• २३ चैत २०८२, सोमबार

'नसर्ने रोग न्यूनीकरण गर्न प्रदेशले प्रभावकारी काम गर्दैछ'

blog

सुजल श्रेष्ठ 

प्यूठान, चैत २३ गते । प्यूठान अस्पतालमा हेमोडायलाईसिस सेवा र नवजात शिशु बिशेष हेरचाह कक्ष (एसएनसीयु) सञ्चालनमा ल्याइएको छ । सोमबार एक कार्यक्रमकाबिच लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा मन्त्री सारुले नसर्ने रोगहरुको स्थिती भयावह भन्दै गएकोले खानपानमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । नसर्ने रोगहरुको उपचारमा व्यक्ति र राज्यको ठूलो धनराशि खर्च हुने गरेको उहाँले सुनाउनुभयो ।

नसर्ने रोगको न्यूनीकरण गर्न प्रदेशले अभियान नै सञ्चालन गरेको मन्त्री सारुले बताउनुभयो । ३० वर्ष उमेर माथीका करीब ५ लाख नगारिकको मधुमेह, उच्च रक्तचाप र मृगौला जाँच गरिएको उहाँले बताउनुभयो । प्रदेश सरकारले मुटु, मृगौला र क्यान्सरका बिरामीलाई प्रति व्यक्ति २ लाख रुपियाँ सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

विभिन्न निकायको सहयोगमा हेमोडायलाईसिस सेवा सञ्चालनमा ल्याइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुवास पौडेलले जानकारी दिनुभयो । लायन्स क्लव, प्रदेश  स्वास्थ्य मन्त्रालय, स्थानीय पालिकाहरु लगायतको सहयोगमा सेवा संचालनमा ल्याइएको हो । डायलाईसिस सेवा सञ्चालनका लागि ६ वटा बेड र ८ वटा मेसिन स्थापना गरिएको छ । 

शल्यक्रिया सहितको प्रसुति सेवा दिँदै आएको अस्पतालमा एसएनसीयु संचालनले नवजात शिशुको स्याहारमा थप गुणस्तरीय सेवामा महत्वपूर्ण सहयोग पुग्ने अस्पताल बिकास समितिका अध्यक्ष विजयविराज बिष्टले बताउनुभयो ।

जिल्लामा ८६ जना मिर्गौला रोगका बिरामी रहेका छ्न् । उनीहरुले जिल्ला बाहिरबाट सेवा लिनुपर्ने बाध्यता अब हट्ने अस्पतालले जनाएको छ ।

प्यूठानसँगै लुम्बिनी प्रदेशका रोल्पा र रुकुम पूर्व जिल्ला बाहेक १० वटै जिल्ला अस्पतालमा डायलाईसिस सेवा संचालनमा आएको प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गा लक्ष्मी श्रेष्ठले बताउनुभयो ।