• १३ असोज २०८१, आइतबार

रुम्जाटार गोल्ड कपको उपाधि युनाइटेडलाई

blog

शेरबहादुर राई

ओखलढुङ्गा, माघ २८ गते। ‘घुमिफिरी रुम्जाटार’ पूर्वी पहाडकै प्रसिद्धस्थल रुम्जाटारमा आयोजना गरिएको रुम्जाटार गोल्ड कपको उपाधि आयोजक रुम्जाटार युनाइटेडले जितेको छ। शनिबार भएको फाइनल खेलमा रक्तमाला ज्ञानमाला क्लब सिद्धिचरण नगरपालिका–५ लाई ४–१ गोल अन्तरले पराजित गर्दै युनाइटेडले उपाधि जितेको हो। 

प्रतियोगितामा रक्तमाला ज्ञानमाला क्लब उप विजेता भएको छ। मानेभञ्ज्याङ भेट्रान्स र मानेभञ्ज्याङ स्पोर्टस् क्लबबीच तेस्रो स्थानका लागि भएको खेलमा भेट्रान्स १२–६ गोल अन्तरले विजयी भएको आयोजक रुम्जाटार युनाइटेडका सचिव प्रकाश कटुवालले जानकारी दिनुभयो। 

प्रतियोगितामा विजयी टिमलाई नगद एक लाख ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको रुम्जाटार युनाइटेडका उपाध्यक्ष अभिनन्दन गुरुङले बताउनुभयो। 

उपविजेतालाई नगद एक लाख र तेस्रोले नगद ५० हजारसहित मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको गुरुङको भनाइ छ। 

माघ २१ गतेबाट सुरु भएको प्रतियोगितामा ओखलढुङ्गा, सोलुखुम्बु र रामेछापका २४ टिमको सहभागिता रहेको थियो। रुम्जाटारको विकास र पर्यटन प्रवर्धनका लागि रुम्जाटार गोल्ड कप फुटबल खेल आयोजना गरिएको हो।