• १३ साउन २०८१, आइतबार

पहिचानसँगै राम्रो व्यवसायमा जम्दै केडी कटेज

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, माघ २७ गते । पश्चिम म्याग्दीको मंगला गाउँपालिका –२ सिमलचौरका ३६ वर्षीय अशोक शर्मा र उहाँका भाइ ३० वर्षीय जीवन शर्माले २०७२ देखि केडी कटेज सुरु गर्नुभयो । राहदानी बनाएर तयारी राखेको समयमा पनि साथीहरुले छाडेर विदेश गएपछि केही समय पर्खदै गर्दा २०७२ मा भुकम्प आयो । त्यसपछि विदेश जाने मुड नै उहाँहरुको परिवर्तन भयो । त्यसपछि उहाँहरुले शुरु गर्नुभयो केडी कटेजमार्फत् व्यवसाय । 

बाबा खगराज पौडेल र आमा डिलकुमारी पौडेलका दुई सन्तान अशोक र जीवन दाजुभाइले २०७२ फागुन देखि आफ्नै व्यवसाय सुरु गर्नुभएको हो । पश्चिम म्याग्दीमा आफ्नो पहिचान बनाएको व्यवसायमा मुख्य रुपमा साविकको धौलागिरि भित्रका चार जिल्लाका पाहुनालाई आफूहरुले स्वागत गर्नेगरेको अशोक शर्माले बताउनुभयो । 


तीन रोपनी क्षेत्रफलमा रहेको कटेजको आफ्नै माछा पोखरी पनि छ । एक रोपनीमा फैलिएको माछा पोखरीमा उत्पादित माछा नै पाहुनाको मुख्य आकर्षण रहेको उहाँको भनाइ छ । एक पटकमा चार हजार भुरा हाल्ने गरेको पोखरीमा रहु, कमनकार्प, ग्रास कार्प तथा स्थानीय जातको असला माछा पाइने सञ्चालक अशोकले बताउनुभयो । 

१० लाख लगानीमा २०७२ मा सुरु भएको व्यवसायमा अहिले डेढ करोडभन्दा बढी लगानी भैसकेको अर्का सञ्चालक जीवनले बताउनुभयो । भौतिक पूर्वाधार निर्माण तथा प्रचार प्रसार लगायतका अन्य व्यवस्थापनमा उक्त रकम खर्चिएको उहाँको भनाइ छ । आफ्नै कटेजको कम्पाउण्डभित्र रहेको माछाको परिकार, खानामा स्थानीय जेठोबुढो धानको चामलको भात लगायतका करिब सबैजसो आफ्नै उत्पादन आफ्नोमा आउने पाहुनालाई खुवाइने उहाँको भनाइ छ । 

स्नातक तह अध्ययन सक्नुका साथै तालिम प्राप्त कुक समेत रहेका जीवन कटेजमा पूर्णकालीन रुपमा कार्यरत हुनुहन्छ । त्यस्तै दाजु अशोक तथा अन्य चार जना पूर्णकालीनहरु कार्यरत रहेको कटेजमा बैकल्पिक रुपमा दुई जना अन्य पनि काम गर्ने गर्नुहुन्छ । बाबाआमाले पनि पूर्णरुपमा सहयोग र रेखदेख गर्ने गर्नुभएको उहाँले बताउनुभयो । 

व्यवस्थापन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको जेठो छोराले कुनै बैंकमा जागिर खाए हुने भन्ने चाहना भएको भए पनि पछिल्लो समय आफ्नै परिवार मिलेर गरेको व्यवसायबाट सन्तुष्टि मिलेको बुवा खगराज शर्माले बताउनुभयो । 

केडी कटेजमा घरबास (होमस्टे) शैलीका चार एट्याच रुम छ भने एक सय ५० जना अट्ने क्षमता भएको सभाहल पनि छ । त्यस्तै एकै पटक एक सय जनालाई खाना खुवाउन मिल्ने क्षमताको डाइनीङ हलसहितको सुविधा भएकाले पार्टी, ब्रतबन्ध तथा बिबाह एवम् सेमिनारहरु गर्न पनि एकान्त अनि यातायातको पनि सुविधासहितको व्यवस्था रहेको अशोकको भनाइ छ ।


युवाहरु विदेशीने क्रम बढ्दैगर्दा स्नातक तह उत्तीर्ण गरेका युवाहरु नै आफ्नै क्षेत्रमा व्यवसायमा लाग्नु सकारात्मक भएको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । युवाको सोच र व्यवस्थापन भएको खण्डमा व्यवसाय पनि राम्रो हुने उहाँले बताउनुभयो ।