• १६ असार २०८१, आइतबार

एघार करोडको लागतमा सिँचाइ योजना निर्माण

blog

जानु पाण्डे

कपिलवस्तु, माघ २५ गते । कपिलवस्तुको बाणगंगा नदीमा ११ करोडको लागतमा बाँध निर्माण सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाको वडा नम्बर ५ र ६ को आठ सय हेक्टर भूमिमा सिँचाई हुने गरी प्रगति चार मौजा सिँचाइ योजना निर्माण सम्पन्न भएको हो । 

२०७३ सालबाट बाँध निर्माणको काम सञ्चालन भएको थियो । सो बाँधको एक कार्यक्रमबीच लुम्बिनी प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थीले समुद्घाटन गर्नुभयो । पन्थीले सिँचाइका संरचनामा स्थानीयको संरक्षण नहुँदा कतिपय योजना अलपत्र परेको बताउनुभयो । 

सिँचाइको दीर्घकालीन विकास र उच्चतम प्रयोगका लागि चुरे क्षेत्रमा बाँध निर्माण गरी वर्षातको पानी जम्मा गरी सिँचाई गर्नेखालका योजनामा प्रदेश सरकारले चासो दिने बताउनुभयो । संविधान सभा सांसद विश्रामप्रसाद थारुले बाँध निर्माणले किसानलाई राहत पुगेको र नाला निर्माणका लागि थप लगानी गर्नुपर्नेमा जोड दिनुभयो । 

बाणगंगा नगरप्रमुख चक्रपाणि अर्यालले नगरबाट साना सिँचाइको योजनामा लगानी गरेको र ठूला योजनामा प्रदेश र सङ्घीय सरकारसँग माग गरेको बताउनुभयो । सिँचाई आयोजना समितिका अध्यक्ष शशी सापकोटाले ११ करोड बढीको लागतमा नाला र बाँध निर्माण भई ५ सय १२ कृषक प्रत्यक्ष लाभान्वित बताउनुभयो । सो स्थानमा स्थानीयले २ दशकदेखि स्याउला र ढुङ्गा राखेर बाँध बनाई सिँचाई गर्दैआएका थिए ।