• १३ साउन २०८१, आइतबार

घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्छुः पर्यटनमन्त्री किराँती

blog

नेपाल पर्यटन बोर्डले शुक्रबार आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संस्कृतिमन्त्री सुदन किराँती । तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौं, माघ २७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलको जस्तै अन्य घुस प्रकरणहरू सार्वजनिक हुँदै जाने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किराँतीले यस्तो बताउनुभएको हो ।

उहाँले मन्त्रीलाई पैसा बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घुस मागेकाले त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरिएको बताउनुभयो । मन्त्री किराँतीले महाप्रबन्धक ठाकुरले थाई स्माइल एयरलाइन्ससँग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौ घुस लिने गरेकाले निलम्बन गरेको बताउनुभयो ।

मन्त्री किराँतीले अहिलेसम्मका कुन–कुन मन्त्रीले पैसा लिने गरेको हो भन्ने कुरा स्पष्ट पार्नुपर्ने बताउनुभयो । उहाँले आफूले कसैको पनि एकपैसा नखाने भन्दै कसैले त्यस्तो गरेको थाहा पाए तत्काल कारबाही गर्ने चेतावनी दिनुभयो ।

उहाँले मन्त्री वा जिम्मेवार निकायको कुर्सीमा बसेर देशलाई धोका दिन नहुने बताउनुभयो । मन्त्री किराँतीले कोही घुस खानका लागि मन्त्री हुन आए उसलाई जनताले सजाय दिने जानकारी दिनुभयो । उहाँले आफूलाई पैसा नचाहिएको भन्दै कर्मचारीबाट पारदर्शी काम चाहिएको बताउनुभयो ।

‘‘सुविधामा होडबाजी गर्ने काममा राजनीतिक हस्तक्षेप भएर मात्रै नभएको हो त होइन । यो मन्त्रीले पैसा खाँदैन । मन्त्रीलाई पैसा मन पर्दैन । ढुक्कसँग काम गर्नुस् । सरकारले अप्रिय निर्णय आज मात्रै गरेर आउनुपर्‍यो । विमानस्थलको निर्देशकलाई भर्खरै निलम्बन गरेर आए । मन्त्रीलाई पैसा दिनुपर्ने भन्दै असुल्ने रहेछ । त्यही पनि थाइल एयरलाइन्सलाई करोडौं रुपैयाँ अब अरु पनि आउँछ, खुल्दै जान्छ । मन्त्रीलाई पैसा बुझाउनुपर्ने,कहिले कहिले बुझाइयो । को–को लाई बुझाइयो । त्यो स्पष्ट हुनुपर्छ ।,’’ मन्त्री किराँतीले भन्नुभयो, ‘‘पैसा खानको निम्ति मन्त्री आएको हो भने जनताले सजाय गर्नुपर्छ । कुर्सीमा बसेर देशलाई धोका दिन पाइँदैन । कृपया कसैको पैसा चाहिँदैन । तपाईहरुले आफ्नो क्षमता योग्यता प्रदर्शन गर्नुस् । सञ्चालक समितिका साथीहरु नीतिमा काम गर्नुस् । कर्मचारी जस्तो नहुनुस् । तपाईहरुलाई नीति बनाउन पठाएको हो । कि तपाईहरुको पनि पार्टी मिलेन पार्टी फुट्यो । सञ्चालक समितिमा त्यस्तो होइन होला । यहाँ पनि विदेशी चलखेल के हुन्छ त्यहाँ भन्नुस् त ? कर्मचारीले पनि आफ्नो काम गर्नुपर्‍यो । आर्थिक अनुशासन हुनुपर्छ ।’’

उहाँले पर्यटन क्षेत्रमा काम गर्दा  १० ठाउँमा गएर १० वटा संरचनामा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्ने बताउनुभयो । मन्त्रीले सुशासन विधिको शासनभन्दा बाहिर कोही चल्न नसक्ने बताउनुभयो ।

पर्यटन उद्योगलाई धान्ने निजी क्षेत्र भएकाले पर्यटन बोर्डका नीतिले निजी क्षेत्रलाई सहजता दिनुपर्ने उल्लेख उहाँले गर्नुभयो । पर्यटन बोर्डको नीतिले निजी क्षेत्रलाई  असहजता भइरहेको छ मन्त्री किरातीले प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधन र सचिवहरुलाई दिएको निर्देशनको एकीकृत कार्ययोजना पर्यटन मन्त्रालयले तयार पारेको बताउनुभयो ।

‘‘पर्यटन व्यवसायीहरु समस्यामा छन् । पर्यटन व्यवसायीहरु ऋणको पासोमा छन् । उनीहरुको पीडा राज्यले नसुनिदिएको र राज्यले केही नगरेको जस्तो अन्याेल कसरी हुँदैछ । अहिले सानो दियो क्षितिजमा बलेको छ । पर्यटन मन्त्रालयले एकीकृत कार्ययोजना प्रधानमन्त्रीलाई बुझाएको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधन र सचिवहरुलाई दिएको निर्देशनको एकीकृत कार्ययोजना बन्दैछ । १० ठाउँमा गएर १० वटा संरचनामा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्छौं । सुशासन विधिको शासन भन्दा बाहिर हामी चल्न सक्दैनौं । चल्ने छुट पनि हामीलाई छैन । पर्यटन उद्योगलाई धान्ने निजी क्षेत्र नै हो । पर्यटन बोर्डका नीतिले निजी क्षेत्रलाई कतिको सहज र असहज मलाई लाग्छ सहज मान्नुभएको छैन ।’’

मन्त्री किराँतीले २० लाख पर्यटक भित्र्याउनेगरी कार्ययोजना ल्याउन पर्यटन बोर्डलाई निर्देशन दिनुभयो । उहाँले पर्यटन प्रवर्द्धनका लागि चलाइएको अभियानअन्तर्गत कति पर्यटक भित्रियो भन्ने यकिन तथ्याङ्क बोर्डले दिनुपर्ने उल्लेख गर्नुभयो । मन्त्री किरातीले कर्मचारीलाई हेरफेर गरेर आतङ्कित मच्चाउने पक्षमा नभएको भन्दै कर्मचारको कार्ययोजना अनुसार काम आवश्यक रहेको बताउनुभयो ।