म्याड्रिड, भदौ २ गते । स्पेनमा लागेको डढेलोका कारण यस वर्ष करिब पाँच लाख फुटबल मैदान बराबरको क्षेत्र प्रभावित भएको छ । डढेलोले स्पेनमा अहिलेसम्म कै सबैभन्दा बढी जमिन जलेको एक युरोपेली अनुगमनकारी संस्थाले सोमबार जनाएको छ ।
‘युरोपियन फरेस्ट फायर इन्फर्मेसन सिस्टम (एफिस)’ को तथ्याङ्कअनुसार स्पेनमा डढेलोले अहिलेसम्म तीन लाख ४३ हजार हेक्टर (आठ लाख ४८ हजार एकड) भन्दा बढी जमिन जलेको छ । पोर्चुगलमा सन् २०१७ मा पाँच लाख ६३ हजार हेक्टर जमिनमा डढेलोले क्षति पुर्याएको थियो भने ११९ जनाको ज्यान लिएको थियो । यूरोपमा यो नै सबैभन्दा बढी जमिनमा डढेलो लागेको घटनाका रूपमा रेकर्ड गरिएको थियो ।
दुई दशकदेखि तथ्याङ्क सङ्कलन गर्दै आएको एफिसका अनुसार सन् २०२५ मा पोर्चुगलमा दुई लाख १६ हजार हेक्टर जमिनमा डढेलो लागेको छ । स्पेनमा यस वर्ष लागेको डढेलो ग्यालिसिया, कास्टिले र लियोनको उत्तरपश्चिमी क्षेत्रमा केन्द्रित रहेको छ र यसमा छ जनाको मृत्यु भइसकेको छ । रासस/एएफपी