• २३ पुस २०८१, मङ्गलबार

आलुको उत्पादन बढाउन कृषकलाई बीउ

blog

कृषकलाई वितरण गरिएको जनकदेव आलु ।

रमेश विश्वकर्मा

गुल्मी, मंसिर ९ गते । आलु खेतीको व्यावसायिक उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले आलु पकेट विकास कार्यक्रम अन्तर्गत रेसुङ्गा नगरपालिकाले कृषकलाई आलुको बीउ वितरण गरेको छ। आलु बालीको उत्पादन र उत्पादकत्वमा वृद्धिगरी आलु कृषकको आयस्रोत वृद्धि गर्न यस नगरपालिकाले वडा  ४, ६ र ११ का कृषकलाई जनकदेव जातको ११ मेट्रिक टन आलु वितरण गरेको हो ।

आलुको बीउ कृषकलाई हस्तान्तरण गर्नुहुँदै नगरप्रमुख खिलध्वज पन्थीले यहाँ आलु उत्पादनको प्रचुर सम्भावना रहेकाले कृषकलाई व्यावसायिक रुपमा कृषि पेशामा लाग्न प्रोत्साहन गर्ने लक्ष्य राखिएको बताउनुभयो। समयमा नै नगरपालिकाले किसानलाई आलुको बीउ उपलब्ध गराएको भन्दै उहाँले आलु उत्पादन बढी लिन समयमै आलु लगाउन आग्रह गर्नुभयो। 

उत्पादित आलुको बजारीकरण र प्राविधिक सहयोगका लागि पनि कृषकलाई नगरपालिकाले जुनसुकै समयमा पनि सहजीकरण गर्ने भन्दै नगरप्रमुख पन्थीले आलुसँँगै माटोको परीक्षण गरी अन्य वडाहरुमा पनि माटो सुहाउँदो खाधान्न, तरकारी र फलफुल खेती पकेट क्षेत्र विस्तार गर्ने तयारी गरिरहेको बताउनुभयो। 

रेसुङ्गा नगरपालिकाले गत वर्ष बीउ प्रयोजनका लागि आलु प्रवर्धन कार्यक्रम अन्तर्गत हिउँदे बालीका लागि ६५ क्विन्टल जनकदेव जातको आलु गुल्मी ल्याइएको छ । कृषकको मागअनुसार जनकदेव आलु वितरण गरिएको छ । नगरपालिकाले नगरभित्रका वडामा आलु क्षेत्र विस्तार कार्यक्रम सञ्चालन गर्नुका साथै आर्थिक वर्ष २०८१–२०८२ मा नगरपालिकाको वडा ४, ६ र ११ मा आलु पकेट विकास कार्यक्रम अन्तर्गत किसानलाई नगरपालिकाको ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरिएको छ। 

अन्य जातको आलुभन्दा पनौतीको जनकदेव आलु निकै स्वादिलो र उत्पादन पनि धेरै हुने भएकाले यही जातको आलुको बीउ गुल्मीमा ल्याएको कृषि शाखाले जनाएको छ । गुल्मी जिल्लामा उत्पादित आलुले बुटवल र काठमाडौँसम्मको बजार पाएको छ ।