• १२ असोज २०८१, शनिबार

पाथिभरा मन्दिरको स्वामित्व रोङ गाउँपालिकामा

blog

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), माघ २६ गते । इलामको रोङ गाउँपालिकाको हासपोखरी–कुट्टीडाँडामा अवस्थित पाथिभरा मन्दिरलाई रोङ गाउँपालिकाको स्वामित्वमा ल्याइएको छ । एक संस्थाको मातहतमा रहेको उक्त मन्दिरको सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी गाउँपालिकामा रहनेगरी लामो समयपछि गाउँपालिकामा स्वामित्व ल्याइएको हो । 

गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन २०७९ तयार गरी गाउँ सभाबाट माघ ११ गते पारित गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ अनुसार कार्यविधि बनाई जैविक विविधता तथा धार्मिक क्षेत्रको संरक्षण गर्नेगरी सो मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याइएको छ । 

गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले गाउँपालिका कार्यान्वयनमा ल्याएको पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन २०७९ को दफा ४ अनुसार दिलीप राईको अध्यक्षतामा स्थानीयवासी, माला व्यवसायी, गैरसरकारी संस्था, चन्दा दाता, शिक्षक र प्रत्येक वडाबाट १ जनागरी १९ सदस्यीय समिति समेत निर्माण गरी मन्दिर व्यवस्थापनको जिम्मा दिएको छ ।

अध्यक्ष स्याङ्बोले स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय मठमन्दिर, धार्मिक स्थलको रेखदेख र सञ्चालन स्थानीय सरकारले नै गर्ने भन्ने उल्लेख भए बमोजिम गाउँपालिकाले जारी गरेको व्यवस्थापन ऐनअनुसार मन्दिरको सञ्चालन गर्नेगरी समितिलाई जिम्मेवारी दिइएको जानकारी दिनुभयो । 

अध्यक्ष स्याङ्बोले भन्नुभयो, ‘भक्तजनबाट उठेको भेटी, चन्दा र जिन्सीको अव कतै दुरुपायेग हुँदैन, त्यसका लागि हामी मन्दिरलाई प्रविधिमैत्री बनाउँछौँ ।’ अध्यक्ष स्याङबोले गाउँपालिकाको शिर मानिएको पाथीभराको आम्दानी नै गाउँपालिकाको आगामी दिनको सबैभन्दा ठूलो आम्दानी हुने बताउनुभयो । 

वार्षिक दुई लाख पर्यटक पाथीभरा मन्दिरमा दर्शनका लागि आउनेगरेका छन् । गाउँपालिकाले भक्तजनको सङ्ख्या बढाउनका लागि मन्दिरलाई व्यवस्थित र पारदर्शी बनाउने लक्ष्य राखेको छ । गाउँपालिकाले हाँसपोखरी, कुट्टीडाँडा लगायतका क्षेत्रलाई कृषिउपज बजारका रूपमा समेत विकास गर्नेुभएको छ । 

मन्दिरमा दशैंलगायतको समयमा एकै दिनमा १ लाख ५० हजार नगदसम्म आम्दानी हुने गरेको स्थानीय बताउँछन् । इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जिल्ला प्रशासनमा दर्ता भएको संस्थाले मन्दिरको कुनै हिनामिना गरेको पाइएमा छानबिन गरी कारबाही गरिने जानकारी दिनुभयो । 

रोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र दाहालले पुरानो समितिले गाउँपालिकाले निर्माण गरेको समितिलाई मन्दिरको आम्दानीसहित जिन्सी विवरण बुझाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘मन्दिरजस्तो ठाउँ हो, मन्दिरको हिसाबकिताब सबै सामु पारदर्शी हुनुपर्छ ।’ उहाँले पाथीभरा क्षेत्रको थप विकास गर्न सके गाउँपालिकामा धार्मिक पर्यटकको सङ्ख्या बढ्ने र आम्दानी समेत बढ्ने बताउनुभयो । 

बहिनी पाथीभरा नामले चिनिने पाथीभरा मन्दिरको स्थापना २०५१ सालमा भएको थियो । विभिन्न मनोकाङ्क्षा पूरा हुने अपेक्षा राखेर भक्तजन पाथीभरा मन्दिर आउने गर्छन्।