• १३ साउन २०८१, आइतबार

कुलो छैन मार्सीको फाँटलाई

blog

जुम्ला, फागुन ८ गते । गत असोज महिनामा आएको बाढीले यहाँको मार्सी फल्ने फाँटमा सिँचाइ उपलब्ध हुने कुलोमा क्षति पुगेको छ । कुलो भत्किएपछि पुनर्निर्माण नहुँदा सिँचाइ हुन सकेको छैन, जसले गर्दा हिउँदे बाली सुक्न थालेको छ । मार्सी धान फल्ने खेतमा यस पटक सिँचाइ नहुँदा उत्पादन कमी भई भोकमरी हुने त्रास बढेको छ । 

हिमा गाउँपालिकाको कुच्चेकुना–पागरपाली ज्युलोका करिब चार किमि कुलोमा करिब एक किलोमिटर नामोनिसान नै नरहने गरी भत्किएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीका अनुसार हिमामा सो कुलोसहित धेरै कुलोमा क्षति पुग्दा धान फल्ने खेतमा सिँचाइ हुन सकेको छैन । कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले कनकासुन्दरीका तीन मुख्य कुलासहित धेरैमा क्षति भएको बताउनुभयो । तिला गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले तिला क्षेत्रको सबैभन्दा बढी भेरीखोला र वडा नं. ४ मा मार्सी धानका फाँट बग्नुका साथै कुलो भत्किएको जनाउनुभयो । 

स्थानीय सरकारको बजेटले समेत नभ्याउने तरिकाले क्षति भएको स्थानीय तह बताउँछन् । धान, जौ र गहँु फल्ने फाँट बग्दा बचेका खेतमा पनि सिँचाइको अभाव भएको छ । हिमा गाउँपालिकाका किसान पदमबहादुर शाहीले सिँचाइ नहुँदा उत्पादन कम भई भोकमरी बढ्ने चिन्ता व्यक्त गर्नुभयो । पातारासी हिमालबाट बग्ने जवाँ नदी मुहान भएको माझकुलोको हपराना स्थानमा ३५ मिटर भत्किएको छ । चन्दनाथ नगरपालिका–१ को गौँडामा करिब ६० मिटर सदरमुकामदेखि पातारासी जाने बाटोमुनिबाट भत्किएर कुलो अवरुद्ध भएको हो । 

कुलो अवरुद्ध भएपछि चन्दननाथ–१, विमानस्थल क्षेत्रमा यस वर्षको हिउँदे बाली जौ र गहुँमा सिँचाइ हुन सकेको छैन । हिउँदमा त सिँचाइ भएन तर बर्खायाममा मार्सी धान रोप्ने ज्युलो त्यही भएकाले धान रोप्न नसकिने हो कि भन्ने चिन्ता किसानमा छ । किसान दीपबहादुर मल्लका अनुसार अहिले कुलो सञ्चालन भइदिएको भए जेठमा रोपाइँ हुने तर कुलो नबन्दा सिँचाइ नहुने देखिन्छ । 

कुलो नबनेपछि चन्दननाथ नगरपालिकाका स्थानीय किसान महिनौँदेखि सरोकारवाला निकाय धाउन थालेका छन् । उनीहरूले कुलो निर्माणका लागि आवश्यक योजना पारिदिन सबै सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएका छन् । 

किसानले प्रदेशका मन्त्रालय, जुम्लाका प्रतिनिधि सभा सांसद, प्रदेश सांसद तथा जिल्लास्तरका प्राविधिक कार्यालय, सिँचाइ तथा ऊर्जा विकास तथा सिँचाइ कार्यालयलाई अनुरोध गरेका छन् । 

ऊर्जा विकास तथा सिँचाइ कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठले माझकुलोको विषयमा सम्पूर्ण कागजात प्रदेश मन्त्रालयमा पठाइएको बताउनुभयो ।