• ५ पुस २०८२, शनिबार

फोनिज संघीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न

blog

गोरखापत्र अनलाइन

पोखरा, पुस ५ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को तेस्रो पूर्ण बैठक पोखराको कालाबाङ घरेडी सामुदायिक होमस्टेमा सम्पन्न भएको छ । शुक्रबारदखि सुरुभएको बैठक शनिबार सम्पन्न भएको हो । 

पोखरा महानगरपालिका वडा २२ मा रहेको कालावाङ घरेडी सामुदायिक होमस्टेमा भएको बैठकले विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो । बैठकले फोनिजको गतिविधिलाई थप सशक्त बनाउँदै अघि बढ्ने निर्णय गरेको छ । बैठकले विगतको गतिविधिको समीक्षा गर्दै आगामी दिनमा थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

बैठकमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षबारेमा अध्ययन समिति गठन गर्न महासंघलाई पुनः दवाव दिने निर्णय गरेको छ । पटक पटक ज्ञापनपत्र र अल्टिमेटम दिँदासमेत महासंघको महाधिवेशनले दिएको म्यान्डेट समेत कार्यान्वयन नगर्दा फोनिजले खेद प्रकट गर्दै अब निर्णायक संघर्ष गर्ने निर्णय गरेको छ । महासंघ गम्भीर नबने महासंघको कार्यालयमा देशव्यापी तालाबन्दी गर्नेसम्मको कार्यक्रम अघि बढाउने फोनिज संघीय समितिमा छलफल भएको छ ।


सोहीअनुसार फोनिजकर्मीको क्षमता बृद्धिका लागि राष्ट्रिय स्तरको कार्यशाला गोष्ठी, प्रशिक्षणमूलक कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ । फोनिजलाई संगठनात्मक रुपमा चुस्त बनाउन कार्ययोजनासहित गतिविधि अघि बढाउने निर्णय गरेको छ । मातृभाषा पत्रकारितालाई प्रवर्धनमा अभियान चलाउने बैठकमा छलफल भएको छ ।

फोनिजका अध्यक्ष लक्की चौधरीको अध्यक्षतामा भएको बैठकमा सल्लाहकार डण्ड गुरुङले संगठनात्मक कामलाई केन्द्रमा राखेर इमान्दारितापूर्वक काम गर्न सुझाव दिनुभयो । फोनिज बलियो भएमा मात्र आदिबासीको अधिकारको सवाल बलियो गरी उठ्ने भन्दै उहाँले फोनिज आदिबासी समुदायको प्रवक्ताको भूमिकामा रहेको बताउनुभयो । 

फोनिजका सल्लाहकार उजीर मगरले तत्कालीन अनिज र हालको फोनिज स्थापनामा आफूहरुको ठुलो संघर्ष र मेहनत भएकाले यसको गरिमा कायम गर्नेगरी गतिविधिहरु गर्न सुझाव दिनुभयो । फोनिज संस्था आदिबासीको शक्ति भएको बताउँदै उहाँले संगठनात्मक गतिविधिलाई बलियो बनाउन सामुहिकताको खाँचो रहेको बताउनुभयो । २०५६ साउन २७ गते तत्कालीन अनिज नामबाट स्थापना भए पनि अहिले फोनिज फैलिएर ठुलो शक्तिको रुप लिएकोमा खुशी व्यक्त गर्नुभयो । 


फोनिज संघीय अध्यक्ष लक्की चौधरीले फोनिजको गतिविधि आदिबासीको अधिकारको पैरवी, पत्रकारिताको विकास, अभिव्यक्ति स्वतन्त्रता र जिम्मेवार तथा समावेशी पत्रकारिता प्रवर्धनमा केन्द्रित रहेको बताउनुभयो । आगामी दिनमा फोनिजलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । 

बैठकमा फोनिजका सल्लाहकार शान्ति गुरुङ, फोनिजका पदाधिकारी, प्रदेश कमिटीका अध्यक्ष तथा इन्चार्ज, जातीय पत्रकार संस्थाका अध्यक्षहरुले आफ्नो गतिविधि र संघीय समितिलाई सुझावसहितको धारणा राख्नुभएको थियो । 

फोनिजका सल्लाहकारहरु, फोनिज संघीय समितिका पदाधिकारी तथा सदस्यहरु, काठमाडौं उपत्यकासहितको विशेष समन्वय समिति, सातवटा प्रदेश कमिटी, गण्डकी प्रदेशका जिल्ला अध्यक्षहरुगरी ६५ जनाको सहभागिता थियो । तेस्रो पूर्ण बैठकले कास्की घोषणापत्र समेत जारी गरेको छ । 

२६ वर्षअघि स्थापना भएको फोनिजमा देशभर ६६ जिल्ला शाखा, ८ विदेश शाखा, काठमाडौं उपत्यकासहित ८ प्रदेश कमिटी, आठ जातीय पत्रकार संस्था गरी साढे चार हजार आदिबासी जनजाति पत्रकार आवद्ध छन् ।