हेटौंडा, भदौ २ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का कोषाध्यक्ष तथा तामाङ डाजाङका प्रकाशक अर्जुनबहादुर तामाङलाई ‘तामाङ पत्रकारिता पुरस्कार २०८२’ प्रदान गरिएको छ ।
नेपाल तामाङ पत्रकार संघ, बागमती प्रदेश र मकवानपुर जिल्ला समितिको संयुक्त आयोजनामा आयोजित ३१ औं तामाङ प्रसारण दिवसको अवसरमा उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले उहाँलाई सो पुरस्कार हस्तान्तरण गर्नुभयो । तामाङ पत्रकार संघ बागमती प्रदेशले स्थापना गरेको ‘आइतेसिं–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता’ र मकवानपुर जिल्ला शाखाले स्थापना गरेको ‘तामाङ पत्रकारिता पुरस्कार’ सो अवसरमा वितरण गरिएको थियो ।
तामाङलाई नगद १० हजार एकसय रुपियाँसहित दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको छ । अर्को पुरस्कार हेटौंडा सन्देश डटकमका पत्रकार भुवन घलानलाई नगद ५ हजारसहित सम्मानपत्रले पुरस्कृत गरिएको छ । ‘आईतेसिं–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता’ कोष युवा व्यवसायी तथा पत्रकार राजेश रुम्बा लामाले आफ्नो बुबा आमाको सम्झनामा स्थापना गर्नुभएको हो ।
मुख्यमन्त्रीको २ लाख सहयोग
मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले तामाङ पत्रकार संघ, बागमती प्रदेश समितिलाई अक्षयकोष स्थापनाका लागि व्यक्तिगत रुपमा २ लाख रुपियाँ सहयोग गर्नुभएको छ । कार्यक्रमकैबिच मुख्यमन्त्री बानियाँले सो सहयोगको चेक प्रदेश अध्यक्ष ज्ञानेन्द्र तामाङलाई हस्तान्तरण गर्नुभयो ।
मुख्यमन्त्री बानियाँले सो रकम ‘बुबा छेमबहादुर बानियाँ–दाजु राजकुमार बानियाँ’ को स्मृतिमा अक्षय कोष स्थापनाको लागि हस्तारण गरिएको बताउनुभयो ।
कार्यक्रममा लोकतान्त्रिक गणतन्त्रमा मातृभाषा संरक्षण गर्नु प्रदेश सरकारको दायित्व भएको बताउँदै मुख्यमन्त्री बानियाँले तामाङ भाषा, संस्कृति र परम्पराको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदी, कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तान, वरिष्ठ पत्रकार प्रताप बिष्ट, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर र नेपाल तामाङ घेदुङका संघीय सदस्य मेम्बर लो तामाङले धारणा राख्नुभएको थियो ।