• ६ जेठ २०८१, आइतबार

साउदी जेलमा रहनुभएका कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

blog

दुई वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिबद्धता । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, फागुन ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगत दुई वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मङ्गलबार बिहान कार्कीका बुवा गणेशबहादुर कार्कीसहितको टोलीलाई बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले उक्त प्रतिबद्धता गर्नुभएको हो । सोक्रममा प्रधानमन्त्रीले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्काल पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराउनुभएको छ ।

भेटमा प्रधानमन्त्रीले भन्नुभयो, “वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ । विदेशमा रहेका नेपालीहरूले राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा धानेका छन्, उनीहरूको हकहित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आत्मस्वाभिमान र उनीहरूले आर्जन गरेको पुँजी, सीप र प्रविधिलाई नेपालको हितअनुकूल परिचालन गर्न सरकार प्रतिबद्ध छ ।”

धनकुटा जिल्लाको चौबिसे गाउँपालिका वडा नं–४ निवासी कार्की २ वर्षअघि ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा साउदी जेलमा रहेका छन् ।