• १३ साउन २०८१, आइतबार

आरतीमा पर्यटक आकर्षित

blog

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, माघ २६ गते । बाँकेको नेपालगञ्जमा अवस्थित पश्चिम नेपालकै प्रसिद्ध शक्तिपीठ वागेश्वरी मन्दिरमा सुरु गरिएको महाआरतीले भारतीय र नेपालका धार्मिक पर्यटकलाई आकर्षित गर्न थालेको छ। 

गत साता आयोजना गरिएको वेस्टर्न ट्राभल मार्टका अवसरमा पहिलो पटक महाआरती सुरु गरिएको थियो। पहिलो पटकको महाआरतीमा सहभागी अधिकांश श्रद्धालु नेपालगञ्ज र सो वरिपरिका बासिन्दा थिए भने दोस्रो पटक जिल्लाबाहिरबाट समेत आएका छन्। 

दोस्रो पटकको महाआरतीमा भारतीय छिमेकी जिल्ला बहराइचको नानपारा, बाबागञ्ज र रुपैडिहाका धार्मिक पर्यटकसँगै बाँके र बर्दियाका बासिन्दा पनि सहभागी रहेको वागेश्वरी गुठी व्यवस्थापन समितिका अध्यक्ष तथा नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले बताउनुभयो। 

बढीभन्दा बढी नेपाली र भारतीय धार्मिक पर्यटक तान्ने उद्देश्यले ट्राभल एजेन्ट्स एसोसिएसन अफ नेपाल (नाट्टा) बाँके च्याप्टरको आग्रहमा आरती सुरु गरिएको हो।

नगरप्रमुख विष्टका अनुसार कोहलपुरको जानकी मन्दिरमा रहेका १२ जना वटुकले मन्त्रोच्चारण गरेर गत साता वागेश्वरीमा महाआरती सुरुवात गरेका थिए। हाललाई हप्तामा एक पटक र केही समयपछि दैनिक रूपमा महाआरती गर्ने गरी सुरु गरिएको उहाँले बताउनुभयो।