• १३ साउन २०८१, आइतबार

अटो मोबाइल्स विलासिताको वस्तु होइन: अर्थमन्त्री पौडेल

blog

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल । फाइल तस्बिर

काठमाडौं, माघ २८ गते । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटो मोबाइल्स विलासिताको वस्तु नभई आवश्यकताको वस्तु भएको बताउनुभएको छ । शुक्रबार नाडा अटो मोबाइल्स एसोसिएसन नेपालको ४६ औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्नुहुँदै मन्त्री पौडेलले अटोमोबाइल्सलाई विलासिताको वस्तुको परिभाषा गर्न नहुने बताउनुभएको हो ।

उहाँले राज्यले सडक पूर्वधारमा अर्बौँ लगानी गरेको भन्दै त्यसमा गुड्ने साधनलाई सरकारले विलासिताको ट्याग लगाउन नमिल्ने धारणा राख्नुभयो । मन्त्री पौडेलले लामो समयदेखि अटोमोबाइल्सलाई विलासिताको वस्तुको परिभाषा नगर्न नाडा अटो मोबाइल्स एसोसिएसनले गर्दै आएको मागमा सरकार गम्भीर रहेको भन्दै आवश्यकता अनुसार परिवर्तन हुँदै जाने बताउनुभयो ।

अर्थमन्त्री पौडेलले अटोमोबाइल्समा विलासिताका सवारी साधन भए पनि अटोमोबाइल्स विलासिताको वस्तुको रूपमा परिभाषा गर्नु हुँदैन भन्ने विषयमा कुनै दुबिधा हुन नसक्ने बताउनु भयो । उहाँले एक समयमा मोबाइल फोनको प्रयोग विलासिताको वस्तु मानिने भए पनि अहिले मोबाइल फोन अपरिहार्य वस्तुभित्र परिरहेको भन्दै अटोमोबाइल्स पनि अपरिहार्य वस्तुको रूपमा समय अनुसार परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो ।

अर्थमन्त्री पौडेलले विद्युतमा आत्मनिर्भर भई निर्यातको अभ्यास गरिरहेकाले विद्युतीय गाडीको प्रयोग बढाउन नेपालको आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाललाई गुणस्तरीय विद्युतीय सवारी मात्रै आयात र प्रयोग गर्ने वातावरण बनाउन आवश्यक रहेको दाबी गर्नुभयो । उहाँले नेपालमा विद्युतीय थोत्रा सवारीको आयात र प्रयोग रोक्ने चुनौती रहेको उल्लेख गर्नुभयो ।

विद्युतीय सवारीको प्रयोग बढाउन आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनुहुँदै मन्त्री पौडेलले नेपाली बजार गुणस्तरीय विद्युतीय सवारीको आयत लागि मात्र खुला रहेको उल्लेख गर्नुभयो । उहाँले अर्थतन्त्रका बाह्य क्षेत्रमा सकारात्मक परिवर्तन भइरहेपनि केही सूचक जोखिममा रहेकाले राज्यका बाध्यात्मक अवस्थाबारे निजी क्षेत्रले बुझ्न आवश्यक रहेको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘‘विद्युतीय सवारी साधनको आवश्यकता प्रतिदिन बढ्दै गएको छ । नेपाललाई गुणस्तरीय विद्युतीय सवारी मात्रै आयात र प्रयोग गर्ने वातावरण बनाउनुपर्छ । थोत्रा सवारीको आयात र प्रयोग रोक्ने चुनौती रहेको छ । विद्युतीय सवारीको प्रयोग बढाउन आवश्यक सहयोग गर्न सरकार तयार छ । तर, नेपाल पुराना र थोत्रा सवारीको उद्गमस्थल बन्नबाट रोक्नुपर्छ । नेपाली बजार गुणस्तरीय विद्युतीय सवारीको आयत लागि मात्र खुला छ भन्ने स्पष्ट पार्न चाहन्छु । विद्युतीय सवारीको आयात र प्रयोग गर्ने निहुँमा गुणस्तरहीन आयत रोक्नुपर्छ ।’’

त्यस्तै, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले नयाँ सरकार आएसँगै उत्साह थपिएको बताउनुभयो । उहाँले राज्यलाई सबैभन्दा बढी राजश्व तिर्ने क्षेत्र अटोमाबाइल्स रहेको जानकारी दिनुभयो । उहाँले अटो व्यवसायीहरूले एउटा सवारी साधन आयात गरेर नेपाल ल्याउँदा सरकारका ६ वटा निकायमा वर्षको कर बुझाउनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले राज्यलाई अटोमाबाइल्स क्षेत्रबाट मात्रै २१ प्रतिशत राजश्व बुझाउने गरेपनि राज्यले अटोमोबाइल्स क्षेत्रलाई सहयोग नगरेको गुनासो गर्नुभयो ।वर्तमान सरकार आएपश्चात् व्यवसायी उत्साही बनीपने अटो व्यापार ८० प्रतिशतले घटेको उहाँको भनाइ छ ।

उहाँले अटो व्यापार ८० प्रतिशतले घटेको तर बैङ्कको ब्याजदर भने ७ प्रतिशतबाट १६ प्रतिशतमाथि पुगेकाले व्यवसायीहरू मारमा परिरहेको बताउनुभयो ।