• १४ असार २०८१, शुक्रबार

काठमाडौंमा सवारी चाप व्यवस्थापन गर्ने विकल्प

थप तीन ठाउँमा फ्लाई–ओभर निर्माण गर्न अध्ययन हुँदै

blog

विष्णु पाण्डेय

काठमाडौं, फागुन ९ गते । काठमाडौंमा सवारी चाप व्यवस्थापनका लागि थप तीन ठाउँमा फ्लाई–ओभर निर्माणका लागि अध्ययन भइरहेको छ । अहिले बनिरहेको ग्वार्कोमा बाहेक अन्य तीन ठाउँमा पनि फ्लाई–ओभर निर्माणको काम अघि बढाउन अध्ययन भइरहेको सडक विभागले जनाएको हो ।

विभागका प्रवक्ता भीमार्जुन अधिकारीका अनुसार सातदोबाटो, एकान्तकुना र नख्खु दोबाटोमा फ्लाई–ओभर निर्माणका लागि अध्ययन भइरहेको हो ।

उहाँले भन्नुभयो, “उपत्यकामा बढ्दै गएको सवारी जामलाई व्यवस्थित गर्न र सहर र्साैन्दर्यकरण गर्नका लागि फ्लाई–ओभर निर्माण गर्न लागिएको हो । ग्वार्कोमा बाहेक सातदोबाटो, एकान्तकुना र नख्खु दोबाटोमा पनि अध्ययन भइरहेको छ ।”

उपत्यकाको चक्रपथमा बढ्दो सवारी जामलाई समाधान गर्नका लागि बढी सवारी जाम हुने चोकमा फ्लाई–ओभर निर्माण गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “उपत्यकाको चक्रपथ परिक्रमा गर्ने मुख्य चोकहरूमा गाडीको जाम बढी हुने भएकाले यसलाई कम गर्नका लागि फ्लाई–ओभर निर्माणको काम ग्वार्कोबाट काम सुरु भएको छ ।”

उहाँका अनुसार यी फ्लाई–ओभरको विस्तृत अध्ययन प्रतिवेदन निर्माणको क्रममा छ । बजेट नभएका कारण अन्य प्रक्रिया भने अघि बढाउन नसकिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “ग्वार्को बाहेकका अन्य आयोजना भने बजेट अभावका कारण अघि बढाउन सकिएको छैन । बजेट स्वीकृत हुने बित्तिकै अन्य फ्लाई–ओभरको काम पनि सुरु हुन्छ ।”

ग्वार्को ‘फ्लाई–ओभर’ कस्तो बन्नेछ ?

भर्खरै सुरु भएको ग्वार्को फ्लाई–ओभर ४९० मिटर रहने छ । जहाँ बालकुमारी तर्फबाट २८० मिटर लामो र्‍याम र सातदोबाटोबाट तर्फबाट १३५ मिटर लामो र्‍याम रहने छ । फ्लाई–ओभरको उचाइ भने अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ६ मिटरको रहनेछ ।

हाल चक्रपथ आठ लेनको रहेको छ । त्यसको बीचमा चार लेनलाई फ्लाई–ओभरमार्फत माथि उठाइनेछ । जहाँ चक्रपथमै आवतजावत गर्ने सवारीहरू चल्नेछन् ।

मंगलबजार इमाडोल मंगलबजार सञ्चालन हुने सवारीहरू भने फ्लाई–ओभर मुनिबाट चल्नेछन् । ग्वार्को फ्लाई–ओभरको लागत १७ करोड ६ लाख रुपियाँ लाग्ने बताइएको छ ।

यही रकममै निर्माण कम्पनीसँग ठेक्का सम्झौता समेत भएको सडक विभागका प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । विभागले इपिसि (इन्जनियिरङि प्रोक्युअमन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा उक्त आयोजना बनाउने गरी साउन २०७८ मा टेन्डर आह्वान गरेको थियो ।

त्यसपछि माघ २०७८ मा आरसी, समानान्तर र रेलिग्रेसन जेभी त्यसमा छनोट भएका थिए । त्यसलगत्तै ठेक्का सम्झौता गरेर निर्माण कम्पनीहरूले फागुन २०७८ देखि आयोजनाको डिजाइन बनाउन सुरु गरेका थिए । अबको १४ महिनामा निर्माण कार्य सक्ने लक्ष्य छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।