• १३ साउन २०८१, आइतबार

सुरक्षा जाँच उपकरण व्यवस्था गर्न निर्देशन

blog

काठमाडौँ, माघ २७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँच उपकरण (स्क्यानर)को व्यवस्था गर्न निर्देशन दिनुभएको छ । बिहीबार बिहान विमानस्थलको अनुगमनमा पुग्नुभएका मन्त्री किराँतीले विमानस्थलमा पाँच सय ट्रलीको मूल्याङ्कन गरी आर्थिक प्रस्तावना तयार गर्न र ट्रलीका १५ सय चक्कालगायत पार्टपुर्जा खरिद गर्न निर्देशन दिनुभयो । 

विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताउनुभयो । यसअघि निर्देशन भएअनुसारका काम अघि बढाउन उहाँले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “यो नै पूर्ण सुधार होइन तर पहिलेभन्दा क्रमिक रूपमा सुधार भएको छ । यसबाट म आंशिक सन्तुष्ट छु । चौबिसै घण्टा खटेर विमानस्थललाई सुन्दर बनाउने मजदुर (ब्युटिसियन)हरूलाई विशेष धन्यवाद छ ।”

अनुगमनका क्रममा उहाँले विमानस्थलको भित्री र बाहिरी कक्ष, शौचालय, आगमन कक्षको अवलोकन गर्दै व्यवस्थित र सुरक्षित राख्न निर्देशन दिनुभयो । सेवाग्राहीको सहजता नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुहुँदै उहाँले हरेक ३० मिनेटमा शौचालयको अनुगमनको व्यवस्था गर्नसमेत विमानस्थल व्यवस्थापनलाई निर्देशन दिनुभएको छ । 

विश्वविद्यालय खोल्न सकिन्छ 

मन्त्री किराँतीले नेपाल ट्रस्टको आम्दानीले पशुपति र लुम्बिनीमा विश्वविद्यालय खोल्न सकिने बताउनुभएको छ । बिहीबार नेपाल ट्रस्टको अध्यक्षको जिम्मेवारी लिएपछि पदभार ग्रहण तथा सम्बोधनका क्रममा उहाँले यस्तो बताउनुभएको हो । ट्रस्टको नियमावलीमा शिक्षा क्षेत्रमा लगानी गर्ने नीति रहेको उहाँले बताउनुभयो ।

“विश्वले ठूला आणविक हतियार बनाउन सक्ला । विज्ञानमा ठूलो परिवर्तन ल्याउन सक्ला तर हाम्रो सगरमाथा, पशुपति र लुम्बिनीको फोटोकपी गर्न सक्दैन,” उहाँले भन्नुभयो, “त्यसैले विश्वका हिन्दुहरूको आस्थाको केन्द्र पशुपति क्षेत्रमा विश्व हिन्दु विश्वविद्यालय स्थापनाको प्रस्ताव अगाडि किन नबढाउने ?” उहाँले लुम्बिनीमा बौद्ध विश्वविद्यालय स्थापनाको योजना ट्रस्टले अगाडि बढाउनुपर्ने बताउनुभयो । 

ट्रस्टबाट धेरै उदाहरणीय काम गर्न सकिने बताउनुहुँदै उहाँले ट्रस्टको बैठक महिनामा दुई पटक बस्ने निर्णय गर्नुभएको छ ।