा बीमाको पहुँच लगभग ३५ प्रतिशत जनतासमक्ष मात्र रहेकाले बाँकी व्यक्तिलाई लक्षित गरी बीमाका योजना बिक्री गर्न सकिने 

२. नेपाल सरकारको आर्थिक बजेटमा बीमाको दायरा बढाउनुपर्ने प्रावधान रहेको 

३. नयाँ–नयाँ प्रविधिको विकासले गर्दा कार्य सञ्चालन गर्न सहज हुने 

४. बजारको मागअनुसार विभिन्न प्रकारका बीमा योजना बिक्री गर्न सक्ने 

५. विभिन्न समूहका ग्राहकलाई लक्षित गरी बीमाका योजना बिक्री गर्न सकिने 

मानिसको जीवनमा आइपर्ने अनिश्चिततालाई कसैले टार्न सक्दैन त्यही भएर जीवन बीमा गरी भविष्यमा आइपर्ने जोखिमबाट बच्न यसले सुरक्षा कवचको रूपमा काम गर्छ । राष्ट्रिय बीमा संस्थान एक विश्वसनीय जीवन बीमा गर्ने संस्था भएकोले संस्थानले एउटा छुट्टै पहिचान बनाएको छ । 

बीमाप्रति मानिसको विश्वसनीयता घट्दै गए पनि संस्थानले आफ्नो विश्वसनीयता कायम राख्न सफल भएको छ । अस्वस्थ्य प्रतिस्पर्धीको बजारमा संस्थानले आफ्नो गुणस्तरमा कुनै कमीकमजोरी हुन दिएको छैन । सहज रूपमा दाबी भुक्तानी गर्दै आइरहेको संस्थानले जहिले पनि बीमितको हक हित र गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ । 

बीमा संस्थानको आर्थिक अवस्था 

आर्थिक रूपमा बीमा संस्थान निकै नै बलियो  छ । ४५ अर्बभन्दा बढीको जीवन बीमाकोष रहेको बीमा संस्थानमा सामूहिक र व्यक्तिगत गरेर लगभग छ लाखभन्दा बढी बीमित रहेका छन् । दाबी भुक्तानीमा करिब तीन लाख ७० हजार बीमितालाई भुक्तानी दिइसकेको छ । 

दीर्घकालीन र अल्पकालीन लगानी तथा कर्जामा संस्थानले ४३ अर्ब लगानी गरेको छ । आवश्यक प्रक्रिया र मापदण्ड पूरा गरेको खण्डमा निवेदन पेस गरेकै दिनमा संस्थानबाट दाबी भुक्तानी लिन सकिन्छ । यसैगरी बीमालेख धितोमा २.५५ अर्ब कर्जा संस्थानले प्रदान गरेको छ । अहिले बैङ्कमा भएको तरलता अभावले गर्दा बीमितहरूको पहिलो रोजाइमा बीमालेख धितो कर्जा रहेका छन् । संस्थानले बीमितलाई कर्जा सुविधा एक दिनमै पर्वाह गर्दै आएको छ । 

राष्ट्रिय बीमा संस्थानले बीमितबाट प्राप्त रकम विभिन्न माध्यमबाट लगानी गर्दै आइरहेको छ । मुख्य रूपमा बैङ्क तथा वित्तीय संस्थाको मुद्दती खातामा, जल विद्युत् आयोजनालगायत अन्य क्षेत्रमा लगानी गरेको छ । साथै राष्ट्रिय बीमा संस्थानको लगानी नागरिक लगानी कोषमा पनि रहेको छ । यसैगरी बीमा संस्थान आफ्नो लगानी सुरक्षित ठाउँमा गरेको हुनाले बित्तीय सङ्कटबाट पूर्ण रूपमा सुरक्षित रहेको छ ।

बीमाको क्षेत्रमा चुनौती र यसको प्रभाव 

बीमा बजारमा नियमनकारी निकायको नयाँ नयाँ निर्देशनबमोजिम यसले एउटा चुनौती थपेको छ । नेपाल बीमा प्राधिकरणले हालै जारी गरेको नयाँ नियमअनुसार अभिकर्ताको इजाजतपत्र प्राप्त गर्नका लागि अनिवार्य रूपमा जीवन बीमासम्बन्धी परीक्षा उत्तीर्ण गर्नुपर्छ । हुन त, बीमा क्षेत्रलाई अझ प्रभावकारी बनाउन प्राधिकरणबाट जारी नयाँ निर्देशन पक्कै पनि सराहनीय हो । साथै बीमा जागरण, बीमा सचेतना र बीमाकोक्षेत्रलाई अझ प्रभावकारी बनाउन नेपाल बीमा प्राधिकरणले अहम् भूमिका खेल्नु पर्ने देखिन्छ ।

अन्त्यमा, 

बीमा गराउँदा मुख्य रूपमा तिर्नुपर्ने बीमाशुल्क र पाउने बोनस दरमा विचार गर्नुपर्ने हुन्छ । न्यून बीमाशुल्क र बोनस दर बढी भएको कम्पनीमा मात्रै बीमा गराउँदा बीमितलाई फाइदा हुन्छ । साथै बीमा गर्ने कम्पनीको आर्थिक अवस्था र संस्थागत सुशासन पनि हेर्नुपर्छ । यी सबै विशेषता हेर्दा राष्ट्रिय बीमा संस्थान अग्र पङ्क्तिमा रहेको छ । त्यही भएर बीमा गर्ने व्यक्तिको पहिलो रोजाइ राष्ट्रिय बीमा संस्थान नै रहेको छ । नेपाल सरकारको स्वामित्व प्राप्त बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय बीमा संस्थानको मूल भावसहित बीमा गर्ने एक मात्र विश्वसनीय ठाउँ बीमा संस्थान नै रहेको पुष्टि हुन्छ ।

लेखक बीमा संस्थानका सहायक व्यवस्थापक हुनुहुन्छ ।