• १६ असार २०८१, आइतबार

उपचार अभावमा वृद्धाको बिचल्ली

blog

बिरामी तुलसी र उहाँका श्रीमान गुनबहादुर आचार्य । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी, माघ २५ गते । कैलालीका एक वृद्ध आर्थिक अभावमा उपचार नपाएपछि चार वर्षदेखि जिउँदो लासजस्तै हुनुभएको छ । घोडाघोडी नगरपालिका –१ कौवाका ७० बर्षीया तुलसीदेवी आचार्यलाई चार वर्ष पहिले प्रेसरले हानेपछि प्यारालाइसिस भएको थियो । 

सुरुमा स्थानीय घोडाघोडी अस्पताल सामान्य उपचार र थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगे पनि उहाँको बाँकी उपचारका लागि आर्थिक अभाव भएपछि घरमै राखिएको उहाँका श्रीमान् गुनबहादुर आचार्यले बताउनुभयो ।

रात दिन स्याहार सुसारमा लागेका आचार्यले भन्नुभयो, ‘चार वर्ष भयो विस्तारामै छिन्, सुरुमा शरीरको आधा भाग चल्थेन, दाइने हातले खाना खाने, एउटा खुट्टाले टेक्ने गरे पनि एक वर्ष यता पूरै शरीर लुलो भएको छ, दिसा पिसाब गरेको पनि थाहा हुँदैन, होस गुमेको छ ।’

आर्थिक अवस्था कमजोर रहेको आचार्यका तीन छोरा छन् । दुईवटा अलग भएर बसेको र रोजगारीका लागि बाहिर छन् । जेठा छोरासँग उहाँहरू बस्नुहुन्छ । जेठा छोरा आफै अपाङ्ग हुनुहुन्छ । केही समय अपाङ्ग कोटामा स्थानीय एक विद्यालयमा शिक्षकको जागिर गरे पनि शारीरिक अशक्तका कारण उहाँले जागिर छोड्नु प¥यो । अहिले बुवाआमाको सेवा गर्नुपर्नेमा उल्टै छोराको सेवा गर्नुपर्ने बाध्यता गुन बहादुरलाई छ । 

घरमा पहिला नै अपाङ्ग छोराको जिम्मेवारीसँगै श्रीमतीको रातदिनको स्याहार सुसारले ७५ वर्षीय गुनबहादुरलाई आफूले कुनजुनीमा पाप गरेको रहेछु भन्ने लाग्ने गरेको बताउनुहुन्छ ।

आँखामा आँसु टिलपिल पार्दै गुनबहादुर भन्नुहुन्छ, ‘रातभरि सुत्नु छैन दिनभर छोडेर कतै जानुछैन, चौबिस घण्टा छोड्न मिल्दैन, खाना पकाउन एकछिन छोडे पनि चिच्च्याउन थालेपछि छोडेर आउनुपर्छ, मैले के पाप  गरेछु र यस्तो दुख खेप्नुपरेको होला ।’

आफ्नो भाग्यलाई धिक्कार्दै श्रीमतीको मृत्युको दिन पर्खनुबाहेक गुनबहादुरसँग अरू विकल्प छैन । सम्पत्तिको नाममा चार कट्ठा भएको जग्गा पनि बन्दकी राखेर उपचारमा खर्चनुभएका गुनबहादुरलाई साँझ बिहानको छाक टार्न नै समस्या भएको छ । 

बिरामीले गलाउँदै लगेपछि अहिले तुलसीको बोली बसेको छ भने शरीर समेत शिथिल बन्नुका साथै खाना छोड्दै जानुभएको । ‘पहिले त आफै खाना खान्थिन्, अहिले मैले नै चम्चाले खुवाइ दिन्छु, शरीर भित्रभित्रै पोल्छ होला, बेलाबेला चिच्याउने कराउने गर्छिन्, रातदिन उनकै छेउमा बसेर सुताउने बसाउने गर्नुपर्छ’ उहाँले भन्नुभयो ।