• ८ मंसिर २०८१, शनिबार

दाफा भजनप्रति रुचि घट्दै

blog

काठमाडौँ, फागुन ८ गते  । नेवारी संस्कृतिको मात्रै नभएर नेपाली सङ्गीतकै एक महत्त्वपूर्ण र मौलिक विधा हो, दाफा सङ्गीत । दाफा सङ्गीतमा शास्त्रीय सङ्गीतको उच्चतम सम्मिश्रण पाउन सकिन्छ । लिच्छविकालदेखि अस्तित्वमा रहेको दाफा सङ्गीत नेवार संस्कृतिको विशिष्ट पहिचान मानिन्छ तर पछिल्लो समय धेरैजसो स्थानमा दाफा भजन गाउने चलन हराउँदै गएको छ । होली सुरु हुनु एक महिनाअगाडिदेखि होली गीतले गुञ्जायमान हुने भक्तपुर यतिखेर भने सुनसान छ । होलीमा सहरभरि गुञ्जायमान हुने गीतहरू हिजोआज कहीँकतै मात्र सुनिने गरेको पाइन्छ । 

होली या होली तं चाया लाल्यासे, अबिर भती नं तय मज्युला ?... (होलीका दिनहरूमा अलिकति अबिर लगाइदिएको पनि रिसायौ के तिमी ?), बोलको नेपालभाषाको गीत हरेक दाफा भजनमा गुञ्जायमान हुन्थ्यो । स्थानीय तथा संस्कृतविद् गणेशराम लाछीले भक्तपुर नगरका टोलटोलमा रहेका पाटीपौवा, सत्तल, चोक, बहाबही, दवलीमा साँझ दाफा भजन (होलीका गीत गाउने) क्रम सुरु हुन्थ्यो भन्नुभयो । विशेष गरी भीमसेन देवता भएका ठाउँमा यस्ता गीत गाइने उहाँले बताउनुभयो । 

प्रविधिको जमानासँंगै युवा मात्रै नभई बूढाबूढीसमेत ईमेल, इन्टरनेटजस्ता सामाजिक सञ्जाल र फेसबुकलगायतमा रमाएपछि पुराना  चलनप्रति रुचि घट्दै गएको उहाँको दाबी छ । लाछीले पहिलाजस्तो होलीको गीतमा रमाउने जमाना नरहेको जानकारी दिँदै भन्नुभयो, “पहिले यस्तो हुन्छ भन्ने अवस्था आइसक्यो, संसार कहाँंबाट कहाँं पुगिसक्यो, बूढाबूढीको रुचि पनि अन्तैतिर मोडिएको छ ।”

हिजोआज होलीको परम्परा पनि मोडिएको छ । सिद्धिविनायक दाफा भजन मण्डलका सदस्य शक्तवीर द्वारेले भन्नुयो, “होली आउनु एक महिनाअगाडिदेखि नै होलीका भजन गाउने गथ्र्यौं तर अहिले त्यो अवस्था छैन ।” “होलीको दिनमा मात्र पनि होलीको गीत गाउन गाह्रो छ,” उहाँले थप्नुयभो, “युवापुस्तामा दाफा भजनप्रति रुचि नभएका कारण यो लोप हुने अवस्थामा पुगिसक्यो ।”

“नेवार समुदायको बाक्लो बसोबास रहेका स्थानहरूमा हरेक दिन गाइने दाफाको दृश्य अचेल दुर्लभजस्तै बनिसकेको छ,” उहाँले थप्नुभयो, “समय, परिस्थिति र मौसमअनुसार गाइने दाफामा मानवीय व्यवहार, संस्कार र देशमा भएका गतिविधि प्रस्तुत गर्ने गरिन्छ ।” दाफाका गीतसङ्गीत र बोलहरू परम्परागत शास्त्रीय रागहरूमा आधारित छन् । गायक रामकृष्ण दुवालले ग्वारा लोक भजन रागलगायतका सङ्गीतका विभिन्न विधालाई नेवारी सङ्गीतमा दाफा भन्ने गरिएको जानकारी दिनुभयो । उहाँले दाफा गीत खास गरी ३५ वटा रागमा आधारित भएर गाइने प्रस्ट पार्दै भन्नुभयो, “दाफा गाउँदा खिं बबुचा ताः लगायतका बाजा बजाइने गरिन्छ । परम्परा र ऋतुअनुसार बाँसुरी, पोङ्गा, डमरुलगायतका बाजा पनि बजाउने चलन छ ।” नेपालभाषाको सङ्गीत गायनको लिखित प्रामाणिक अभिलेखअनुसार नेपाल संवत् ६९० देखि नै दाफा गायन सुरु भएको मानिन्छ ।

के हो दाफा वा सङ्गीत ?

समय, परिस्थिति र मौसमअनुसार गाइने दाफामा मानवीय व्यवहार, संस्कार र देशमा भएका गतिविधि प्रस्तुत गर्ने गरिन्छ । दाफाका गीत, सङ्गीत र बोलहरू परम्परागत शास्त्रीय रागहरूमा आधारित छन् । ग्वारा, लोक भजन, रागलगायतका सङ्गीतका विभिन्न विधालाई नेवारी सङ्गीतमा दाफा भन्ने गरिएको छ । दाफा गाउँदा खिं, बबुचा, ताःलगायतका बाजा बजाइने गरिन्छ । परम्परा र ऋतुअनुसार बाँसुरी, पोङ्गा, डमरुलगायतका बाजा पनि बजाउने चलन छ । नेपाल भाषाको सङ्गीत गायनको लिखित प्रामाणिक अभिलेखअनुसार नेपाल संवत् ६९० देखि नै दाफा गायनको चलन सुरु भएको मानिन्छ । 

कुनै बेला भक्तपुर नगरमा साँझतिर फन्को मार्दा टोलटोलका पाटीमा मानिस भजन गाइरहेका भेटिन्थे । तीमध्ये कतिपय भजन त मल्लकालीन र मल्ल राजाहरूले नै रचेको यसका अध्येताहरू बताउँछन् । भजनमा मैथिली भाषाका शब्दसमेत प्रयोग गरिएका हुन्छन् । त्यसले मल्लकालीन काठमाडौँ उपत्यकाको मैथिल बाहुल्य क्षेत्रसँगको सांस्कृतिक सम्बन्ध प्रस्ट पार्छ तर अचेल पाटीमा भजन गाउनेको सङ्ख्या कम छ । टोलटोलमा भजन गाउने सामाजिक समूह हुन्छन् । त्यस्ता समूहलाई नेपालभाषामा ‘दाफा’ भनिन्छ । हिजोआज त्यस्ता धेरैजसो दाफा निष्क्रियप्रायः छन् । त्यसको मूल कारण समाजको बदलिँदो उत्पादन सम्बन्ध नै हो ।

युवापुस्ताको अभाव

वाद्यवादन बजाउन जान्ने युवा अभाव हुँदै जानु वा उनीहरूलाई भजनमा धाउने ‘फुर्सद’ नहुनु, चाहना कम हुनुले भजनको एउटा मूल अंश वाद्यवादन पनि हराउँदै जाने खतरा उत्तिकै छ ।

बढ्दो सहरीकरणसँगै काठमाडौँ उपत्यकामा कृषि भूमि क्रमशः सकिँदै गएको छ । यसले गर्दा कृषि निर्भरता पनि घट्दै गएको छ । नयाँ पुस्तामा कृषिलाई मूल पेसा बनाउने क्रम क्रमशः घट्दो छ भने अन्य पेसा, व्यवसाय र सेवा उद्योगमा लाग्ने क्रम बढ्दो छ । समाजको अर्थव्यवस्था कृषिमा आधारित रहँदा मानिसले दाफा भजनलाई एकातिर मनोरञ्जन वा आरामको माध्यम बनाएका हुन्थे भने अर्कातिर टोलभरिका मानिस भेला भई गरिने भजनमा उनीहरू सामाजिक गतिविधिमा पनि सामेल हुन्थे । भजन धार्मिक अनुष्ठानको प्रक्रिया मात्र थिएन, सामाजिक गतिविधिको एउटा अभिन्न अङ्ग पनि थियो । भजनमा लागेका मानिससँग अरू सामान्य मानिससँगभन्दा बढी जानकारी हुन्थ्यो । दाफा समूहले मन्दिर बनाउने, कुलो खन्ने, पोखरी सफा गर्ने आदि काममा पनि भूमिका खेलेका हुन्थे तर कृषिमा समाजको निर्भरता कम भएसँगै भजन समूह पनि क्रमशः निष्क्रिय बन्दै गएका हुन् । मानिस व्यस्त हुने क्षेत्र अन्यत्र मोडिएको छ । मानिस सामाजिक बन्ने मञ्चहरू बदलिएका छन् । एकै टोलका सीमित मानिसबीच केन्द्रित भजनका स्थान विभिन्न ठाउँ र पेसा, व्यवसायका व्यक्ति सहभागी हुने क्लब र सहकारी संस्थाहरूले लिएका छन् ।