• १६ असार २०८१, आइतबार

भात पकाउने गोरहाको प्रयोग बढ्यो

blog

सप्तरीको महादेबा गाउँपालिका वडा १ सोनरामा स्थानीय गृहणी महिलाले गोरहा बनाउन थुपारेको गोबर । तस्बिर : देवरामप्रसाद यादव

देवरामप्रसाद यादव

सप्तरी माघ,  २५ गते । सप्तरीमा खाना पकाउनका लागि परम्परागत रूपमा प्रयोग गरिने गोरहाको प्रयोग बढेको छ । गोरहाको प्रयोगले खाना पकाउन र जाडोमा आगो ताप्न सहयोग पुग्ने हुनाले यसको प्रयोग बढेको स्थानीयको भनाइ छ । 

सप्तरीको महादेवा गाउँपालिका –१, सोनराकी प्रमीला यादव जाडो सुरु भएसँगै गोठको गोबर जम्मा गरेर गोरहा बनाउन व्यस्त हुनुहुन्छ । गोबर सुकाएर गोरहा बनाएपछि दाउराका रूपमा प्रयोग गर्न सकिन्छ । 

परिवारको सङ्ख्या ठूलो भएका कारण एलपी ग्याँसको सट्टा गोरहाको प्रयोग गर्दैआएको बताइन् । जाडोमा आगो ताप्न पनि मद्दत पुग्छन् । सोनराकी यादवजस्तै त्यस क्षेत्रका अन्य गृहिणीको दिनचर्या पनि गोठबाट गोबर सङ्कलन गरेर गोरहा बनाउन बित्ने गरेको छ । यस क्षेत्रका अधिकांश स्थानीय बासिन्दाको दिनचर्या गोबर सङ्कलन गर्ने र गोबरमा भुस तथा पराल राखेर त्यसलाई सुकाएपछि गोरहा तयार पार्नमा जान्छ ।  

दाउराको अभावमा गोबरलाई मलका रूपमा नभई दाउरा बनाएर खाना पकाउनु आफ्नो बाध्यता भएको स्थानीय सुनिता मण्डलले बताउनुभयो । उहाँले सुक्खायाममा गोरहा  बनाउने र हिउँदमा त्यसलाई जोहो गरी राखेर दाउराका रूपमा प्रयोग गर्नेगरेको उहाँले बताउनुभयो । पहिले जङ्गलबाटै दाउरा ल्याए पनि अहिले वनजङ्गल मासिँदै गएपछि गाई भैँसीको गोबरबाट गोरहाको प्रयोग गर्दैआएको उहाँको भनाइ छ । 

प्राङ्गारिक मलका रूपमा प्रयोग हुने गोबरलाई गोरहा बनाएर दाउराका रूपमा प्रयोग गर्न थालेपछि गोबरको मल बनाउन भने समस्या भएको छ । खेतबारीमा रासायनिक मलको माग बढ्न थालेको स्थानीय बताउँछन् । चिकित्सकका अनुसार दाउराका रूपमा गोबर प्रयोग गर्नु स्वास्थ्यका लागि पनि हानिकारक छ । भान्सामा काम गर्नेलाई श्वासप्रश्वास, दम र फोक्सोसम्बन्धी रोग लाग्नेगरेको बताइन्छ ।