• ६ जेठ २०८१, आइतबार

थाइ एयरवेजले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा खारेज

blog

थाइ एयरवेज । फाइल तस्बिर

काठमाडौं, फागुन ९ गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयरवेजले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ रद्द गरेको छ । सोमबार प्राधिकरणले थाइ एयरवेजले विगत लामो समयदेखि सेल्फ ग्राउण्ड ह्याण्डलिङ म्याद नगरेर खारेज गरेको प्राधिकरणका उप–महानिर्देशक एवम् प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभएको हो ।

प्रवक्ता निरौलाले आज (मङ्गलबार)को मितिदेखि थाइ एयरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङको काम बन्द भएको बताउनुभयो । उहाँले थाइ एयरवेजका इन्जिनियरमार्फत हुँदै आएको जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा पनि बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

अब सम्पूर्ण सेल्फ ग्राउण्ड ह्याण्डलिङको काम नेपाल वायु सेवा कम्पनीले नै गर्ने भएकाले सेवा नरोकिने उहाँको भनाइ छ । प्रवक्ता निरौलाले थाइ एयरवेजका इन्जिनियरमार्फत हुँदै आएको जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा समेत विमानस्थलको मेन्टिनेन्स अर्गनाइजेसनबाट हुने बताउनुभयो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस प्रकरणको अनुसन्धान भइरहेकाले प्राधिकरणको निर्णयले केही परक नपर्ने धारणा औँल्याउनुभयो ।

निरौलाले भन्नुभयो, ‘‘नेपाल नागरिक उड्डयन प्राधिकरणले आज विगत लामो समयदेखि थाइ एयरलाइन्सले गर्दै आएको सेल्फ ग्राउण्ड ह्यान्डलिङको म्याद नथप्ने निर्णय गरेको छ । त्यसका सहायक कम्पनी, जिएसए कम्पनीले गर्दै आएको सेवाहरू आजका मितिदेखि बन्द भएका छन् । ग्राउण्ड ह्याण्डलिङ नेपाल वायुसेवाबाट हुन्छ । सेवा रोकिँदैन सुचारु हुन्छ । अनुसन्धानमा रहेको विषयलाई यो निर्णयले खासै फरक पार्दैन । अब सबै ग्राउण्ड ह्याण्डलिङको काम नेपाल वायुसेवा कम्पनीले नै गर्नेछ । जहाजको प्राविधिक जाँच विमानस्थलमा भएको मेन्टेनेन्स अर्गनाइजेसनबाट हुनेछ ।’’

विमानस्थलका महाप्रबन्धक ठाकुरलाई घुस प्रकरणमा परेको थाइ स्वमाइल थाइ एयरवेजकै सब्सिडरी कम्पनी रहेको छ । थाइ स्माइलले उडान सञ्चालन सेवा दिएपनि थाइल्याण्डको नियामक निकायबाट आधिकारिक इजाजत नलिएका कारण तत्कालका लागि सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा रद्द गरिएको प्राधिकरणले बताएको छ ।

साताको ३५ वटा उडान गर्ने कम्पनीलाई मात्र सेल्फ ग्राउण्ड ह्याण्डलिङको दिइने प्रावधान रहेको छ । विगतमा प्राधिकरणका महानिर्देशकले थाइ एयरवेजले कोरियन, थाइ स्वमाइल, क्याथे प्यासिफिक, सिंगापुर लगायत विभिन्न वायुसेवालाई मर्मतसम्भारको सेवा दिँदै आएको थियो । प्राधिकरणका अनुसार थाइ एयरवेजले विमानस्थललाई बुझाउनुपर्ने बक्यौता एक करोड रुपैयाँ बढी छ । बन्द भएको थाइ एयरवेजलाई चार वटा एयरलाइन्सका जहाजलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ तथा जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा दिँदा मुलुकको वार्षिक तीन अर्ब रुपियाँ गुम्दै आएको थियो । तर, प्राधिकरणको सोमबारको निर्णयले वार्षिक तीन अर्ब रुपियाँ बाहिर जानबाट रोकेको छ ।