• ६ जेठ २०८१, आइतबार

बोक्सी कुप्रथाविरुद्धको वृत्तचित्र प्रदर्शन

blog

बोक्सीको आरोपमा हुने हिंसा न्यूनीकरणका लागि कपिलवस्तुमा वृत्तचित्र प्रदर्शन । तस्बिर : जानु पाण्डे

जानु पाण्डे 

कपिलवस्तु, फागुन ९ गते । कपिलवस्तुमा बोक्सीको आरोपमा हिंसाका घटना सार्वजनिक हुन लागेपछि सचेतनामूलक वृत्तचित्र (डकुमेन्ट्री) प्रदर्शन गरिएको छ । बोक्सी कुप्रथाविरुद्धको सचेतनामूलक शिक्षामूलक अभियान अन्तर्गत निर्माण गरिएको वृत्तचित्र ‘अग्निदहन’ प्रदर्शन गरिएको थियो । 

जिल्लाको महाराजगञ्ज नगरपालिका वडा –११ वनगाई र बुद्धभूमि नगरपालिकाको गौतमबुद्ध माविमा वृत्तचित्र प्रदर्शन गरिएको थियो । माघ १८ गते वनगाईमा बोक्सीको आरोपमा कुटपिटको घटना सार्वजनिक भएपछि वृत्तचित्र प्रदर्शन गर्न अभियानको टोली कपिलवस्तु आएको थियो । 

ग्रामीण क्षेत्रमा बोक्सीको आरोपका हिंसाका घटना सार्वजनिक हुनेगरेकाले सोविरुद्ध चेतना फैलाउन सन्देशमूलक श्रव्यदृश्य सामग्री प्रदर्शनी गरिएको अभियानका नेतृत्वकर्ता कोविद शर्मा उपाध्यायले बताउनुभयो । अभियान अन्तर्गत विद्यालय, सामाजिक सङ्घ संस्था, समुदायलाई लक्षित गरिएको थियो ।  

हिंसाका घटना निर्मूल गर्न लक्षित समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने गौतमबुद्ध माविका प्रअ शिशिरप्रसाद अर्यालले बताउनुभयो । विद्यार्थीले वृत्तचित्र हेरेपछि समाजमा हुने घटनालाई निरुत्साहन गर्न सहज हुने अपेक्षा गरिएको छ । वृत्तचित्र प्रदर्शनीका लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले समन्वय गरेको थियो ।