इमान सिं राना
रामपुर (पाल्पा), भदौ २ गते । रामपुर नगरपालिका–७, कठानमा आगलागीबाट पशु चौपायासहित अन्नपात जलेर नष्ट भएको छ । स्थानीय धर्मागत रेग्मीको गोठमा सोमबार दिउँसो आगलागी हुँदा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
आगलागी परी गोठमा रहेको एक वटा पाडा मरेको छ भने दुई वटा लैनो भैंसी र एक वटा पाडा घाइते भएको प्रहरीले जनाएको छ । साथै गोठमा भण्डारण गरेर राखिएको अन्न तथा दाना समेत जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार गोठमा भण्डारण गरिएको १४ मुरी मकै, पाँच बोरा चोकर, पाँच बोरा बरान र धानमा राख्नको लागि राखिएको २ बोरा रसायनिक मल समेत जलेर नष्ट भएको छ ।
घरमा कोही नभएको समयमा दिउँसो १२ बजेको एक्कासी गोठमा आगो सल्किएको थियो । छिमेकीले आगलागी भएको देख्नसाथ गोठ बाट भैैसी र पाडाको डाम्लो फुकाउन सफल भएका थिए । विद्युत सर्ट भएर लागेको आगो दमकलको सहयोगमा प्रहरी र स्थानीयले एक घण्टा पछि पूर्ण रुपमा नियन्त्रणमा लिएका थिए ।