सुजन बज्राचार्य
संखुवासभा, भदौ २ गते । संखुवासभाको खाँदबारी नगरपालिका –३ मा रहेको महेन्द्र माध्यमिक विद्यालय मानेभञ्ज्याङले आफ्नो मौलिक संस्कृति र जातीय पहिचानलाई जोगाउन विशेष अभ्यास थालेको छ ।
जातीय पहिचान गुम्दै र संस्कृति हराउँदै गएपछि विद्यालयले महिनाको अन्तिम शुक्रबार शिक्षक तथा विद्यार्थीलाई जातीय भेषभूषामा विद्यालय आउन प्रोत्साहन गर्दै आएको छ ।
विद्यालयका साहित्यिक तथा सांस्कृतिक विभाग संयोजक कृष्णबहादुर चापागाईंका अनुसार पछिल्लो समय विदेशी भेषभूषा र जीवनशैलीको प्रभावले आफ्नै संस्कृति हराउँदै गएको महसुस भएपछि यस्तो अभ्यास सुरु गरिएको हो । यसबाट विद्यार्थीले आफ्नो मात्र नभइ अन्य जातजातिका संस्कार, संस्कृति र पोशाकबारे पनि जान्न पाउने विभाग संयोजक चापागाईले बताउनुभयो ।
प्रधानाध्यापक मेदिनी घिमिरेका अनुसार सबै विद्यार्थी र शिक्षकको सक्रियताले विद्यालयमा उल्लासमय वातावरण सिर्जना हुने गरेको छ । भिन्न–भिन्न जातका पोशाकले विद्यालयलाई रङ्गीन बगैंचाजस्तै देखाउँछ, उहाँले भन्नुभयो, “यस्तो अभ्यासले विद्यार्थीमा संस्कृति बुझ्ने र सम्मान गर्ने भावना पनि विकास गर्छ ।”
विद्यालयमा अध्यनरत एक हजार बढी बिद्यार्थीमध्ये ८० प्रतिशत बिद्यार्थी आफ्नो जातीय पोशाकमा सहभागी हुन्छन् । सोही दिन नेवार, तामाङ र राई समुदायका नृत्य तथा गायन प्रस्तुत पनि गरिन्छ, जसले विद्यालयको वातावरणलाई झन जीवन्त बनाएको छ ।