• २३ पुस २०८१, मङ्गलबार

पन्त नेपालको पहिलो आईटिओ र मैनाली टु स्टार रेफ्री

blog

पुस्करराज पन्त ।

काठमाडौं, फागुन २ गते । नेपाल बक्सिङ सङ्घका केन्द्रीय सदस्य पुस्करराज पन्त नेपालको पहिलो इन्टरनेशनल टेक्निकल अफिसियल (आईटिओ) बन्नुभएको छ । अन्तर्राष्ट्रिय बक्सिङ सङ्घ (आईबिए) ले गत १८ देखि २२ जनवरीसम्म थाइल्याण्डको राजधानी बैंककमा सञ्चालन गरेको आईटिओ परीक्षा पन्तले उत्तीर्ण गर्नुभएको हो । 

बैंककको ह्वामार्क इन्डोर स्टेडियममा गत १७ देखि २७ जनवरीसम्म भएको एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिप २०२३ मा आईबिएले आईटिओ परीक्षा पनि सञ्चालन गरेको थियो ।

त्यसैगरी सोही प्रतियोगिताको समयमा जनवरी १७ देखि २७ तारिख सम्म सञ्चालन भई सम्पन्न भएको एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिप २०२३ मा आईबिएद्वारा सञ्चालित आईवा टू स्टार रेफ्री/जज कोर्षमा बागमती प्रदेश बोर्ड सदस्य धनकुमार मैनाली टू स्टार परीक्षा उत्तीर्ण गर्ने पहिलो नेपाली बन्नुभएको छ । 


एसियाली मुलुकहरू इराक, इन्डोनेसिया, भारत, बेलायत, कम्बोडिया, काजकिस्तान, कुवेत, किर्गिस्तान, कोरिया, चीन, मलेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, साउदी अरब, सिंगापुर, श्रीलङ्का, आयोजक थाइल्याण्ड, उज्वेकिस्तान  गरी २० देशको २२ जना सहभागी आईटिओजहरुको यही जनवरी १८ देखि २२ तारिखसम्म सञ्चालित उक्त आईटिओ तथा टु स्टार रेफ्री जज परीक्षामा उत्तीर्ण भएका थिए । 

आइटिओ कुनैपनि अन्तर्राष्ट्रियकरण बक्सिङ प्रतियोगिता सञ्चालन गर्नका लागि अन्तर्राष्ट्रिय बक्सिङ सङ्घद्वारा सञ्चालित परीक्षा (सर्टिफिकेट कोर्ष) पास गर्न सफल अफिसियल हुन् । अहिलेसम्म कुनै पनि नेपाली  आइटिओ परीक्षा पास गर्न सफल भएका थिएनन् । 

आईबिएको नियमानुसार बक्सिङ खेल सञ्चालनार्थ महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने टेक्निकल डेलिगेट, डेपुटी टेक्निकल डेलिगेट्स, ड्र कमिस्नर, रिङ्ग साईड डाक्टर, कट टेक्निसियन, रेफ्री जज ईभेलुएटर, रेफ्री जज कोर्डिनेटर, अवर्जवर तथा ईक्विपमेन्ट मेनेजरलाई आईटिओज मानिन्छ ।

पन्त र मैनाली दुवैले सन् २०१९ मा नेपालमा आयोजित १३ औ दक्षिण एसियाली खेलकुद अन्तर्गत बक्सिङ खेलको रेफ्री तथा जजको भूमिका समेत निर्वाह गर्नुभएको थियो । आईबिएले सञ्चालन गरेको उक्त टू स्टार रेफ्री जज परीक्षामा नेपाल सहित विभिन्न देशहरूबाट १६ जना परीक्षार्थीहरू सहभागी थिए ।