• १८ भदौ २०८१, मङ्गलबार

मृत्यु रोएको देख्ने स्रष्टा

blog

लामो समयको अस्वस्थता र मौनतापछि अन्ततः बिहीबार डा. मोहनहिमांशु थापाले यो धरा छाड्नुभएको छ । शिवरात्रिको बिहान शनिबार उहाँको निधनको खबर फैलिएपछि धेरैले मोहनहिमांशुलाई सम्झन पुगे । पशुपति आर्यघाटमा उहाँको पार्थिव शरीर जलेसँगै ८८ वर्षे उहाँ यस धरामा नरहे भए पनि साहित्यका माध्यमबाट धेरैका मनमनमा भने उहाँ रहिरहनुहुनेछ । उहाँले कोरेका कविता, लेखेका समालोचना, सम्पादन गरेका कृतिमा उहाँ बाँचिरहनुहुनेछ । त्रिभुवन विश्वविद्यालयमा बिताएका चार दशकको समयले उहाँलाई सम्झाइरहनेछ । मोहनहिमांशुलाई स्मरण गर्नुको कारण छ, आफ्नो जीवनको सात दशक त उहाँले साहित्यका लागि दिनुभयो । जीवनका पछिल्ला वर्ष साहित्यबाट टाढिए पनि साहित्य नै उहाँका लागि सर्वस्व थियो ।  

काठमाडौँको गोकर्णमा जन्मिएर ललितपुरमा अन्तिम सास फेर्दासम्मको ८८ वर्षे जीवनमा उहाँले धेरै सेवा गर्नुभयो । साहित्य, प्राध्यापन उहाँका विशेष क्षेत्र थिए । गोकर्ण छोडेर सहरमा डेरा लिएर बस्न थालेपछिको सङ्गतले कवि बनायो । हुनेखाने परिवारमा जन्म लिए पनि उडन्ते स्वभावका बाबुबाजेका कारण केट्यौली उमेरमै घरव्यवहार हेर्नुप¥यो । काठमाडौँको सेरोफेरोमै भए पनि कहिले कता कहिले कता गर्दै बितेको जीवनले काठमाडौँको बल्खुमा घर बनाएर बस्न थालेपछि थकान बिर्सिनुभएको थियो । अझ डेढ दशकअघि ललितपुरको नखिपोटमा सुन्दर र शान्त भवनमा बस्न थालेपछि त उहाँ अझ स्वस्थ र शान्त देखिन थाल्नुभएको थियो । 

जीवनमा आइपर्ने दौडधुप र आफूलाई स्थापित गराउन गर्नुपर्ने सङ्घर्ष सबै सकेर आफैँले बाँचेको जीवनको हिसाबकिताब हेर्ने हो भने जोडबाहेक घटाउ छैन, सन्तोषबाहेक असन्तुष्टि रहेन । बरु जीवनमा हिसाबकिताब नराख्ने मान्छेका रूपमा आफैँलाई चिनाउने मोहनहिमांशुलाई चिन्नेहरूले कवि, समालोचक, अनुवादक, सम्पादकका रूपमा चिने । प्राध्यापनको पाटो त छँदै छ । कलिलो उमेरमै गान्धी क्याप लगाई चारतारे झन्डा बोकेर भाषण गर्दै हिड्ने उहाँ राजनीतिमा चाहिँ कहिल्यै लाग्नुभएन । कुनै पार्टीमा प्रतिबद्ध भएर लाग्नुभएन । स्वभाव पनि त्यस्तै, घुलमिल भएर फाइदा लिइहालौँ भन्ने सोच पनि देखिएन ।

नखिपोटको शान्त र सुन्दर थलोमा आउनुअघि लेखिएका र छापिएका कृतिभन्दा बढी कृति अलि बढी जाँगर चलाउने हो भने प्रकाशन गर्न पुग्थे– नाटक, कविता, समालोचना आदि तर मन र शरीरले त्यति जाँगर दिएन । आफ्नै निवासको कोठामा बसेर उहाँ गाईजात्राका बखत देखाइने प्रहसन, व्यङ्ग्य, डबलीका कुरा मात्र होइन पुराना लेखक, साहित्यकार, कलाकारका बारेमा पनि धारा प्रवाह बताइदिनुहुन्थ्यो । उमेरले देखाउने बुढ्यौलीलाई बोली र स्मृतिले चट्ट बिर्सिएजस्तो, पावरवाल चस्मा छुट्टै चिनारी भएजस्तै कम सुन्ने कान चनाखो पारेर उहाँ बितेका दिन सम्झन थाल्नुहुन्थ्यो । साहित्य, प्राध्यापनमा लाग्दा भोगेका र सङ्गत गरेकाहरूको बारेमा मात्र लेख्ने हो भने मोहनहिमांशुको संस्मरणको गतिलै पुस्तक बन्न सक्थे । आफैँले लेखेको एउटा कविता कृति, खुकुरीमाथि एक चौटा बादल–२०३०, साहित्य परिचय समालोचना–२०३५ जस्ता मौलिक कृतिबाहेक सम्पादन र अनुवाद गरी आधा दर्जन कृति पनि पुग्दैनन् । कुनै बखत भूपि शेरचन, द्वारिका श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, वासु शशि, कुमार नेपालसँग मिलेर वि.सं २०१३ मै रोदीको स्थापना गर्ने उहाँ दशको दशकमै लोकप्रिय कविमा दरिइसक्नुभएको थियो । २००७ सालको परिवर्तनसँगै कविता वाचन र भाषण गर्दै हिँडेको त्यतिखेरको मान्छे, २००९ सालमै महाकवि लक्ष्मीप्रसाद देवकोटाको सामुन्ने कविता पढेर प्रशंसा पाएर फुरङ्ङ भएको मान्छे हो उहाँ । उहाँ भन्नुहुन्थ्यो, “अहिलेको पुस्ताले हामीलाई के चिन्ला र ?” कवितामै लागिरहेको भए त यतिखेर मोहनहिमांशु काव्यजगत्मा चर्चाको शिखरमै हुनुहुन्थ्यो होला । कवि हिमांशुलाई मोहनहिमांशुले अन्याय गरेको स्वीकारोक्ति थियो, “२०१८ सालमै प्राध्यापनमा लागेपछि पुराना कविका परम्परावादी कविता काव्य पढाउनुपर्दा मलाई तिनले त्यति छोएनन्, आफू आधुनिक कवि भएर हो कि अनि नाटकतिर लागेर यसैमा लेख्न थालेँ, अहिले आएर आफूलाई कविकै रूपमा बढी सफल ठान्छु । त्यतिबेला यताउता नलागी कवितामै लागिरहेको भए .....।”

अनि समालोचना चाहिँ ?

समालोचना त प्राध्यापकीय भूमिका निर्वाह गर्दा समालोचक बन्न पुगेको हुँ । सम्पादन र अनुवाद आइलागेका काम हुन् । मूलतः म कवि नै हुँ, उहाँको उद्घोष  ।  जीवनको काव्य यात्रामा मैले मृत्युका पदचापहरू सुनेको छु । जीवन जन्मेकै क्षणमा मृत्युको जन्म हुन्छ । यस यात्राका क्रममा मैले एउटा आँखामा जीवन हाँसेको देखेको छु, अर्को आँखामा मृत्यु रोएको देखेको छु, जीवनका संवेदनामा मृत्युको कुनेत्रो लागेको पनि अनुभव गरेको छु । यही अस्तित्वबोधको दिशामा मेरो कविताको मृत्यु र निराशाले स्वरलाई सुसेलेको छ । मेरो दृष्टिमा काव्यमा निराशा जीवनको हतोत्साह होइन, न जीवनको उदासीनता हो न आफूले भागेको परिवेशबाट पलायनको प्रक्रिया हो । पलायनको अन्तिम सीमा मृत्यु हो । पलायनको गन्तव्य स्थल एक मात्र आत्महत्या हो । निराशाको अर्थ पलायनद्वारा मृत्यु वा आत्महत्या हो भन्ने पक्षमा म छैन । निराशाको गहिराइमा आत्मसात् गरेर आत्महत्या गर्दिनँ, यसो गर्नमा म विश्वास पनि गर्दिनँ । मृत्युबोध भनेको जीवनमा हुन्छ र व्यक्तिको अस्तित्व हुन्छ । त्यसैले म जीवनको अस्तित्वबोधका लागि हस्ताक्षर गर्छु र आफ्ना कवितालाई अस्तित्वबोधको घोषणापत्रका रूपमा लिन्छु ।

३५ वर्षअघि नै बल्खुमा भएको पहिलो भेटमा मृत्युको सन्दर्भमा बढी केन्द्रित बनेर दिएको अभिव्यक्ति हो उहाँको । कुन बेला गइने हो के थाहा ? धेरै त गइसके, त्यसैले लेखेर राखेका रचनाहरू सङ्कलन गर्दै छु, तीन÷चारवटा त पुग्छन् । जीवनमा छाडेर जाने त यही रहेछ । तरखर गर्दागर्दै बितेको समयले उहाँलाई साथ दिएन, अस्वस्थ मात्र बनाएन, अशक्त नै बनाइदियो । स्नायुको रोगले विगत एक वर्षदेखि ओछ्यान परेको शरीरले अन्ततः विश्राम लिनपुग्यो ।

मोहनहिमांशुले जीवनको आरोह–अवरोहलाई एकातिर पन्छाएर आफ्नो पढाइ भने छाड्नुभएन । जीवनमै कमाएको भनेकै यही हो । त्यतिखेर असाध्य मिल्नेमध्येका एक भूपि शेरचनले नयाँ सडकको डाँफे रेस्टुरेन्टमा बसेर यसपालि हामी बीएको जाँच नदिने भनेर गरेको निर्णय मानेको भए हिमांशु थापा कवितामा शिखर चढिसकेको हुनुहुन्थ्यो होला । भूपिले पढाइ अघि बढाउनुभएन, कवितामा अघि बढ्नुभयो, हामी पढाइमा त अघि भयौँ, कवितामा भूपि नै अघि बढ्यो । त्यतिखेरका यस्ता सम्झना धेरै छन् । प्राध्यापन अनुभव अनि झन्डै सात दशकको साहित्यिक सक्रियताले मोहनहिमांशु धारा प्रवाह बोल्ने मात्र होइन, बोलीमा पनि मिठास थियो । सरलपन र सहयोगी भाव उहाँमा छँदै थियो । 

नखिपोटको घरभित्रै जीवनको पछिल्लो समय बिताउनुभयो उहाँले । ५५ वर्षअघि वैवाहिक जीवनमा बाँधिनुभएकी अस्वस्थ जीवनसङ्गिनी अनि छोराका साथमा । जेठो छोरा प्रश्वास परिवारसहित अस्ट्रेलिया गएपछि उहाँको साहित्यिक सक्रियतामा कमी आयो । साहित्यको विगतसँग जोडेर हेर्ने हो भने उहाँको योगदानले साढे छ दशक कटाइसकेको छ, कवितामा त प्रसिद्धि कमाएर कलिलो उमेरमै पदक, पुरस्कार जित्ने उहाँले लेखनमा आफूलाई निरन्तर सक्रिय राख्नुभयो । विडम्बना भनौँ, उहाँको चिनारीमा प्रतिनिधि समालोचना, कविता सङ्ग्रहमा न उहाँका रचना समेटिएका छन् न कुनै अन्तर्वार्ता, जीवनीको त कुरै छाडौँ । 

कारण के होला त ? त्यतिखेरको जिज्ञासा 

मेरो स्वभावले गर्दा होला, म कुनै समूहमा पनि परिनँ, कुनै पार्टीमा पनि लागिनँ, फेरि मेरो स्वभावै यस्तो छ कि कसैसँग अनुनयविनय नगर्ने । कमले चिने पनि चिन्नेहरूले उहाँलाई ससम्मान चिन्ने गर्छन् । पुरस्कार र सम्मानको कमी छैन बरु पुरस्कार, सम्मानको तुलनामा आफ्नो योगदान कम भएको हो कि जस्तो लाग्छ उहाँलाई । युगकवि सिद्धिचरण पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, पहलमानसिंह पुरस्कार, बालकृष्ण सम पुरस्कार आदि थुप्रै छन् । जीवनको उत्तराद्र्धमा आएर उहाँलाई लाग्थ्यो सम्मान र माया पाएको त साहित्यबाट नै रहेछ चिनाउने र बचाउने पनि । बाँकी त समय क्रममा आइपरेका दायित्व मात्र । उतिखेरको सक्रियता सम्झँदा पनि आनन्दित बन्ने उहाँको जीवनका पछिल्ला दिन त्यति सुखद रहेनन् । आफ्नै अस्वस्थताले पीडाको जीवन बाँचिरहनुभयो । उहिले नै मृत्युको पदचाप सुनेको मान्छे, कुन बेला गइने हो भनेर आफ्नै सिर्जनालाई सङ्गृहित गर्न तरखर गर्ने उहाँ एउटै कविता कृतिबाट कविका रूपमा चर्चित बन्न्नुभयो, एउटै समालोचनाबाट समालोचकका रूपमा दरिनुभयो । धेरैका प्रिय साहित्यकार, धेरैका आदरणीय गुरुका रूपमा मनमनमा बस्नुभयो । मोहनहिमांशु नेपाली साहित्य क्षेत्रले नबिर्सने काम गरेर जानुभयो, अक्षर र योगदानका माध्यमबाट सम्मानित बनेर ।