काठमाडौँ, फागुन १० गते । शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार मङ्गलबार विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । प्रत्येक वर्ष शेर्पा समुदायले फाल्गुण शुक्ल प्रतिपदाका दिन नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाउने गर्छन् । यो वर्ष क्ष्यु मो ह्ये लो (खरायो वर्ष) २१५० मनाइएको हो ।
नेपाल शेर्पा सङ्घका महासचिव लाम्पा शेर्पाले मञ्जुश्री चन्द्रपात्रोअनुसार ल्होसार मनाइने जानकारी दिनुभयो । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउने जानकारी दिँदै शेर्पा समुदायले ल्होसार सुरु हुनु एक महिनाअघि नै आआफ्ना घर रङ्ग्याउने, फोहोरहरू फाल्ने, सफा गर्ने र नयाँ लुगाफाटो खरिद गर्ने जानकारी दिनुभयो ।
उहाँले ल्होसारको भोलिपल्ट अर्थात् बुधबार मान्यजनबाट आशीर्वाद लिने र पर्सिपल्ट अर्थात् बिहीबार गुरुहरूसँग आशीर्वाद लिइने बताउनुभयो । “हिन्दुहरूले दशैँमा टीका थाप्न जानेजस्तै हो,” शेर्पाले भन्नुभयो । उहाँले सम्बोटा लिपिलाई सेतो पीठो प्रयोग गरेर घरको खम्बा,
भित्ता एवं दलिनमा टाँसी ‘देलेकुु’ भन्ने वाक्यांश र अष्टमङ्गलका चिह्नहरूले घर सजाइने
पनि बताउनुभयो । उहाँले बर्सेनि १२ लो (बाँदर, चरा, कुकुर, सुँगुर, मुसा, गाई, बाघ, खरायो, ड्र्यागन, सर्प, घोडा र भेडा) वर्ष परिवर्तन भएर नयाँ वर्ष सुरु हुने जानकारी दिनुभयो ।
“तिथि परिवर्तन भई १२ महिना सकिएर नयाँ वर्ष लागेसँगै ग्याल्पो ल्होसार मनाइने गरिन्छ,” शेर्पाले भन्नुभयो, “हायानी सम्प्रदायमा साम्बोटा लिपिले समेटेको हिमाली भोटचन्द्र पात्रो (दतु)मा कोङ्पो, तोला, सोनाम र ग्याल्पो गरी चारवटा ल्होसार उल्लेख छ ।”
शेर्पा, तामाङ, भोटे, गुरुङ, थकाली, ह्योल्मोलगायत बौद्ध धर्मावलम्बीले पात्रोअनुसार चारवटै ल्होसार मनाउँछन् । ल्होसारमा छेमार र छेयाङ्फुद सजाइने गरिन्छ । नौ प्रकारका खानेकुरा मिसाएर पकाइएका खाना (गुथुक), खप्स र फलफूल खाएर शुभकामना साटासाट गरी विश्वभर एकै समयमा ल्होसार मनाइने गरिन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो ।
शेर्पाका अनुसार नयाँ वर्षको दुई दिनअगाडि विभिन्न नौ प्रकारका अन्न मिसाएर तयार पारिएएको एउटा विशेष परिकार ‘गुथुकु’ खाने गरिन्छ । पीठोको छुट्टाछुट्टै डल्ला बनाई त्यसभित्र बेग्लाबेग्लै सेतो कपडा, गहुँ, कागज, खुर्सानी, कोइला, घिउ र नुन राखेर ‘गुथुक’ पकाइएको हुन्छ । खाने बेलामा कसको ‘गुथुक’भित्र के प¥यो भनेर सबैले खोलेर हेर्छन् । सेतो कपडाको टुक्रा प¥यो भने उसको मनोकामना पूरा हुने, गहुँ परेमा धनसम्पत्ति बढ्ने, कागजको टुक्रा परेमा विद्वता बढ्ने, खुर्सानी परेमा खरो स्वभावको हुने, कोइला परेमा कपट स्वभावको हुने, घिउ परेमा चिप्लो बोल्ने स्वभाव हुने र नुन परेको खण्डमा बनेका योजनाहरू सफल हुने मान्यता शेर्पा समुदायमा छ ।
आँगन, घरको छत, गुम्बा अनि चैत्यहरूमा भएका पुराना ध्वजा यस दिन परिवर्तन गरिन्छ । ग्याल्पो ल्होसारलाई ह्याल्मो ल्होसार पनि भन्ने गरिन्छ तर दुवैको अर्थ एकै हो ।
यस दिन नयाँ लुगा लगाउने, पानीका मुहानहरूमा गएर नाग देवताको पूजा गर्ने गरिन्छ । पूजा गरेपछि त्यहाँबाट ल्याइएको पानीले घरका कुलदेवतालाई चढाउने गरिन्छ । यो चाड नेपालसहित चीन, मङ्गोलिया, बर्मा, सिक्किम, भुटानलगायतका देशमा पनि मनाइन्छ ।