• १६ असार २०८१, आइतबार

‘थुम्केरानी’ महोत्सवमा स्थानीय परिकारको आकर्षण

blog

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम), माघ २५ गते । थुम्केरानीका तारा चौहानले पर्यटन महोत्सव सुरु भएदेखि नै पर्यटकलाई स्थानीय खानाका स्वाद चखाउनमा व्यस्त हुनुहुन्छ ।

कोदो, फापर र आलु आदिका स्थानीय परिकार बनाएर पर्यटकलाई लोभ्याई रहनुभएका तारा भन्नुहुन्छ‘ आउने अधिकांश पर्यटकले स्थानीय खानाका परिकार नै खोज्नुहुन्छ ।’

थुम्केरानी तुम्लिङ मेग्मा संरक्षण तथा पर्यटन प्रवर्द्धन संस्थाको आयोजनामा भएको पर्यटन महोत्सवमा स्थानीय खानाका परिकारले पर्यटकलाई तानेको छ ।


लेकाली क्षेत्र र चिसो मौसम भएका कारण थुम्के पुग्ने पर्यटकको रोजाइमा कोदो, फापरका रोटी र वाचिपालगायतका परिकार रोजाइमा परेको आयोजक संस्थाका अध्यक्ष रत्न थामीले जानकारी दिनुभयो । उहाँका अनुसार थुम्केरानीमा सञ्चालित होमस्टे तथा साना होटलले स्थानीय परिकारको अत्यधिक कारोबार गरेका छन् । 

कोदो, फापर, आलुका परिकार भटमाससँगै लोकल कुखुरा र स्थानीयस्तरमा उत्पादन भएको किवीको मादक पदार्थ महोत्सवमा आकर्षणको वस्तु बनेका छ ।


पर्यटक गोविन्द पौडेलले स्थानीय खानाका परिकारले पर्यटकलाई नयाँपन दिएको बताउनुभयो । पौडेलले भन्नुभयो ‘बजारे परिकारले दिक्क भएका पर्यटकलाई स्थानीय जातका खानाका परिकारले नयाँपन दिएको छ ।’

महोत्सवमा गायक यम बराल, इन्द्र गुरुङ र भूपेन्द्र राईलगायतका कलाकारको प्रस्तुति थियो । महोत्सवमा हास्यकलाकार सुबोध गौतम एदुमे र एक्सिम्बल ब्यान्डको लाइभ कन्सर्ट रहेको थियो ।


सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिने थुम्केरानीबाट इलामका १० पालिकासहित तराई र भारतका विभिन्न स्थानसँगै दर्जनौँ हिमालको दृश्य नियाल्न सकिन्छ ।

गाउँपालिकाको केन्द्र नयाँबजारदेखि थुम्केरानी, जौबारी, तुम्लिङ्ग, टंङ्लु, मेग्मासम्मको पैदल यात्रासमेत महोत्सवको आकर्षणमा परेको छ । उक्त क्षेत्रमा जंगल सफारी र दुर्लभ रेडपाण्डाको अवलोकन गर्न सकिन्छ ।

महोत्सवमा एसियाको दोस्रो पुरानो मेग्मा गुम्बा अवलोकनको व्यवस्था मिलाइएको थियो । महोत्सवमा लाप्चा र थामीलगायतका जातजातिको झाँकी समेत प्रदर्शन गरिएको थियो । माइजोगमाई गाउँपालिका २ र ६ को संगमस्थलमा पर्ने थुम्के डाँडामा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ । 

लेकाली जीवजन्तुको अवलोकन, सूर्योदयको मनोरम दृश्यले भरिएको यस क्षेत्रमा दैनिक दर्जनौँ पर्यटक पुग्ने गरेका छन् । थुम्के र जौवारीमा गरिएको केसर खेतीले समेत पर्यटकलाई तान्न थालेको छ ।


माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेले गाउँपालिकाको थुम्केसहित माथिल्लो लेकाली क्षेत्रको विस्तृत अध्ययन गरी पर्यटन पूर्वाधारका काम थालिने बताउनु भयो । पालिकामा उत्तरे पोखरी, शिव मन्दिर बौद्धगुम्बासहित विभिन्न देवस्थलसहितका धार्मिक पर्यटकीय स्थल छन् । 

थुम्केरानी जोड्ने सडक स्तरोन्नतिको काम सम्पन्न भएकाले यहाँ आउने पर्यटकलाई सहज भएको गाउँपालिका उपाध्यक्ष प्रविना राई बताउनुहुन्छ । यस क्षेत्रमा ऐतिहासिक जौवारी बजारसहित नेपालकै ठूलो आलु विकास केन्द्र छ ।