• १६ असार २०८१, आइतबार

अत्याधुनिक शौचालय प्रयोगविहीन

blog

नेपालगञ्जको धम्बोझीमा प्रयागविहीन भएको स्वचालित शौचालय । तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, माघ २५ गते । नेपालकै पहिलो स्वचालित अत्याधुनिक शौचालयको रूपमा चर्चा पाए पनि सञ्चालनमा आएको केही समयमै शौचालय प्रयोगविहीन भएको छ । नेपालगञ्जको धम्बोझी चोकमा करिब तीन वर्षअघि सञ्चालनमा आएको स्वचालित शौचालय केही समयमै प्रयोगविहीन भएको नेपालगञ्ज उप–महानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसीले जानकारी दिनुभयो । 

“लामो समयदेखि शौचालय प्रयोगविहीन भएर थन्किएको छ” वातावरण इन्जिनियर डिसीले भन्नुभयो, “शौचालयलाई कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा छलफल चलिरहेको छ ।” 

स्वचालित शौचालय भएकाले समय समयमा आउने समस्याको समाधान गर्ने दक्ष प्राविधिकको अभावमा शौचालय बन्द भएको उपमहानगरपालिकाले जनाएको छ । एसएनभी नेदरल्याण्ड्स विकास कोषले सञ्चालन गरिरहेको स्वास्थ्य र विकासका लागि नगर सरसफाइ तथा स्वच्छता कार्यक्रम अन्तर्गत ४६ लाख ३६ हजार रुपियाँको लागतमा स्वचालित शौचालय निर्माण गरिएको थियो । 

पूर्ण स्वचालित पद्धतिमा चल्ने शौचालयभित्र शौचगर्दा स्वचालित रूपमा सङ्गीत बज्ने व्यवस्था छ । फोल्डिङ्गयुक्त भएकाले यसलाई अर्को ठाउँमा समेत सहजै लैजान सकिने व्यवस्था रहेको छ ।  यो शौचालयमा एक पटकमा ३ जना महिला, ३ जना पुरुष र एक जना फरक क्षमता भएका गरी सात जनाले प्रयोग गर्न सक्छन् । 

नेपालगञ्जको मुख्य चोक सुर्खेत रोड र घरबारी टोल तथा खजुरा रोड आसपासका व्यवसायी तथा यात्रु र बटुवाको सहजताका लागि सार्वजनिक शौचालय निर्माण गरिएको भए पनि प्रयोगविहीन भएपछि नागरिकलाई शौचका लागि समस्या हुनेगरेको छ ।   नेपालगञ्जभित्र करिब एक दर्जनको सङ्ख्यामा सार्वजनिक शौचालय भए पनि स्थानीय बासिन्दाको साथ र सहयोग भए मात्रै अपेक्षाअनुसारको स्वास्थ्य र सरसफाइको क्षेत्रमा सफलता प्राप्त हुने उपमहानगरपालिकाले जनाएको छ ।