• ४ पुस २०८२, शुक्रबार

नेपाल–भारत पर्यटन प्रवद्धनात्मक भ्रमण टोली बागलुङमा

blog

शालग्राम संग्राहलयको अवलोकन गर्दे भारतीय पर्यटकहरु । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, पुस ४ गते ।
भारतीय पर्यटकलाई देशकै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका मन्दिर र शालग्राम संग्राहलयको महत्त्वबारे पर्यटकलाई जानकारी गराइएको छ । दोश्रो नेपाल–भारत पर्यटन प्रवर्धनात्मक भ्रमण अभियानमा आउनुभएका विभिन्न क्षेत्रका पर्यटन व्यवसायीलाई बागलुङ कालीका र शालिग्राम संग्राहलय भ्रमण गराइएको हो ।

पोखरा पर्यटन परिषदको अगुवाइमा गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका, पर्यटन बोर्डले बागलुङ नगरपालिका र नगर पर्यटन समितिको सहकार्यमा भ्रमण कार्यक्रम गरेको हो ।

अभियानको शुभारम्भ गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पर्यटकीय क्षेत्रलाई प्रचार प्रसार गरेर मात्र चिनाउन सकिने बताउनुभयो । बागलुङ कालीका मन्दिर र शालिग्राम संग्राहलय पर्यटकका लागि निधी भएको धारणा व्यक्त गर्नुभयो ।  

कार्यक्रममा बागलुङ नगर पर्यटन समितिका अध्यक्ष राजु खड्काले बागलुङलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन भारतीय पर्यटक अधिकतम बढाउन सकिने बताउनुभयो । त्यसका लागि कालीका भगवती गुठी, शालिग्राम संग्राहलय र पञ्चकोटले बनाउने योजना महत्त्वपूर्ण हुने बताउँदै खड्काले गलकोट, ढोरपाटन र बलेवा कालभैरव मन्दिर पनि पर्यटक आकर्षित गर्ने स्थान भएको बताउनुभयो ।

भ्रमण अभियानको पहिलो चरणमा भारतका प्रसिद्ध पर्यटन व्यवसायी, सिनेकर्मी र भ्लगर सञ्चालक आउनुभएको हो । उहाँहरुलाई शालिग्राम संग्राहलयमा ऋषि प्रपन्नाचार्यले स्वागत गर्दै संग्राहलयको महत्व दर्शाउनुभएको थियो । दक्षिण भारतका नागरिकले पूजा गर्ने शालीग्रामलाई संग्रह गरिएको प्रपन्नाचार्यले बताउनुभयो ।

संग्राहलयमा एक लाख १५ हजार बढी शालिग्राम संग्रह गरिएको छ । संग्राहलयको भ्रमणपछि टोलीका अगुवा अनिरुद्ध रावलले अदभुत संग्रह देखेर खुसी लागेको प्रतिक्रिया दिनुभयो ।

यो अभियानलाई पोखरा पर्यटन परिषदका महासचिव जीवनराज सापकोटाले अगुवाई गर्नुभएको हो । पोखराको अभियानमा आएको टोलीलाई धौलागिरि क्षेत्र र गण्डकी प्रदेशका सबै स्थानको भ्रमण गराउन लागिएको सापकोटाले जानकारी दिनुभयो । टोलीले पर्वतको मोदीवेणी धाम, पोखराको बेगनास, तनहुँको बन्दीपुर भ्रमण गरिसकेको छ ।