नवीनराज कुइँकेल
लमजुङ, चैत २३ गते । लमजुङमा निर्माण सुरु गरिएको ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेँसी जलविद्युत आयोजनाको डिजाइन परिवर्तनपछि पुरक प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ ।
मर्स्याङ्दी बचाउ सङ्घर्ष समितिको बिरोधका बाबजुत पनि आयोजनाले आइतबार सार्वजनिक सुनुवाई कार्यक्रम गरि पुरक प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन स्थानीयमाझ सार्वजनिकरण गरेको हो । आयोजनाको प्रर्वद्धक दिव्यज्योती हाइड्रोपावर लिमिटेडले बेसीसहर नगरपालिका वडा १० र ६ र मस्र्याङ्दी गाउँपालिकाको वडा ८ र ९ स्थित मर्स्याङ्दी नदिमा ५० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्दैछ ।
आयोजना निर्माणले प्रभावित क्षेत्रमा पर्न जाने भौतिक तथा वातावरणीय प्रभावबारे स्थानीय सरोकारवालाहरुका बिच सार्वजनिक सुनुवाई सम्पन्न गरेको आयोजनाका म्यानेजर उमेश नेपालले बताउनुभयो । कम्पनीका सञ्चालक मिलन खड्काले जलविद्युत विकासमार्फत देशको समृद्धि सम्भव रहेको बताउनुभयो । यो आयोजना यस क्षेत्रको भाग्य र भविष्यसँग जोडिएकाले स्थानीयको सकरात्मक मागहरुलाई संबोधन गर्दै अघि बढ्ने बताउनुभयो ।
मर्स्याङ्दी गाउँपालिका–८ सिमलचौरमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङ, बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, बेंसीसहर नगरपालिका उपप्रमुख पद्मा गुरुङ, मर्स्याङ्दी गाउँपालिकाका उपाध्यक्ष जुना थापा, प्रभावित वडाहरु बेसीसहर–६ का वडाअध्यक्ष प्रकाश थापा, वडा १० का वडाध्यक्ष गंगा थपा, मस्र्याङ्दी–८ का वडाअध्यक्ष धनसिंह तामाङ, वडा ९ का वडाअध्यक्ष हरिश्चन्द्र थापालगायत अन्य वडाका वडाअध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सामुदायिक वनका प्रतिनिधिहरू, आयोजनाका प्राविधिक टोली तथा स्थानीयहरूको उपस्थिति रहेको थियो ।
यसअघि बेसीसहर नगरपालिकाको वडा ६ बेलौती विसौनीमा बाँध बाँधेर वडा १० को सालडाँडामा विद्युतगृह रहनेगरी डिजाइन गरिएकोमा बेंसीसहरबासीको विरोधपछि आयोजनापक्षले स्थान र डिजाइन परिवर्तन गरेको थियो । डिजाइन परिवर्तन भएपछि पुरक प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन तयार गरि सुनुवाई गर्नुपरेको आयोजनाले जनाएको छ ।
आयोजनाका सञ्चालक द्वारिका प्रसाद न्यौपानेका अनुसार नयाँ डिजाइन अन्र्तगत मस्र्याङ्दी गाउँपालिका–९ को बगैंचामा बाँध बाँधेर बेंसीसहर–१० भोटेफाँटमा विद्युतगृह बन्नेछ । यसअघि सुरुङमार्गको डिजाइन रहेकोमा अब पेनस्टक पाइप प्रयोग गरिने न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “आयोजनाले स्थानीयस्तरमा वातावरण र जनजीवनमा कम असर होस् भनेर सबै उपाय अपनाएका छौं । पुरानो डिजाइन परिवर्तन गरेका छौं ।”
कम्पनीका अनुसार यस आयोजनाबाट विद्युत उत्पादन भए पश्चात कम्पनीको आम्दानीको २ प्रतिशत र प्रति मेगावाट १ लाखका दरले वार्षिक ५० लाखगरि जम्मा साँढे तीन करोड रुपियाँ रोयल्टी बापत नेपाल सरकारलाई बुझाउनु पर्ने हुन्छ । सो रोयल्टी वापतको रकम आयोजना प्रभावित स्थानीय तहमा आउने प्रावधान रहेको छ । वातावरणीय असर मूल्याङ्कन प्रतिवेदनको प्रावधानअनुसार सामाजिक उत्तरदायित्वको कार्यको लागि सम्बन्धित निकाय सँग छलफल तथा परामर्श गरि प्रभावित क्षेत्रमा खानेपानी, मठमन्दिर, स्कूल तथा बाटो मर्मत र अन्य आवश्यक पुर्वाधार विकासमा सहयोग गर्ने आयोजनाले जनाएको छ ।
आयोजनाको डिजाइन र स्थान परिवर्तनपछि बेंसीसहर बजार क्षेत्रमा मर्स्याङ्दी नदी बग्न पाउने भएको छ । स्थान परिवर्तन गर्न आयोजना सहमत भएपछि यसअघि स्थानीयसँगै विरोधमा रहेका राजनीतिक दलहरुपनि आयोजना निर्माण गर्न दिन एकमत भएका थिए ।
रन अफदि रिभर प्रकृतिको यो आयोजना बन्न कुल लगानी करिब १० अर्ब रुपियाँ रहेको छ । यसमा ३० प्रतिशत इक्विटी लगानी प्रवर्धक समूहबाट र ७० प्रतिशत ऋण लगानी बैंकहरूबाट हुनेछ । आयोजना २ वर्ष ६ महिना भित्र व्यावसायिक उत्पादनमा आउने लक्ष्य राखिएको छ ।
आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत प्राधिकरणको उदिपुर सबस्टेशनमा जोडिनेछ, जसले राष्ट्रिय प्रसारण प्रणालीमा महत्वपूर्ण योगदान पु¥याउनेछ । आयोजनाले यतिबेला कार्यालय तथा मजदुर आवास, जग्गाप्राप्ती लगायत अन्य संरचनाका काम सुरु गरेको छ ।