• १६ असार २०८१, आइतबार

नागरिकमैत्री प्रहरी व्यवहार लागु गरिने

blog

परिचयात्मक कार्यक्रम सञ्चारकर्मी र प्रनाउ भट्टराई । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, माघ २५ गते । जिल्ला प्रहरी कार्यालय हुम्लाले नागरिकमैत्री प्रहरी व्यवहार लागु गर्ने प्रतिबद्धता जनाएको छ । नयाँ सरुवा भएर आउनुभएका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले प्रहरी नागरिकको सुरक्षाका लागि खटिने भएको कारण व्यवहार पनि नागरिकमैत्री बनाइने बताउनुभएको हो । 

प्रनाउ भट्टराईले चौबीसै घण्टा प्रहरी नागरिक जिउधनको सुरक्षाका लागि खटिने भएको कारण प्रहरीबाट हुने व्यवहार पनि नागरिकमैत्री बनाइने बताउनुभयो । नागरिक पनि बर्दीबिनाको प्रहरी भएको कारण प्रहरीले शान्ति सुरक्षा प्रदान गर्दा मिठो बोली र व्यवहार गर्ने उहाँले बताउनुभयो । उहाँले नागरिकमैत्री व्यवहार जिल्लामा मात्र नभएर मातहतका सबै प्रहरी चौकी र अस्थायी प्रहरी चौकीमा खटिने प्रहरीमा लाग्नुहुने बताउनुभयो । 

त्यसैगरी उहाँले जिल्लामा शान्ति सुरक्षा कायम गर्नु आफ्नो पहिलो प्राथमिकता भएको जानकारी दिँदै यो कार्य सफल पार्न सबैको सहयोगको आवश्यकता रहेको बताउनुभयो । त्यसैगरी सुरक्षित कर्णाली प्रदेश अभियान पनि हुम्ला लागुगर्ने बताउँदै जिल्लावासीलाई सबै क्षेत्रबाट सुरक्षित रहेको अनुभूति भएको अनुभव गराइने उहाँले बताउनुभयो । 

त्यसैगरी प्रहरीबाट प्रवाह हुने सेवा र सुविधालाई सहजताका साथ प्रदान गरिने समाजमा सचेतनाका कार्यक्रम प्रहरी सञ्चालन गर्ने भएको छ । उहाँ जिल्लामा सरुवा भएर आएपछि पहिलो पटक जिल्लाका सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा सो कुरा बताउनुभयो । सञ्चारकर्मीले उहाँलाई जिल्लाको समसामयिक विषयमा जानकारी गराउनु भएको थियो ।