• १५ जेठ २०८१, मङ्गलबार

मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपियाँ सुनिश्चित

blog

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन ८ गते । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपियाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरिदका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सो स्रोतमा सहमति दिएको हो । 

स्रोत सुनिश्चितमध्ये २ अर्ब ४० करोड रुपियाँ कृषि तथा पशुपक्षी विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिने मन्त्रालयको भनाइ छ । २ अर्ब ५० करोड रुपियाँ आगामी आर्थिक वर्षको सिलिङमा समावेश गरिने मन्त्रालयले जनाएको छ । २ अर्ब ६० करोड रुपियाँ दायित्व सिर्जना भएपछि निकासा गरिनेछ ।

रासायनिक मल खरिद गर्न चालु आर्थिक वर्षका लागि १५ अर्ब रुपियाँ विनियोजन गरिएको थियो । रासायनिक मल खरिदका लागि अर्थ मन्त्रालयले थप १६ अर्ब रुपियाँको स्रोत सुनिश्चित गरेको थियो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको मागअनुसार पुनः थप स्रोतको व्यवस्था गरिएको हो । 

रासायनिक मल खरिद र आपूर्ति व्यवस्था सहज गर्नेसम्बन्धी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाँच दिनअघि कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साह, कृषि विकास सचिव गोविन्दप्रसाद शर्मा लगायतसँग छलफल गर्नुभएको थियो । 

सो अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले रासायनिक मल खरिदका लागि स्रोतको समस्या नहुने बताउनुहुँदै अविलम्ब आवश्यक प्रक्रिया सुरु गर्न आग्रह गर्नुभएको मन्त्रालयका अधिकृत चुरामणि अर्यालले बताउनुभयो ।