• १३ साउन २०८१, आइतबार

तोरी ‘बुकिङ’ गर्न किसानका खेतमै पुग्न थाले उपभोक्ता

blog

किसानका खेतमा पाक्नै लागेको तोरी । तस्बिर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला

उर्लाबारी, माघ २९ गते । शुद्ध तेल उपभोग गर्ने सहरी उपभोक्ताहरू किसानका खेतमै पुगेर तोरी ‘बुकिङ’ गर्न थालेका छन् । भान्सामा प्रयोग हुने अशुद्ध तेलका कारण अनेक रोग लाग्ने बुझाइले उपभोक्ताहरू तोरी बुकिङ गर्न खेतमा पुग्नेगरेका हुन् । 

मोरङको कानेपोखरी गाउँपालिकाले सङ्घीय सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना साना व्यवसायी बाली उत्पादन कार्यक्रम अन्तर्गत तोरी पकेट कार्यक्रम सञ्चालन गरेको छ । ५० प्रतिशत अनुदानमा सञ्चालन भएको कार्यक्रम अन्तर्गत पालिकामा ५६ बिघामा तोरीखेती भएको छ । 

साना किसानका लागि लक्षित तोरी उत्पादन कार्यक्रमबाट मात्र होइन । व्यावसायिक किसानले पनि गहुँखेती घटाएर तोरी लगाउने गरेका छन् । जसले गर्दा कानेपाखरी गाउँपालिका क्षेत्रमा तोरीको उत्पादन विगत वर्षको तुलनामा दोब्बर भएको पालिकाका कृषि शाखा प्रमुख सागर पौडेलले बताउनुभयो । पौडेलका अनुसार पालिकामा पालिकाभित्र ३५ सय हेक्टर जग्गामा तोरीखेती भएको छ । सामान्यतया प्रतिहेक्टर २७ देखि ३० मन तोरी उत्पादन हुने पौडेलको भनाइ छ । 

कानेपोखरी –३ हरकपुरका तोरी उत्पादक किसान हेमचन्द्र भण्डारीले भन्नुभयो, “साढे ३ बिघामा तोरी लगाएको छु । २५ मन बोटैबाट बिक्री भइसक्यो । अहिले धमाधम तोरी उखेल्ने क्रम चलिरहेको छ ।” खासगरी बजार क्षेत्रबाट आउने ग्राहकले मूल्यभन्दा शुद्धतालाई प्राथमिकता दिँदा यो वर्ष पनि तोरीको मूल्य बढ्ने किसानको भनाइ छ । 

दैनिक सहरी उपभोक्ता खेतमै आउँछन् र आफूलाई आवश्यक परिमाणका लागि पेस्की नगद नै छोडेर जान्छन्, भण्डारीले भन्नुभयो । अर्का किसान जर्मेन टुडुले डेढ बिघामा तोरी लगाउनुभएको छ । आफ्नो जमिन नभएका जर्मेनले अधियाँ तिरेर पनि १० मन जति बिक्री गरिसकेको बताउनुभयो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना साना व्यवसायी बाली उत्पादन कार्यक्रम अन्तर्गत तोरी पकेट कार्यक्रम वडा १ को नहरटोलमा सञ्चालन भएको छ । जुनतारा कृषक समूहका २६ किसानले १८ बिघामा लगाएको तोरी उत्पादनका दृष्टि अत्यन्तै राम्रो रहेको कृषि शाखा प्रमुख सागर पौडेलले बताउनुभयो । त्यस्तै, मेहनती कृषि सहकारी संस्थाका ५५ किसानले ३८ बिघामा तोरी खेती गरेका छन् । 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले भन्नुभयो, “किसानले उत्पादन गरेको तोरी ब्रान्डिङ गर्न यो वर्ष गाउँपालिकाले ७ हजार बोरा किसानलाई निःशुल्क वितरण गर्नुभएको छ । किसानको उत्पादन जहाँ पुगे पनि हाम्रो पालिकाको स्टिकर लागेको बोरामा पुगोस् भन्ने हाम्रो उद्देश्य हो ।”

पालिकाका अध्यक्ष राजमति इङ्नामले भन्नुभयो, “कृषि उत्पादनलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ, सडक र पूर्वाधार निर्माणमा बजेट खर्च गर्दा परनिर्भरता बढाइरहेको छ । त्यसैले कृषि उत्पादन, दूध र पशुपालन कार्यक्रमलाई प्राथमिकतामा राखेका छौँ ।” सशर्त अनुदानको १२ लाख रुपियाँले तोरीखेती विस्तार र उत्पादनमा वृद्धि भएको छ ।