• १८ असार २०८१, मङ्गलबार

स्वीकृत दरबन्दीअनुसार कर्मचारी खटाउन मन्त्री मोदीको निर्देशन

blog

गोरखापत्र अनलाइन

काठमाडौं, माघ २९ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृत दरबन्दीअनुसार मात्रै कर्मचारी खटाउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । मन्त्रीको निर्देशनअनुसार सामान्य प्रशासन मन्त्रालयले अन्य मन्त्रालयलाई पत्राचार गरेको छ । 

स्वीकृत दरबन्दी भएका सहसचिवलाई काम नदिने तर तल्लो तहका उपसचिवहरूलाई शक्तिको आडमा काममा लगाउने पाइएपछि सामान्य प्रशासन मन्त्रालयले ७ दिनभित्र दरबन्दी अनुसारकै कर्मचारी खटाउन पत्राचार गरेको हो । 

सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्ता रुद्रसिंह तामाङले पत्राचार गर्दै भन्नुभएको छ, ‘कतिपय निकायमा स्वीकृत दरबन्दीको पदमा मुनिको कर्मचारीलाई खटाइएको पाइएको हुँदा यो परिपत्र जारी भएको मितिले ७ दिनभित्र स्वीकृत दरबन्दीअनुसारकै कर्मचारी खटाई यस मन्त्रालयलाई जानकारी गराउनु होला ।’

सहसचिवको दरबन्दी भएको स्थानमा उपसचिवबाट काम चलाउने, उपसचिवको दरबन्दी रहेको प्रमुख प्रशासकीय अधिकृत पदमा निमित्तबाट काम चलाउनेजस्ता विकृति देखिएको मन्त्रालयको बुझाई छ । 

मन्त्री मोदीले निजामती सेवा ऐनको व्यवस्थाअनुसार न्यूनतम सेवा अवधि पूरा नभएका कर्मचारीलाई सरुवा गर्नुपरेमा मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था गर्न पनि निर्देशन दिनुभएको छ ।