शशिधर पराजुली
विराटनगर, चैत २१ गते । कोशी प्रदेश सरकारले ल्याएको ‘आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई पत्रकारहरूको सुझाव र सहमतिअनुसार संशोधन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
विगतमा पत्रकार र सञ्चारमाध्यमलाई भारी जरिवाना गर्ने र प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान राखिएको भन्दै चौतर्फी विरोध भएपछि प्रदेशसभाले यो विधेयक पुनः न्याय प्रशासन तथा विधायन समितिमा पठाएको थियो ।
विधेयकमाथि दफावार छलफल गर्न शुक्रबार र शनिबार समितिको बैठक बसेको छ । नेपाल पत्रकार महासंघ कोशी प्रदेश र सम्बद्ध पत्रकार संगठनहरूको कार्यदलले बुझाएको न्यूनतम साझा सुझावका आधारमा समितिमा सकारात्मक छलफल भइरहेको छ ।
पत्रकारहरूले मुख्य रूपमा प्रेस रजिष्ट्रारको एकल निर्णय गर्ने अधिकारलाई कटौती गरी ‘आमसञ्चार प्रतिष्ठान’ को बोर्ड वा समितिलाई सामूहिक निर्णय गर्ने भूमिका दिनुपर्ने माग गरेका छन् ।
यसैगरी, प्रेस रजिष्ट्रारको योग्यता स्पष्ट हुनुपर्ने, विधेयकमा प्रस्ताव गरिएका दण्ड जरिवानाका प्रावधानहरू हटाएर प्रचलित संघीय कानुन बमोजिम हुने व्यवस्था राख्नुपर्ने र समाचारका कारण मर्का परेमा ‘पीडित स्वयं’ले मात्र उजुरी गर्न पाउने व्यवस्था सुनिश्चित गर्न पत्रकारहरूले जोड दिएका छन् ।
यसअघिको मस्यौदामा ‘जोसुकैले’ उजुरी दिन सक्ने र रजिष्ट्रारलाई असिमित अधिकार दिने व्यवस्था थियो, जसको पत्रकार महासंघले कडा विरोध गर्दै आएको थियो ।
कुनै पनि समाचार प्रकाशन वा प्रसारण हुनुअगावै रोक लगाउन नमिल्ने संवैधानिक हकविपरीतका सबै प्रावधानहरू हटाउन पनि पत्रकारहरूले सुझाव दिएका छन् ।
समितिका सभापति कमला दर्नालले पत्रकारहरूले उठाएका जायज मागहरूलाई सम्बोधन गर्ने गरी नै छलफल अघि बढेको जानकारी दिनुभयो ।
“हामी सकेसम्म आजै संशोधनमाथि निर्णय गरी प्रतिवेदन तयार पार्छौं र भोलि बस्ने प्रदेशसभा बैठकमा पेस गर्ने तयारीमा छौं,” सभापति दर्नालले भन्नुभयो ।
विगतमा संविधानको मर्मविपरीत दफा ७ (ज), २६, २७, ३०, ५२ र ५४ मा पत्रकारलाई २५ हजारदेखि १ लाखसम्म जरिवाना गर्ने र सञ्चार संस्थालाई कालोसूचीमा राख्नेसम्मका कडा प्रावधान राखिएका थिए ।
सोही कारण पत्रकार महासंघ कोशी प्रदेश आन्दोलनमा उत्रिएको थियो । अहिले सरकार र संसदीय समिति लचिलो बनेपछि पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी हुने गरी विधेयक परिमार्जन हुने अपेक्षा गरिएको नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष भरत खड्काले जानकारी दिनुभयो ।