• १३ असोज २०८१, आइतबार

उत्तरी मोरङको लेटाङ, जाँतेमा हात्तीको उपद्रो

blog

हात्तीले भत्काइदिएको स्थानीयको घर । तस्बिर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला 

उर्लाबारी, फागुन १० गते । उत्तरी मोरङको लेटाङ, जाँते र मिक्लाजुङ क्षेत्रमा हात्तीको उपद्रो बढेको छ । मङ्सिर सुरुदेखि दुः ख दिन थालेका हात्तीले क्षति नगरेको कुनै गाउँ नभएको स्थानीयको भनाइ छ । 

सोमबार रातिदेखि एकै पटक १३ वटा हात्ती गाउँ छिरेर दुः ख दिएपछि स्थानीयहरू त्रसित भएका छन् । उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिका –६ का तीनवटा घरमा हात्तीले वितण्डा मच्चाएका हुन् । 

सोमबार राति ४ वटा बच्चासहित आएका १३ वटा हात्तीले गाउँ पसेर वडा –६ वडा कार्यालय आसपासका मानिसलाई रातभर जाग्राम बस्न बाध्य बनाएका थिए । वडाध्यक्ष खडी मगरले दिएको जानकारीअनुसार वडा कार्यालय पूर्वपट्टि रहेको हरि सुबेदीको घरभित्र थन्काएर राखेको करिब २० मन धान हात्तीले टिनको भकारी फोडेर खाएका छन् । 

खानाको खोजीमा छावासहित निस्किएका हात्तीले वडा कार्यालय दक्षिण गोविन्द निरौलाको भान्साघरको एक पाटो ठेलेर ढल्काइदिएको छ । सोही गाउँकी कल्पना खड्काको घरको झ्यालमा लगाएको सिसा फुटाएका छन् । दुई बोरा मकै खाइदिएका छन् । हात्तीको त्रासले स्थानीयहरू रातभर सुत्न छाडेका छन् ।

चार महिना यता, हात्तीहरू सोही क्षेत्रमा घुमिरहेकाले नयाँ बाली लगाउन समेत समस्या भएको हात्ती प्रभावित क्षेत्रका पीडितको भनाइ छ ।