• १६ असार २०८१, आइतबार

कृषि, पर्यटन, व्यापारिक प्रवर्द्धनका लागि महोत्सव

blog

मीना कंडेल

कावासोती, माघ २५ गते । पूर्वी नवलपरासीको कावासोतीमा कृषि, पर्यटन, व्यापारिक प्रवर्द्धनका लागि फागुन ३ गतेदेखि १३ गतेसम्म सातौँ नवलपुर महोत्सव हुनेभएको छ । स्थानीय उत्पादन, जातीय सांस्कृतिक पक्ष, पर्यटकीय गतिविधि व्यवसाय प्रवर्धन, स्थानीय प्रतिभा प्रस्फुटनलगायतको विकास र प्रवर्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठप्रसाद अर्यालले बताउनुभयो ।

महोत्सवमा आठ पालिकाका कृषि उत्पादन र उद्यमसँग सम्बन्धित प्रत्येक पालिकाको ३ वटा स्टल निःशुल्क हुने भएकाले पनि अहिलेको व्यावसायिक प्रदर्शनी विशेष र अघिल्ला मेला महोत्सवभन्दा फरक हुने उहाँको दाबी छ । महोत्सवमा संस्कृतिसँग सम्बन्धित रत्यौली प्रतियोगिता अर्को आकर्षण हुने आयोजकले जानकारी दिएको छ । रत्यौली प्रतियोगिताले सामाजिक संस्कृतिलाई मर्यादित र सिर्जनात्मक बनाउने आयोजकले अपेक्षा लिएको छ । 

यस्तै, महोत्सवमा नभई नहुने मनोरञ्जनका लागि बाल उद्यान, सांस्कृतिक मञ्च र समारोह, विभिन्न व्यावसायिक स्टल तथा प्रदर्शनी बाहेक विद्यार्थीद्वारा निर्मित विज्ञान प्रदर्शनी र प्रतियोगिता, टिकटक प्रतियोगिता कृषि प्रदर्शनी र प्रतियोगिता, विभिन्न जातीय सांस्कृतिक झाँकी तथा पहिरन प्रदर्शनी, पर्यटकीय गतिविधिका नमुना प्रदर्शनी एवं प्रचारप्रसार लगायतका गतिविधि समेटेर यहाँको आर्थिक–व्यावसायिक उत्थानमा मद्दत गर्ने  लक्ष्य रहेको जनाइएको छ । 

एक करोड ८५ लाख रुपियाँ आर्थिक कारोबार हुने लक्ष्य लिएको उद्योग वाणिज्य सङ्घले १ करोड ४० लाख खर्च हुने अनुमान गरेको छ । करिब पाँच लाख जनाले महोत्सवको प्रत्यक्ष–अप्रत्यक्ष अवलोकन गर्ने आयोजकको दाबी छ । २ सय ५० वटा स्टलहरू रहने उक्त महोत्सवमा कृषि तथा स्थानीय उत्पादन ४०, अटो मोवाइल्स १५, विभिन्न धार्मिक तथा सांस्कृतिक १०, होटल २०, अन्य व्यावसायिक १६५ स्टल रहने छन् । मेला आकर्षणका रूपमा भगवानरुपी देशान्तर अधिकारी बालकको साक्षात्कार गराइने आयोजकले जनाएको छ ।