• ८ पुस २०८१, सोमबार

यती एयर दुर्घटना : चालक परिवर्तन मुख्य कारक

blog

काठमाडौँ, फागुन ४ गते । यती एयरलाइन्सको माघ १ गते पोखरामा भएको दुर्घटनाको छानबिनका क्रममा दुर्घटना हुनु केही समयअघि विमान उडानको मुख्य नेतृत्व चालकबाट सहचालकले लिएको पाइएको छ। 

दुर्घटना जाँच आयोगले सरकारलाई बुझाएको प्रारम्भिक प्रतिवेदनअनुसार विमानको बायाँतर्फको सिट (जुन मुख्य कमान्ड दिने ठाउँ हो)मा क्याप्टेन अञ्जु खतिवडा बसेको र प्रशिक्षक पाइलट कमल केसी दायाँतर्फ बसेको पाइएको छ। हवाई विज्ञका अनुसार दायाँतर्फ सामान्यतया को–पाइलट बस्ने गर्छन्। 

‘खतराको सङ्केत प्राप्त भएपछि १०:५७:१८ बजे विमानको नियन्त्रण पीएफ (अञ्जु खतिवडा)ले पीएम (कमल केसी)लाई सुम्पेको’ प्रतिवेदनमा उल्लेख छ। त्यस क्रममा खतिवडाले इन्जिनमा पावर नरहेको कुरा बताएको समेत प्रतिवेदनमा जनाइएको छ।

प्रतिवेदनअनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमतर्फको धावन मार्ग वानटूबाट भीएफआर (आँखाले हेरेर हुने) उडान तथा अवतरणको अनुमति दिनुअघि विस्तृत अध्ययन गरेर मात्रै अनुमति दिन आवश्यक रहेको देखिएको छ। 

प्रतिवेदनमा धावन मार्गको पश्चिमतर्फबाट भीएफआर उडान तथा अवतरण गराउनुअघि जहाजको उचाइ र जहाजले अवतरण गर्न सक्ने अवस्थाबारे विस्तृत अध्ययन गरेर मात्रै अनुमति दिन सरकारलाई सिफारिस गरेको हो।

जहाज दुर्घटना हुनुपूर्व चालक दलले सुरुमा विमानस्थलको पूर्वतर्फ (थ्रीजिरो)बाट अवतरणको अनुमति मागेको र विमानस्थलको हवाई ट्राफिक कन्ट्रोल (एटीसी)ले अवतरणको लागि धावन मार्ग क्लियर रहेको निर्देशन दिएको थियो तर पछि चालक दलले पहिलो निर्णयलाई बदल्दै धावन मार्गको पश्चिम (वानटू)बाट अवतरणको अनुमति मागेकाले पश्चिमतर्फबाट हुने उडानमा कडिकडाइ गर्न आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।

आयोगले जहाजका दुबै प्रोपेलर फेदरमा गएको, मानवीय कारण र भिजुअल एप्रोच प्रोसिजर्सको विषयमा समेत थप अध्ययन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

आयोगले मानवीय त्रुटि, प्राविधिक कारण र अवतरण गर्ने मार्गमा रहेको त्रुटिलाई समेत ध्यानमा राख्दै ‘स्कोप अफ इन्भेस्टिगेसन’ सूची सार्वजनिक गरेको छ।

जहाज दुर्घटनाको मुख्य कारण बेस लेगमा रहेका बेला दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको उल्लेख छ। यो किन भयो भन्नेबारे प्रतिवेदनमा उल्लेख छैन।

आयोगले यसअघि सार्वजनिक गरेको प्रतिवेदनले जहाजको पखेटामा आएको समस्या नै दुर्घटनाको पहिलो कारण देखाएको थियो।

दुर्घटना भएको विमानको ब्ल्याक बक्समा रहेको उडान तथ्याङ्क (फ्लाइट डाटा) विश्लेषणको प्रारम्भिक नतिजाअनुसार दुबै इन्जिनका पखेटामा समस्या आएको देखाएको थियो। 

जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलर (ब्लेड)हरू फेदर (छड्के नभई सिधा) अवस्थामै रहेकाले इन्जिनका प्रोपेलरहरू फेदर हुँदा इन्जिनमा पावर कम भएको देखिएको थियो।

यस्तो अवस्थामा इन्जिनमा पावर दिँदा पनि जहाज अघि बढ्ने वा तलमाथि हुन नसक्ने प्रतिवेदनले औँल्याएको थियो। फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुबै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको पृष्टि भइसकेको छ।   

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।